पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै

वैशाख २१, २०८० |कान्तिपुर टीभी संवाददाता
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिँदैछ ।

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले बुधबार साँझ बुटवलबाट पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धानको लागि म्याथ थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गर्न लागिएको हो । बुटवलबाट पक्राउ परेका उनलाई गएराति भैरहवा हिरासतमा राखिएको र अदालतमा पेस गर्न आज विमानमार्फत काठमाडौं ल्याइँदैछ ।

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। नेकपा एमालेका सचिव एवं अर्घाखाँची - १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुरविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । टोपबहादुर भने पक्राउ परेका छैनन् ।

हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ८ जना पक्राउ परिसकेका छन् । सन्दीप पक्राउ पर्नु अगाडि बुधबारै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

पाण्डेकै प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पाण्डे तत्कालीन गृहसचिव हुन् । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

यसअघि, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहको मुख्य योजनाकारमध्ये राई पनि रहेको प्रहरीको भनाइ छ ।

गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

यस्तै यो प्रकणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरु हाल फरार छन् ।

थप समाचार...

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement