विश्व कीर्तिमानी आरोही कामीरिताले चढे २८औँ पटक सगरमाथा

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
विश्व कीर्तिमानी आरोही कामीरिताले चढे २८औँ पटक सगरमाथा

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढेका छन् ।

आज (मंगलबार) बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुर चुम्दै उनले आफ्नै सर्वाधिक सगरमाथा आरोहणको कीर्तिमान तोडेका हुन् ।

वसन्त ऋतुको यस सिजनमा उनको यो दोस्रो सगरमाथा आरोहण भएको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । यसअघि उनले यही जेठ ३ गते (एक साता अगाडि) सगरमाथाको २७ औँ पटक आरोहण गरेका थिए ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले कामीरिताको २७ औँ पटक सगरमाथा आरोहणको कीर्तिमानसँग बराबरी गरेपछि उनले २८ औँ पटक आरोहण गरेका हुन् ।

सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो विश्व कीर्तिमानलाई कायमै राख्न उनले एकै सिजनमा दोस्रोपटक आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ।

सोलुखुम्बुको थामे निवासी कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका सिनियर गाइड हुन् । २०२६ पुस १८ (सन् १९७० जनवरी २) मा जन्मिएका कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

हिमाल आरोहण दलको सहयोगी सदस्यको रुपमा भने सन् १९९२ बाट उनले यात्रा सुरु गरेका थिए । सगरमाथा बाहेक केटु, चोयु, ल्होत्से र मनास्लुको पनि उनले सफल आरोहण गरेका छन् ।

दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहणमा सक्रिय कामीरिता सानै उमेरदेखि आरोहणमा रुचि राख्थे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement