उदयपुरगढी पुनर्निर्माणसँगै पर्यटक बढे, इतिहास र प्रकृतिको एकसाथ अवलोकन गर्न सकिने

कार्तिक १८, २०८२ |भोटराज राई
उदयपुरगढी पुनर्निर्माणसँगै पर्यटक बढे, इतिहास र प्रकृतिको एकसाथ अवलोकन गर्न सकिने

उदयपुर । सरकारले पहिचान गरेका देशका सय पर्यटकीय गन्तव्यमध्येको एक हो उदयपुरको उदयपुरगढी। 

उदयपुरगढी गाउँपालिका वडा नं. ५ स्थित अढाई सय वर्ष पुरानो ऐतिहासिक स्थल उदयपुरगढी पुननिर्माणसँगै पर्यटकीय आकर्षण बढेको छ। १५औं शताब्दीको उत्तरार्द्धतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ । उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाखको लगानीमा गढीको पुनः निर्माण भएको हो ।

पुनः निर्मित संरचनाले ऐतिहासिक युद्धभुमी गढीको झलक दिएको छ । गढीको मुख्यगेट, तोप, राजाचढेको घोडा, मन्दीर र पर्खालहरू पौराणिक र ऐतिहासिक महत्वका छन् । गढी छेउमै प्राचिन दरबारका भग्नावशेष, पञ्चावती मन्दीर, बषौं पुराना बरपिपल। प्रस्तर स्तम्भ, सिंहको मूर्ति, गणेशमुर्ती विशेष छन् ।

तत्कालीन राजा उदयचन्द्र सेनको नामबाटै जिल्लाको नाम उदयपुर रहन गएको मानिन्छ । २०२८ सालतिर गाईघाटमा जिल्ला सदरमुकाम सारिनु अघि सोही ठाउँमा थियो । समुन्द्रसतहदेखि ११६० मिटर उचाइ र सदरमुकाम गाईघाटदेखि करिब २८ किलोमिटर दुरी उत्तरपश्चिममा रहेको गढीको सदावहार चिसो, स्वाच्छ हावा, हिमाल र तराईको दृष्यवलोकन मुख्य विशेषता हुन् ।

इतिहासको ज्ञान र मनोरम प्रकृतिको आभाष एकैसाथ गर्न सकिने उदयपुरगढी नेपालको सय पर्यटकीय गन्तब्य मध्येको एक हो ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।