काठमाडौं । सिक्किमको नाथुला पासनजिकै गएको हिमपहिरोमा परेर तीन नेपालीको मृत्यु भएको छ । मंगलबार दिउँसो सवा १२ बजे गएको हिमपहिरोमा तीन नेपालीसहित सात जनाको मृत्यु भएको सिक्किम सरकारले विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त घटनामा १३ जना घाइते भएका छन् । गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो ।
त्यस्तै मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये छन् ।
सिक्किम घुम्न गएका पर्यटक सवार ५–६ वटा गाडी हिमपहिरोमा परेको र त्यसमा सवार २० पर्यटक पुरिएका थिए । सुरक्षाकर्मीले हिमपहिरोमा परेका १३ जनालाई घाइते अवस्थामा उद्धार गरेका थिए । घाइते १३ जनामा ३ जना नेपाली पनि छन् । गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनाललाई गान्तोकस्थित एटीएनएम अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको ठेगाना नेपाल भनेर खुलाइए पनि जिल्ला भने उल्लेख गरिएको छैन ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको एसटीएनएम अस्पतालमा उपचाररत हिमपहिरोका घाइतेको स्वास्थ्य अवस्था बुझेका थिए ।
घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका थिए । तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ ।
गान्तोकबाट नाथुला पास ५५ किलोमिटरको दूरीमा छ