काठमाडौं । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ ।
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए ।
सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ ।
दिवसका अवसरमा आज बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी प्रारम्भ भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत भएको छ । दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिदैछ । दिवसकै अवसरमा आज विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ ।
एक तथ्याङ्कअनुसार नेपालमा पाँच हजार ८ सय मिटर माथिका एक हजार ७ सय ९२ हिमाल रहेका छन । आठ हजार मिटरभन्दा माथिका आठ हिमाल नेपालमा छन । यी सबैमध्ये ४ सय ६१ मात्रै आरोहणका लागि खुला गरिएका छन।