हिमाली ब्वाँसोका कारण संकटमा याक, २ वर्षमा २ सयबढी मारिए (तस्बिरसहित)

चैत्र ४, २०७९ |केदार शिवाकोटी
हिमाली ब्वाँसोका कारण संकटमा याक, २ वर्षमा २ सयबढी मारिए (तस्बिरसहित)

काठमाडौं । हिमाली ब्वाँसोले याक चौरीलाई मारेर सिकार बनाउन थालेपछि दोलखाको बेदिङ र लप्चीका पशुपालक किसान चिन्तामा परेका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङमा हिमाली ब्वाँसोले २ वर्षमा झण्डै २ सयभन्दा बढी याक र बाच्छा मारेको छ । याक लोप हुने अवस्थामा पुगेपछि सोलुखुम्बुको खुम्बु क्षेत्रबाट ल्याइएका याक र बाच्छा हिमाली ब्वाँसोको सिकारमा परेको रोल्वालिङ याक संरक्षण तथा उत्पादन संस्थाका अध्यक्ष नुर्वुथुन्दु शेर्पाले बताए । उक्त संस्थाका ३ सय भन्दाबढी याक र बाच्छा रहेकोमा हिमाली ब्वाँसोको झुण्डले २ सयभन्दा बढी मारेको उनको भनाइ छ ।

हाल उक्त संस्थाको संरक्षणमा ६५ वटा याक र १३ वटा बाच्छा छन् । जिवित रहेका याक र बाच्छा पनि अधिकांश ब्वाँसोले घाइते बनाएको अवस्थामा रहेको शेर्पाले सुनाए ।

पछिल्लो समयमा ब्वाँसोको झुण्ड गाउँका घरको आँगनमै आउन थालेकाले स्थानीय त्रसित बनेका छन् । स्थानीयको पनि धेरै याक ब्वाँसोको सिकारमा परेको छ । हाल स्थानीय ४ घरको ३३ वटा याक तथा बाच्छा मात्रै रहेको शेर्पाले बताए ।

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने बेदिङमा ब्वाँसोले याक तथा बाच्छामा क्षति पुर्‍याएको भन्दै स्थानीयले लिखित निवेदन दिएको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । क्षतिको यकिन नभएकाले लगत संकलन भइरहेको उनले बताए । संरक्षण क्षेत्रले याकमा जंगली जनावरले क्षति गरेमा २५ हजार क्षतिपूर्ति दिने नियम रहेको उल्लेख गरे । 


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।