काठमाडौं । तपाईंलाई थाहा छ ? देशको संघीय राजधानी काठमाडौंमा ३० लाखभन्दा बढी मानिस बस्छन् । लाखौं मानिस दैनिक कामको सिलसिलामा ओहोर-दोहोर गर्छन् । अझ देशभरका नागरिकलाई कुनै न कुनै काम लिएर संघीय राजधानी नधाई सुखै छैन ।
तर काठमाडौंका कैयौं सडक अस्तव्यस्त छन् । खानेपानीको पाइप बिछ्याउनेदेखि बिजुलीका तार भूमिगत गर्न खनिएका सडक पिच नगरी अलपत्र छाडिएका छन् ।
सोह्रखुट्टेदेखि सामाखुसी जानेबाटो बिग्रिएको दुई वर्ष भयो । धुलो र हिलोले स्थानीय बासिन्दा हैरान छन् । खानेपानीको पाइपलाइन विस्तार गरेपछि तार भूमिगत गर्न खनिएको सडक अहिलेसम्म कालोपत्रे गरिएको छैन ।
राजधानीको अर्को मुख्य सडक त्रिपुरेश्वर-कंलकीको यात्रा पनि आरामदायी छैन । सडक खनेको महिनौंसम्म पनि फुटपाथमा थुपारिएको माटो तथा खाल्डा नपुरिँदा पैदल यात्रुलाई हैरान छ ।
देशको राजधानीमै खाल्डाखुल्डी पारेर अलपत्र छाडिएका सडकमा दुर्घटनाको जोखिम छ । तर सवारीको अधिक चाप हुने यस्ता सडक समयमै सम्याउन र कालोपत्रे गर्न न त सडक विभाग अगाडि बढ्छ न त स्थानीय सरकार । त्यसमाथि राजधानीका धेरै बाटाघाटा त खानेपानी संस्थान तथा ढल विकास, विद्युत् प्राधिकरण र दूरसञ्चार संस्थानलगायतले जथाभावी खन्ने गर्छन् । उनीहरुले समयमै आफ्नो काम सकेर बाटो पुर्न चासो दिएको देखिँदैन ।
२०७६ सालदेखि विद्युत् प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट प्रसारित विद्युतीय लाइन भूमिगत गर्न थालेको थियो । तर चार वर्ष बितिसक्दा पनि कामले अझै पूर्णता पाएको छैन । खन्ने र पुर्ने दुवै निकाय जिम्मेवार नबन्दा त्यसको दुख सडक प्रयोगकर्ताले भोगिरहेका छन् ।
योजनाबद्ध विकासको अवधारणा कार्यान्वयन नभएसम्म सडकको अवस्थामा सुधार आउने देखिँदैन । सडकमै पुगेर काम गर्ने निकायहरुबीच समन्वय पनि उत्तिकै आवश्यक छ ।