९९ लाख रुपैयाँ हिनामिना भएपछि रास्वपाका निलम्बित सांसद ढाकाकुमार पूर्वअध्यक्ष रहेको सहकारी ६ महिनादेखि बन्द

चैत्र २६, २०७९ |भुपाल गुरुङ
९९ लाख रुपैयाँ हिनामिना भएपछि रास्वपाका निलम्बित सांसद ढाकाकुमार पूर्वअध्यक्ष रहेको सहकारी ६ महिनादेखि बन्द

काठमाडौं । मन्त्री हुन रकम मागेको अडियो बाहिरिएपछि पार्टीको निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सांसद डा. ढाकाकुमार श्रेष्ठ पूर्वअध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्था झन्डै ६ महिनादेखि बन्द छ ।

सांसद श्रेष्ठले अध्यक्ष रहँदा झन्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप पछि बन्द रहेको पोखरा रत्नचोकस्थित सहकारीको कार्यालय ६ महिनादेखि ताला लागेको छ । उठ्नुपर्ने रकमको स्रोत नै नखुल्दा बचतकर्ताहरुलाई रकम फिर्ता गर्नसमेत संस्थासँग रकम नभएको जनाइएको छ ।

संस्थाले बचतकर्तालाई रकम फिर्ता गर्न सकेको छैन । नयाँ सञ्चालक समितिले सहकारीलाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको पनि कारोबार सुरु भने गर्न सकेको छैन । उक्त सहकारीले विशेषगरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आएको थियो ।

सहकारीले किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आएको थियो । तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको हालको कार्यसमितिले जनाएको छ । गत कात्तिक ९ गतेसम्म अध्यक्ष रहेका श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको छ ।

थप...

अडियो प्रकरणबारे रास्वपाले माग्यो श्रेष्ठसँग चौबीसघण्टे स्पष्टीकरण
२ करोड घूस मागेपछि रास्वपाका सांसद पार्टीबाट निलम्बित


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।