आईपीएलमा सट्टाबाजी गर्ने ४ जना पक्राउ

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा सट्टाबाजी गर्ने ४ जना पक्राउ

पर्सा । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइन सट्टाबाजी गरेको आरोपमा पर्सा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ ।

आईपीएलको बुधबार सम्पन्न मुम्बई इन्डियन र लखनउ सुपर जाइन्ट्सबीच भएको सेमिफाइनल खेलमा अनलाइन सट्टाबाजी गरेको आरोपमा पर्साको वीरगन्ज महानगरपालिका २४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका ४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका ६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्नामाथप्रसाद जयसवाललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका १५ मा रहेको सञ्जय श्रीवास्तवको घरमा आईपीएल खेलको अनलाइन सट्टाबाजी चलिरहेको विशेष सूचना प्राप्तपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चारै जनालाई अनलाइन सट्टाबाजी खेलाइरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डीएसपी दीपक गिरीले जानकारी दिए ।

गिरीका अनुसार प्रहरीले उनीहरुको साथबाट तीन लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ बरामद गरेको छ । अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनीका मोबाइल, ल्यापटप र टेलिभिजन सेट पनि जफत गरेको गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रत्येक वर्ष आईपीएल र अन्य क्रिकेट खेलका क्रममा वीरगन्जमा दैनिक लाखौंको सट्टाबाजी हुने गरेको छ । पछिल्लो समय युवाहरु पनि अनलाइन सट्टाबाजीमा होमिन थालेका छन् । वनएक्स बेट भन्ने एपमार्फत युवाहरुले पनि क्रिकेट र अन्य खेलमा अनलाइन सट्टाबाजीमार्फत पैसा लगाउने गरेको पाइएको छ । अनलाइन सट्टाबाजीको सञ्जाल ठूलो भए पनि नियन्त्रण गर्न प्रहरी, प्रशासन र सम्बन्धित निकाय मौन देखिएको छ ।