सगरमाथासहित चारवटा हिमालमा सेनाको सफाइ अभियान, ३५ हजार किलो फोहर संकलन गर्ने लक्ष्य

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
सगरमाथासहित चारवटा हिमालमा सेनाको सफाइ अभियान, ३५ हजार किलो फोहर संकलन गर्ने लक्ष्य

काठमाडौं । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ ।

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर संकलनको लक्ष्य राखिएको छ। उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर संकलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ । विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्न सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।

यस वर्षको अभियानका लागि पूर्वतयारी र समन्वय तथा तालिम सञ्चालन र जनशक्तिको चयनसमेत भइसकेको छ । अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित नौ, अन्नपूर्णमा सहसेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन् । सेनाका अनुसार, अभियान यही चैत १४ देखि आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि सन् २०१९ मा सगरमाथाबाट कुहिने र नकुहिने गरी १० हजार आठ सय किलो र चार मानव मृत शरीर तथा सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालबाट २७ हजार छ सय ७१ किलो फोहर संकलन भएको थियो ।

सेनाका अनुसार, सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्गा हिमालबाट कुहिने सात हजार एक सय ५७ र नकुहिने ३३ हजार आठ सय ७७ केजीसहित दुई वटा मानव कङ्कालसमेत संकलन गरिएको थियो ।

सन् १९५३ मा तञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेयता सगरमाथामा मात्रै करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ । सेनाको अगुवाइमा सफाइसँग सरोकार राख्ने विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थासँगको समन्वयन र सहकार्यमा अभियान सञ्चालन हुँदैआएको छ ।

सेनाको नेतृत्वमा अभियानमा पर्यटन र वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ ।

सगरमाथा प्रदूषण नियन्त्रण कमिटी, कञ्चनजङ्गा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रको समेत अभियानमा सहकार्य हुनेछ ।

अभियानअन्तर्गत संकलन गरिएका पुनः प्रशोधन गर्न सकिने फोहर काठमाडौँ ल्याइने गरिएको छ भने कुहिने फोहर स्थानीय निकायसँगको सहकार्यमा तत् तत् क्षेत्रमै व्यवस्थापन गरिँदैआएको छ ।पर्यटक र पर्वतारोहीलाई आकर्षित गर्न तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियानले ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.