बर्दिबासदेखि काठमाडौं : मिटरब्याजीविरुद्ध पैदल यात्रा (भिडियो कथा)

चैत्र १२, २०७९ |जितेन्द्र झा
बर्दिबासदेखि काठमाडौं : मिटरब्याजीविरुद्ध पैदल यात्रा (भिडियो कथा)

काठमाडौं । मिटरब्याजीको शोषणबाट ग्रसित भएर न्याय माग्दै चैत २ गतेदेखि काठमाडौंतर्फ पैदल यात्रा थालेको पीडितको टोली ११ दिनसम्म हिँडेर हिजो (शनिबार) राति मकवानपुर जिल्लाको सीमा क्षेत्रमा बास बस्यो । आज (आइतबार) बिहान घाम लागेर बासस्थान छाड्नै लाग्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ स्थित विद्यालयको प्राङ्गणमा हामीले पीडितहरुलाई भेट्यौं ।

११औं दिनको थकाइलाई बिर्सेर अघि बढ्न लागेका पैदलयात्रीहरु बास दिएकामा स्थानीय बासिन्दालाई धन्यवाद दिँदै थिए । दुःखमा परेकाहरुलाई साथ दिने नेपालीहरुको संस्कार नै हो । इन्द्रसरोवरका बासिन्दाले बास मात्र होइन, राति खानेकुराको समेत प्रबन्ध गरिदिएका रहेछन् । शोषणमा परेकोमा उनीहरुलाई साथ दिएको बताउँदै स्थानीयले भने- राज्यले न्याय देओस् ।

११औं दिनसम्म लगातार पैदल हिँडेर आज (आइतबार) काठमाडौं प्रवेश गरेको पीडितहरुको समूहमा अधिकांश महिला छन् । साथमा बच्चा बोकेका आमा र बालबालिकासमेत छन् । उमेरले नेटो काटेका वृद्धहरु पनि चप्पलको भरमा मैदान, पाखा, पखेरा र खोंचहरु छिचोल्दै काठमाडौंतिर लम्किइरहेका छन् । उनीहरु रहरले हिँडेका होइनन्, न्याय पाइन्छ कि भनेर काठमाडौंतर्फ लम्किएका हुन् ।

साथमा झोला, पोका पन्त्यौरा छन् । प्रायः सबैका हातमा लठ्ठी छ । खाना पकाउने सरदाम, भाँडाकुँडा र बास बस्दा चाहिने सामानहरु एउटा गाडीमा राखिएको छ । मेस सञ्चालन गर्ने टोलीले त्यही गाडीबाट उनीहरुलाई पछ्याउँछ । बाटामा उनीहरु नारा लगाउँदै हिँड्न् भने बास बसेका ठाउँमा स्थानीय जनतालाई आफ्ना पीडाहरु सुनाउँछन् ।

सरकारले गत साउन २७ गते माइतीघरमा धर्ना बसेका पीडितहरुसँग वार्ता गरेर उनीहरुका माग पूरा गर्ने वचन दिएको थियो । त्यसै दिन गृह मन्त्रालयले कार्यदलसमेत बनाएको थियो । सो कार्यदलले पीडितलाई न्याय दिने, दोषीलाई कारवाही गर्ने र मिटरब्याज नियन्त्रणका लागि कानून बनाउने भने पनि अहिलेसम्म माग पूरा नभएका पीडितहरु फेरि न्याय माग्दै काठमाडौं आएका हुन् ।

देशभरिका विभिन्न जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा विभिन्न जिल्लामा २२ सय भन्दा बढी मिटरब्याजी पीडितहरु छन् ।

पैदल हिँडेर मिटरब्याज पीडितहरु यसरी आउँदै छन् काठमाडौं (तस्बिरसहित)

तस्बिर/भिडियो : श्याम श्रेष्ठ/कान्तिपुर टीभी


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement