यसरी मनाइयो सिथी नख: पर्व

जेष्ठ ११, २०८० |श्रृजना बास्तोला|अस्मिता पराजुली
यसरी मनाइयो सिथी नख: पर्व

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले आज सिथी नख: पर्व मनाएका छन् । यो पर्वको सामाजिक मात्र नभएर वैज्ञानिक दृष्टिले पनि उत्तिकै महत्व छ । प्रकृति संरक्षणको प्रतीकका रुपमा मनाइने यो पर्वमा नेवार समुदायले आफ्नो टोलमा भएका पानीको मुहान सफा गर्छन् । यो पर्वसँग नेवार समुदायको धार्मिक तथा साँस्कृतिक मान्यता पनि गाँसिएको छ । यो पर्वले लोप हुँदै गएका काठमाडौंका पुरातात्विक महत्वका हिति र हिति प्रणालीको स‌ंरक्षणमा सहयोग पुग्न सक्छ ।

सिथी नख: पर्व जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मनाउने गरिन्छ । वर्षायाम र धान रोपाईं सुरु हुनुअघि वर्खाको भेलले पानीको मुहान नथुनियोस् भनेर यो पर्वमा नेवार समुदायले इनार, पोखरी, ढुंगेधारालगायतका पानीका स्रोत सफा गर्ने चलन छ । यसै दिनदेखि खेतीको तयारी थाल्ने गरिन्छ । खेती गर्न शक्ति चाहिने भएकाले सिथी नख पर्वका दिन मास, केराउ, मुगीको बारा, चटामरीसहित भोज खाने चलन छ ।

काठमाडौं उपत्यकाका १० वटा नगरपालिकामा भएको पछिल्लो अध्ययनमा ५ सय ७३ वटा ढुङ्गेधाराको पहिचान भएका छन् । जसमध्ये ९४ वटा लोप भइरहेका छन् । २ सय ५५ वटा सुख्खा बनेका छन् । २४ वटामा थोरै पानी बग्ने गरेको छ भने १ सय ७८ वटा ठीक अवस्थामा छन् ।

अध्ययनले पछिल्लो समय काठमाडौं उपत्यकाका अधिकांश इनार तथा ढुंगेधारा नास हुँदै गएको देखिन्छ । तर नेवार समुदायले आफ्नो परम्परा धान्न भएका पानीका स्रोतको सरसफाई गर्न छाडेको छैन । सफाइको शैली भने केही फेरिएको छ। विगतमा टोलका सबै मानिस भेला भएर सरसफाइ गर्ने गरिएको भए पनि अहिले थोरै मात्र सहभागी भएर परम्परा धानीरहेका छन् ।

सिथी नख: पर्व कहिलेदेखि मनाउन थालिएको हो भन्ने यकीन छैन । तर यही दिन भगवान कुमारको जन्म भएको मान्यतामा नेवार समुदायले कुमारको पूजा गरी मास, मुगी, केराउलगायतको दालको बारा चढाउने चलन छ । नेवार समुदायमा यसअघि देवाली गर्न छुटेकाहरुले पनि आजकै दिन गर्छन् । सिथी नख:को सात हप्तापछि पर्ने गथामुगः पर्वको दिनबाट नेवार समुदायमा जात्राहरु सुरु हुन्छ ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।

Image

अस्मिता पराजुली

पराजुली कान्तिपुर टीभीका संवाददाता हुन् ।