नेपाली दक्ष कामदारको नयाँ श्रम गन्तव्य बन्दै कतार (भिडियो रिपोर्ट)

चैत्र ३, २०७९ |सारा साप्सानाम्मा
नेपाली दक्ष कामदारको नयाँ श्रम गन्तव्य बन्दै कतार (भिडियो रिपोर्ट)

दोहा । नेपालीका लागि प्रमुख श्रम गन्तव्य मुलुक हो कतार । यहाँ ३ लाखभन्दा बढी नेपाली कार्यरत रहेकामा धेरैजसो निर्माण क्षेत्रमा आबद्ध छन् । अधिकांशका लागि वैदेशिक रोजगार जीवन निर्वाहको बाध्यता हो । उपयुक्त अवसर पाए स्वदेशमै रोजगारी गर्न चाहन्छन् उनीहरु ।

काठमाडौं बुढानीलकण्ठ घर भएका रोशन तामाङ सन् २००५ मा पहिलो पटक कतार आइपुगेका थिए । एक कोरियन कम्पनीमा काम गर्न आएका उनले अहिले आफ्नै व्यवसाय सुरु गरेका छन् । यो झण्डै २ दशकको अवधिमा उनले नेपाली कामदारको दक्षतामा धेरै परिवर्तन देखेका छन् । विगतमा धेरै अदक्ष तथा अर्धदक्ष कामदार आउने गरेकामा अहिले इन्जिनियर, डाक्टरजस्ता उच्च दक्ष कामदार पनि आउन थालेको उनको भनाइ छ।

कतारका विभिन्न क्षेत्रमा आएर व्यापार व्यवसाय गर्नेको संख्या विस्तारै बढ्दै छ । निर्माण क्षेत्रबाहेक हस्पिटालिटी क्षेत्रमा काम गर्ने युवायुवती पनि यहाँ उत्तिकै छन् । तर, अधिकांशलाई रोजगारीको अवसर भइदिए नेपालमै काम गर्ने चाहना छ ।

कोरोना महामारी अघिसम्म कतार नेपालीका लागि प्रमुख श्रम गन्तव्य मुलुक थियो । सन् २०२१/२२ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएकामध्ये २३‍‍ दशमलब ८६ प्रतिशत कतार गएका थिए । कतारमा कार्यरत नेपालीको कुल रेमिट्यान्समा १७ दशमलब ७ प्रतिशत हिस्सा छ । हाल ३ लाखभन्दा बढी नेपाली कतारमा कार्यरत छन् । तीमध्ये अधिकांश सीप नभएका र अर्धदक्ष छन् । नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा अब वैदेशिक रोजगारको क्षेत्रलाई पनि सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ ।

दैनिक १५ सयभन्दा बढी नागरिकहरु वैदेशिक रोजगारीका लागि विदेशी रहेका छन् । यसरी ठूलो संख्यामा श्रमशक्ति विदेशिनुको समग्र असर नेपालको विकासमा पनि पर्ने गरेको छ । त्यसैले उनीहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ नीति निर्माताहरुले ध्यान दिनुपर्ने देखिन्छ ।


Image

सारा साप्सानाम्मा

साप्सानाम्मा कान्तिपुर टेलिभिजनको अंग्रेजी समाचार ब्युरोमा कार्यरत छन् ।