प्यूठान । निर्माण व्यवसायीले समयमै काम नगर्दा र कार्यालयले समयमै काम लगाउन नसक्दा विकास आयोजनाहरू अलपत्र पर्ने गरेका छन् ।
प्यूठानका ४ वटा पक्की पुल र एउटा सडकको निर्धारित मितिमा कार्य प्रगति नभएकै कारण ठेक्का रद्द गर्ने अवस्थामा पुगेका छन् । जलुके, नल्सी पक्की पुल निर्माण सम्पन्न भएर मोटर चढ्ने बेला भइसक्दा पनि पुल बन्नु त परैको कुरा निर्माण नै नहुने अवस्थाले स्थानीय चिन्तित बनेका छन् ।
निर्माण सम्पन्न भएर मोटर गुड्ने बेला अलपत्र योजना भन्दै सडक डिभिजन प्यूठानले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको छ । पुल सम्पन्न हुने समयमा ठेक्का तोड्ने विषयले पुल नै नबने हो कि भन्ने चिन्ता स्थानीयमा बढेको छ । स्वर्गद्वारी नगरपालिका भिगृमा रहेको यो पुलसहित जिल्लाका ५ वटा रुग्ण योजनाको सम्झौता तोडने प्रक्रिया सुरू भएको हो ।
पटक-पटक ताकेदा गर्दासमेत बिना सूचना निर्माण कार्य रोकी ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि सार्वजनिक खरिद ऐनअनुसार सम्झौता रद्द गरी कालोसूचीमा राख्ने प्रक्रिया सुरू गरिएको छ । माडी नदीमा पर्ने खुग्रि, सारी जोडने पक्की पुल, झिमरूक नदीमा पर्ने पुरनठाँटी मलाबांग र झिवांग घुईबांग रस्पुरकोट पक्की पुल तथा होलेरी स्वर्गद्वारी भिगृ सडक खण्ड पनि अलपत्र छन् ।
समयमै योजना सम्पन्न नहुँदा जिल्लाको समग्र विकास गतिविधिमा असर परेको छ । अस्वस्थ प्रतिस्पर्धा, काममा तदारूकता नहुँदा योजना अलपत्र पर्ने गरेका छन् । कतिपय योजनामा डिजाइन स्टिमेटमै त्रुटी दखिएपछि सोको पुनरावलोकन नहुँदा पनि योजनाका काम रोकिने गरेका छन् ।
योजना छनोटदेखि निर्माण सम्पन्नको प्रक्रियासम्म निर्माण व्यवसायी, कार्यालय, जनप्रतिनिधिलगायतले चासो दिन आवश्यक छ । यस्ता योजना अलपत्र हुँदा विकास निर्माणमा पछि पर्नुका साथै राज्यलाई आर्थिक भार थपिने गरेको छ ।