हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

जेष्ठ ११, २०८० |जनकबहादुर शाही
हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला । राष्ट्रिय सडक सन्जाल नजोडिएको हुम्लामा २ दिनदेखि हवाई सेवा अवरुद्ध छ । मंगलबार रातिबाट वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

वर्षाका कारण सिमकोटको उडान अवरुद्ध हुँदा यात्रुहरु मार्कामा परेका छन् । नेपालगन्ज र सुर्खेत विमानस्थलबाट उडान नियमित नहुँदा यात्रुहरुलाई थप समस्या भएको हो ।

मौसम प्रतिकूलताका कारण सिमकोटका लागि सुर्खेत र नेपालगन्जबाट कुनै पनि उडान हुन नसकेको हो । उडान नै कम भइरहेका बेला उडान प्रभावित हुँदा हुम्लावासी मर्का परेको सिमकोट विमानस्थलका प्रमुुख मोहन गिरीले बताए ।

नेपालगन्जबाट समिट र सीता एयरको जहाजले उडान भर्ने तयारी गरे पनि खराब मौसमका कारण २ दिनदेखि कुनै पनि उडान भएका छैन । सिमकोटबाट सुर्खेत र नेपालगन्ज झर्ने यात्रुहरु पनि सिमकोटमै रोकिएको विमानस्थल प्रमुख गिरीले बताए ।

कार्गो उडानसमेत नहुँदा सिमकोट बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिन थालेको छ । सोही कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ ।  


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।