यातायातमन्त्री श्रेष्ठले भने- अब ट्रायल दिएको ३ दिनमै लाइसेन्स

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
यातायातमन्त्री श्रेष्ठले भने- अब ट्रायल दिएको ३ दिनमै लाइसेन्स

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताएका छन् । 

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गरे । उनले अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने बताए । 

उनले सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको जानकारी दिए । हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको मन्त्री श्रेष्ठले स्वीकार गरे । 

उनले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारीसमेत दिए । 

मन्त्रालयले सोझै मेसिन खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको उनको दाबी थियो । उनले भने, ‘प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको छ । अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्छ ।’

त्यस्तै मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत पनि गरे । तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री बन्ने कुरा आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने श्रेष्ठले बताए । छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा पनि उनी विश्वस्त देखिन्थे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.