दार्चुला हिमपहिरोमा मृत्यु भएकाको शव भारतीय सडक प्रयोग गरी खलंगा ल्याइँदै

वैशाख २१, २०८० |कान्तिपुर टीभी संवाददाता
दार्चुला हिमपहिरोमा मृत्यु भएकाको शव भारतीय सडक प्रयोग गरी खलंगा ल्याइँदै

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी मृत्यु भएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो ।

मंगलबार हिमपहिरोमा परी मृत्यु भएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा छोरा हुन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले जनाए । ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ ।’ प्रहरी नायव उपरीक्षक भट्टले भने ।

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा छन् । सशस्त्र प्रहरी बलको टोलीले मंगलबारदेखि बेपत्ताको खोजी गरिरहेको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ ।

मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । दाउरा खोज्न गएका संकलकको भने ज्यान जोगिएको थियो । उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित उद्धार गरेको थियो । हाल सो क्षेत्रमा यार्सागुम्बा संकलकलाई जान सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा संकलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनि यार्सागुम्बा संकलन गरिन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.