शिविरको झुप्रो कुरिरहेका भुटानी शरणार्थी, सहयोग रोकिँदा दयनीय अवस्था (भिडियो रिपोर्ट)

चैत्र १३, २०७९ |रमा दाहाल
शिविरको झुप्रो कुरिरहेका भुटानी शरणार्थी, सहयोग रोकिँदा दयनीय अवस्था (भिडियो रिपोर्ट)

झापा । सुनसान शरणार्थी शिविर । टोलाइरहेका वृद्धवृद्धा । आफ्नै देश भुटान फिर्तीको लागि संघर्ष गर्दागर्दै सन्तान सबै विदेसिएपछि यिनीहरु आजकल बेलडाँगीको यही रित्तो शिविरमा टोलाएर दिन कटाउँछन् ।

नेपाल सरकार र दाताले सहयोग रोकेपछि उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै समस्या छ । शरणार्थीकै रुपमा विदेश पुगेका आफन्त हुनेहरुले त उतैबाट आउने पैसाले जेनतेन गुजारा चलाएका छन् । त्यो पनि नहुनेहरुको चुलो बाल्नै मुस्किल छ ।

त्यसो त पुनर्स्थापनाका क्रममा प्रक्रिया नमिलेका र छुटेकाहरु पनि छन् । उनीहरुमा अझै पनि तेस्रो मुलुक पुनर्स्थापना हुने आस मरिसकेको छैन । कसैलाई भने विदेसिनुभन्दा शिविरभित्रकै दुःख सैह्य छ । बरु अझै पनि भुटान फर्कने चाहना छ ।

अहिले पनि झापाको बेलडाँगी र मोरङको पथरी शिविरमा गरी ६ हजार ३ सय ६३ शरणार्थी स्वदेश फिर्ती कि सरकारी सहयोगको याचना गरिरहेका छन् । तर तेस्रो मुलुक पुनर्स्थापनामा छुटेका शरणार्थीलाई खाने बस्ने व्यवस्था गर्न नेपाल सरकारसँग अहिले कुनै योजना छैन ।

सरकारी तथ्यांकअनुसार सन् २०१७ सम्ममा १ लाख १३ हजार भुटानी शरणार्थी अमेरिकासहित ८ मुलुकमा पुनर्स्थापित भइसकेका छन् । बाँकी जति छन्, तीमध्ये अधिकांशको अवस्था दयनीय बन्दै गएको छ ।

स्वदेश फिर्तीको मागसहित झापा र मोरङका विभिन्न शिविरमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरु जीवन धान्ने सहज उपाय नहुँदा अलपत्र जस्तै भएका छन् । ६ वर्षअघि अधिकांश शरणार्थी अमेरिकालगायत तेस्रो मुलुकमा पुनर्स्थापित भए । तर स्वदेश फिर्तीको अडान राख्नेहरुलाई नेपालका शिविरमै छाडियो । उनीहरुमध्ये अधिकांश वृद्धावस्थामा पुगेका छन् भने कतिपय त ज्याला मजदुरी गरेर पेट पाल्न सक्ने अवस्थामासमेत छैनन् । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement