काठमाडौं । मधेस प्रदेशबाट ११ दिनअघि पैदल हिँडेका मिटरब्याजी पीडित काठमाडौं आइपुगेका छन् । हिजो (शनिबार) राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेलमा बास बसेका उनीहरु अहिले मातातीर्थमा छन् । भोलि (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार जाने उनीहरुको कार्यक्रम छ ।
आज (आइतबार) बिहान कान्तिपुर टेलिभिजनकर्मी मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिका ५ स्थित कालिका माध्यमिक विद्यालयमा पुग्दा मिटरब्याज पीडितहरु काठमाडौंका लागि हिँड्न पंक्तिबद्ध भइसकेका थिए । स्थानीयले उनीहरुलाई शनिबार रातिको खाना र बस्ने व्यवस्था गरिदिएका थिए । बर्दिबासदेखि मातातीर्थसम्मको यात्रामा कतै वडा कार्यालय त कतै सामाजिक संस्थाले उनीहरुलाई सघाएका छन् । मन जति नै खिन्न भए पनि मधेसका जिल्लाका गाउँबस्तीबाट दु:ख बिसाउन राजधानी हिँडेका भुइँमान्छेहरुलाई पहाडमा सत्कार पाउँदा स्थानीय पनि खुसी देखिए ।
निराश अनुहारमा काठमाडौंको संघीय सरकारलाई गुनासाको पोको लिएर उनीहरु नारा लगाउँदै हिँडे । उनीहरु धेरै समय लाग्ने बाटोको सट्टा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ निस्किने छोटो बाटो रोजे । तर उनीहरु तीन किलोमिटर उकालो चढ्दा हस्याङफस्याङ भएर आराम गर्न थाल्थे । तिर्खाले प्याकप्याक हुँदा क्षणिक विश्राम लिएर पैदल यात्रा अघि बढ्थ्यो ।
यी पैदलयात्रुमध्ये थोरै मात्रले नेपाली भाषा बोल्छन् । केहीले जुत्ता, बाँकीले चप्पल नै लगाएर सयौं किलोमिटरको कच्ची सडक पार गरेका छन् । उकालोतर्फ अघि बढिरहेका यी पैदल यात्रु सरकारको ओरालोलाग्दो कार्यशैलीप्रति खिन्न देखिए । पैदलयात्रुमा दूधे बालक लिएकी आमा, अप्रेसन गरेको खुट्टा लिएका ज्येष्ठ नागरिक, हिँड्नै नसक्ने बिरामी पनि छन् । कतिपय पैदल यात्रु काठमाडौंसम्म बसमा आउँदा लाग्ने भाडालगायतको खर्च थेग्नसक्ने अवस्थामा समेत छैनन् ।
यी नागरिक साहु, महाजनबाट त ठगिएका छन् नै सरकारले समेत यिनीहरुलाई न्याय दिन सकेको छैन । मिटरब्याजीलाई कारबाहीको आश्वासन दिएको सरकारले कारबाहीको प्रक्रिया नै अघि बढाएन । जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याजीमाथि उजुरीका चाङ छन् तर कारबाहीका नगन्य उदाहरण छन् । जिल्ला, प्रदेश र संघसम्म उनीहरुले सरकारलाई ययअघि पनि निवेदन, उजुरीमार्फत आफ्नो समस्या बताइसकेका छन् । तर सरकार भने यी ठगिएकाहरुलाई न्याय दिलाउन सकेको छैन ।
थप...
बर्दिबासदेखि काठमाडौं : मिटरब्याजीविरुद्ध पैदल यात्रा