इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु

चैत्र ५, २०७९
इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु

काठमाडौं । इक्वेडरको दक्षिणी तटमा गएको ६ दशमलब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ ।

अमेरिकाको जियोलोजिकल सर्भे (यूएसजिएस) को अनुसार इक्वेडरको आधाभन्दा बढी प्रान्तमा भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पका कारण देशका थुप्रै सहरका भवनहरुमा क्षति पुगेको छ । इक्वेडरको एल ओरु प्रान्त भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरुले बताएका छन् । उक्त प्रान्तमा मात्रै ११ जनाको मृत्यु भएको छ । यस्तै, आजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ ।

भूकम्पको झड्का पेरुको उत्तरी क्षेत्रमा समेत महसुस भएको थियो । यहाँको तुंबेस प्रान्तमा एउटा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

भूकम्पले भत्किएका घरको भग्नावशेषभित्र अझै पनि थुप्रै मानिस पुरिएको इक्वेडरको आपतकालीन सेवाका अधिकारीहरुले बताएका छन् । भूकम्पपछि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको उनीहरुको भनाइ छ ।

इक्वेडरको दोस्रो ठूलो सहर गुआकिलबाट करिब ८० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।