जुम्लाको पातारासीमा गिटी-बालुवाको अवैध उत्खननले जवा नदीमा जोखिम, स्थानीय प्रशासनको बेवास्ता

कार्तिक ७, २०८२ |डीबी बुढा
जुम्लाको पातारासीमा गिटी-बालुवाको अवैध उत्खननले जवा नदीमा जोखिम, स्थानीय प्रशासनको बेवास्ता

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा अवैध रूपमा गिट्टीबालुवाको उत्खननले जवा नदीमा जोखिम बढेको छ । 

नियमन निकाय तथा स्थानीय सरकारको ध्यान नपुग्दा बालुवा र गिट्टीको अवैध रूपमा उत्खननले जोखिम बढेको हो । पहिले एकै स्थान भएर बग्ने जवा नदी अहिले चिराचिरा परेर बगिरहेको छ । पहिले पातारासी गाउापालिका-५ स्थित लाम्रीगाउँदेखि लोर्पासम्मको नदी आसपासको क्षेत्र निकै हरीयाली थियो । 

नदी आसपासको मैदानमा पशुवस्तुहरू चरिरहेका हुन्थे । तर अहिले न घाँसे मैदान छ, नत सहजै रूपमा नदी नै बगेको छ । उल्टै सामान्य झरी पर्दा पनि जवा नदीमा बाढी उर्लिहाल्छ । अहिले जताततै कंक्रिटका घर बनाउने होडबाजी नै चलेको छ । 

त्यही खोलामा उत्खनन गरेको गिट्टी बालुवाले सरकारी र निजी घरहरू बनिरहेका छन् । जथाभावी जो सुकैले उत्खनन गर्ने भएकोले नदीको स्वरूप र पर्यावरण दुबै बिग्रेको छ । अवैध उत्खननले एकातिर प्राकृतिक सुन्दरता हराउँदै गएको छ भने अर्कोतिर बाढी, पहिरो, भुक्षयजस्ता प्राकृतिक विपत्तिका जोखिम समेत बढेका छन् । 

आम्दानीको मुख्य स्रोत मानिने प्राकृतिक सम्पत्तिको दोहन बढेपछि स्थानीय सरकारले करोडौंको आन्तरीक राजस्व समेत गुमाउनु परेको छ । वातावरण प्रभाव मुल्याकंन नगरी जथाभावी बालुवा, गिट्टी निकाल्न मिल्दैन । अनुमतिविना नदीको धार र स्वरूपनै परिवर्तन हुनेगरी डोजरको प्रयोगले वर्षौदेखि नदीजन्य पदार्थको उत्खनन भईरहेको छ । 

राजश्व र सम्झौतानै नगरी नदीमा डोजर प्रयोग भएका छन् । जसका कारण नदी गहिरिएर दर्जनौ बस्ती र जमिन कटानको जोखिममा छन् । तर स्थानीय प्रशासन लाचार देखिन्छ । सवारी साधन र उपकरणसहित अवैध रूपमा नदीको दोहन भए पनि कानुनी कारबाही नहुँदा यस्तो गतिविधि झन् मौलाउँदो छ । 

नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समितिसाग अनिवार्य स्वीकृत लिएर सम्झौता अनुसार मात्रै काम गर्नुपर्ने व्यवस्था छ । स्थानीय सरकारले नदी क्षेत्रमा वातावरण प्रभाब मुल्याकंन गरेर टेन्डर गरी बढीबढाउको आधारमा नदीजन्यवस्तु उत्खनन गर्नमिल्ने निर्णय त गरेको छ तर कार्यान्वयन भएको छैन ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।