कतारको घाममा डढेका सपना

वैशाख २६, २०८० |सारा साप्सानाम्मा
कतारको घाममा डढेका सपना

काठमाडौं । कामको खोजीमा काठमाडौंकी २३ वर्षीया मन्जु सन् २०२१ मा कतार पुगिन् । इराकमा काम गर्दै गरेका बुबा मिर्गौलाले काम गर्न छाडेपछि घर फर्किए । उपचार खर्च धान्न सानेपाको घरजग्गा बेच्नुपर्यो । मिर्गौला प्रत्यारोपण पनि गर्न मिलेन । डायलिसिस गर्दागर्दै बुबाको मृत्यु भयो ।

ऋणमा डुबेको परिवार, आमा र स्कुल पढ्दै गरेको भाइका लागि भनेर मन्जु र उनका तीन दिदीहरु विदेश हानिए । प्लस टु सकेपछि कतार हिँडेकी मन्जुलाई काठमाडौंको एन्जेल बेबी नामक म्यानपावर एजेन्सीले होटेलमा जागिर मिलाइदिन्छु भनेर पठाएको थियो । तर दोहा पुगेपछि सप्लाई कम्पनीमा पठाइएको थाहा भयो ।

कामको ठेगान नहुने र गर्न परेपछि क्याटरिङदेखि हाउस किपिङ सबै काम गर्नुपर्ने कम्पनीको काम मन्जुलाई मन परेको छैन । भएका काममध्ये मन परेको क्याटरिङ पनि प्राय: रातिको समय दिनुपर्ने र ओभर टाइम हुने भएकाले मन्जुले राम्ररी सुत्न नपाएको दुई वर्ष हुन लागेको छ ।

कतार जाँदा मन्जुसँगै उनकै उमेरका दुईजना युवती पनि थिए । कामको दु:खले सँगै गएका साथीहरु निकै रोए पनि विकल्प थिएन ।

घरप्रतिको जिम्मेवारीले हिम्मत बटुलेको मन्जु स्मरण गर्छिन् । कतार पुगेको महिना त परिवार र ऋणकै कारण मन्जुले चौबीसै घण्टा काम गरिन् ।

मन्जुजस्ता नेपालबाट कतार गएका अन्य नेपाली महिला कामदारका लागि कम्पनीले एउटा भिल्लामा बस्ने सुविधा दिएको छ । जहाँ, एउटा कोठामा ६ जनासम्म बस्नुपर्ने बाध्यता छ । बासस्थानदेखि काम र फर्किंदाको यातायात र कोठाभाडा बाहेक कम्पनीले अरु खर्च बेहोर्दैन ।

यदि मन्जु कामबाहेक अरुसँग कुराकानी गरेर बसेको म्यानेजरले सुइँकोसम्म पाए भने कामबाटै निकालिनुपर्ने हो कि भन्ने त्रास थियो ।

मुस्लिम समुदायको बिहे कार्यक्रम प्राय: राति हुने हुँदा मन्जुको काम प्राय: रातिको सिफ्टमा पर्छ । कहिले-काहीँ बिहानको ५ बजेसम्म घण्टाको ५ रियालका दरमा ओभर टाइम गर्नुपर्छ । तर दु:ख गरेर उनले महिनाको सरदर १३ सय रियाल (करिब ४७ हजार नेपाली रुपैयाँ) कमाउँछिन् । त्यसमा उनले महिनाभरको रासनका लागि भनेर ३ सय रियाल आफूसँग राखेर बाँकी एक हजार रियाल (३५ हजार रुपैयाँ) घरमा आमालाई पठाउँछिन् ।

दिदीहरु दुबईमा र आफू कतारमा काम गरेर परिवारको ऋण लगभग चुक्ता भएको मन्जु सुनाउँछिन् । उनी अब सप्लाई कम्पनीको जस्तो टुंगोबिनाको काम अब नगर्ने गरी नेपाल फर्किने र दिदीहरु भएकै ठाउँ दुबई जाने मनस्थितिमा छिन् ।

गत महिना संयुक्त राष्ट्रसंघको दोहामा भएको सम्मेलनमा मन्जु भेटिएकी थिइन् । मन्जुसँग भेटका क्रममा संवाद गर्न पनि डराउनुपर्ने स्थिति थियो । मन्जु काम गर्ने कम्पनीका म्यानेजरले कुराकानी गरेको देख्ने हुन् कि भन्ने चिन्ता थियो ।

यदि मन्जु कामबाहेक अरुसँग कुराकानी गरेर बसेको म्यानेजरले सुइँकोसम्म पाए भने कामबाटै निकालिनुपर्ने हो कि भन्ने त्रास थियो । त्यही भएर पनि उनी खुलेर बोल्न आँट गरिरहेकी थिइनन् । यद्यपि भन्दै थिइन्, ‘म्यानेजरको खासै डर छैन ।’

विचारमा गलत काम नगरेसम्म कसैले पनि केही कुराका डर राख्नुनपर्नेमा उनी विश्वस्त सुनिइन् । ‘काम गर्दा नै सिनियरहरुले दलाउन खोज्ने गर्छन् । त्यस्तो अवस्था आउनुअघि अधिकारको कुरा गर्छु,’ मन्जुले भनिन्, ‘त्यसैले पनि मलाई हतपत कसैले काममा दलाउन सक्दैन ।’

बरु आफूलाई केहीले छुच्ची भन्ने गरे पनि कसैसँग नडराउने उनको भनाइ छ । ‘छुच्ची भन्छन् मलाई त । भनि राखुन् । म गलत छैन । म कसैसँग डराउँदिनँ,’ उनले भनिन् ।

आफूजस्तै अरु नेपाली दाजुभाइ दिदीबहिनी पनि यसैगरी निडर भइदिए दु:ख नपाउनेमा मन्जु विश्वस्त छिन् । दोहामा कार्यरत प्राय: नेपालीलाई आफ्नो अधिकारबारे ज्ञान नभएको मन्जुको भनाइ छ।

कुनै पनि रोजगारदाताबाट कुनै किसिमको भेदभाव भए कामदार स्वयंले त्यहाँको रोजगार मन्त्रालयको हटलाइन १६००८ मा फोन गरेर उजुरी दिन सक्ने र दोषी ठहरिए कतार सरकारले रोजगारदाता कम्पनीलाई कारबाही गर्ने प्रावधान छ ।

नेपालीहरु ४५ डिग्री तापक्रममा पसिना पुछ्दै तातो फुटपाथमा बसेर कामकै बीच खाजा खान्छन् । त्यो देख्दा मन भक्कानिन्छ ।

तर अहिलेसम्म त्यस्ता अधिकांश घटनाको उजुरी नपर्ने हुँदा नजिर बदलिएको छैन । मन्जु भन्छिन्, ‘लेबर कोडको कुरा निकाल्यो भने कम्पनीमा सरकारी कर्मचारीहरु आउँछन् ।’

कुराकानीका क्रममा मन्जुले कतार गएको वर्ष स्मरणसमेत गरिन् ।

एक दिन फुटपाथमा नेपाली दाजुभाइहरु प्लास्टिकका थैलाबाट निकालेर खाजा खाइरहेको देखेकी थिइन् । ४५ डिग्रीसम्म गर्मी हुने ठाउँमा त्यति बिजोगले खाजा खाएको देखेर उनको मन भक्कानिएको थियो । किन त्यसरी प्लास्टिकमा खानुभएको भनेर मन्जुले सोध्दा ती नेपाली कामदारहरुले भने- राम्रो खाजा बनाउन पैसा पनि हुँदैन, फुर्सद पनि हुँदैन । यति नगरे परिवार पाल्न सकिन्नँ । परिवारको मुख सम्झेरै पनि दु:ख गर्छौं । तर नेपालमै तीस-पैंतीस हजारको जागिर भइदिए परिवारबाट टाढा बसेर यसरी यहाँ दु:ख गर्नुपर्ने थिएन ।

यत्ति भन्दै गर्दा केहीबेर मन्जु मौन रहिन् । आँखा टिल्पिलाए । पढाइभन्दा पनि अनुभवले खाडी मुलुकहरुमा काम पाइने उनको बुझाइ छ । उनका अनुसार अंग्रेजी अलिअलि बोल्न जान्यो भने खाडी राष्ट्रहरुमा सजिलै राम्रो जागिर पाइने रहेछ । ‘पढाइ र अनुभवको केही मतलब छैन यता,’ मन्जुले सुनाइन् ।

नेपालीहरु ४५ डिग्री तापक्रममा पसिना पुछ्दै तातो फुटपाथमा बसेर कामकै बीच खाजा खान्छन् । त्यो देख्दा मन भक्कानिन्छ । नेपाल सरकारले हामीलाई स्वदेशमै रोजगारी दिन सकेको भए यस्तो दुःखमा पर्नुपर्ने थिएन ।

शिक्षाले जीवनमा अवसरहरु सिर्जना गर्छ भनिन्छ । तर, मन्जुको धारणाले उनीजस्ता धेरै युवा-युवतीको मनस्थिति दर्शाउँछ । नेपालमा पढेर पनि त्यसबाट भविष्य देख्न नसक्ने मन्जुजस्ता धेरै युवा छन् । परिवारको स्रोतले धानेसम्म शिक्षाकै लागि अमेरिका, अस्ट्रेलिया बर्सेनि हजारौं जान्छन् । हजारौं अरु विभिन्न परिस्थितिका कारण खाडी मुलुकतिर लाग्छन् । राम्रो पढाइ भएकैहरु पनि केही समययता विदेशमै भविष्य देखेर देश छोड्ने क्रम बढ्दो छ ।

यो पनि...

नेपाली दक्ष कामदारको नयाँ श्रम गन्तव्य बन्दै कतार (भिडियो रिपोर्ट)


Image

सारा साप्सानाम्मा

साप्सानाम्मा कान्तिपुर टेलिभिजनको अंग्रेजी समाचार ब्युरोमा कार्यरत छन् ।