नक्कली शरणार्थी प्रकरणका अभियुक्तसँग आजदेखि अदालतमा बयान

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली शरणार्थी प्रकरणका अभियुक्तसँग आजदेखि अदालतमा बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुको अदालतमा आजदेखि बयान हुँदैछ । अदालतले पक्ष र विपक्षका तर्फबाट हुने बहस सुनेपछि अभियुक्तलाई थुनामा राखेरै कारबाही अघि बढाउने कि धरौटीमा वा सामान्य तारिखमा रिहा गर्ने भन्ने टुंगो लगाउने छ । 

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका उडाउन खोज्ने गिरोहमा संलग्न पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध हिजो काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

प्रहरीले ६० दिन अनुसन्धान गरेपछि मुद्दा अदालत पुगेको हो । यही प्रकरणमा संलग्न अन्यका बारेमा अनुसन्धान जारी छ भने सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि प्रहरीले थप छानबिन गर्न आग्रह गरेको छ ।

अहिले पक्राउ परेकाहरुले न्यायाधीशसमक्ष बयान दिँदा कसैको नाम लिएमा उनीहरुलाई प्रमाणका रुपमा अदालतले झिकाउन सक्छ ।

पक्राउ परेकाहरुले प्रहरीलाई दिएको बयानमा थप केही व्यक्तिको नाम मुछिएको छ । उनीहरु यो प्रकरणमा संलग्न छन् या छैनन् भन्ने आधार खोजी भइरहेको छ । गृहमन्त्री स्वयम्ले कसैको नाम मुछिँदैमा पक्राउ गरिहाल्न नसकिने र आवश्यक प्रमाण जुटाउने काममा प्रहरी लागिरहेको बताइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.