वीरगन्ज । अन्य क्षेत्रमा जस्तै महिलालाई कानुन व्यवसायमा पनि चुनौती छ । त्यसमाथि तराई क्षेत्रमा कानुन व्यवसायमा महिलाको उपस्थिति निकै कम छ । समाजमा बढ्दै गएका महिलाका विषयमा महिलाले नै कानुनी सहायता प्रदान गर्दा सहज हुने हुनाले पनि उनीहरुलाई प्रोत्साहन जरुरी छ । तर हरेक ठाउँमा चुनौती र असहजता मात्र रहेको महिला कानुन व्यावसायीको गुनासो छ ।
देशभर २० हजारको हाराहारीमा कानुन व्यवसायी छन् । त्यसमध्ये महिला कानुन व्यवसायी ३ हजार ४ सय मात्रै छन् । पेशागत रुपमा सक्रिय रुपमा १० हजार छन् र त्यसमा ६ सय भन्दा केही बढी मात्रै महिला छन् । मधेस प्रदेशमा त त्यो संख्या अत्यन्तै न्यून छ । रौतहट, बारा , महोत्तरी लगायतका जिल्लामा शून्य नै छ भने सप्तरीमा १५ ,पर्सामा ३ र जनकपुर बारमा ९ जना मात्रै छन् । उनीहरुले सहज रुपमा काम गर्ने वातावरण बन्न नसकेको बताउँछन् ।
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नेतृत्वमा अहिलेसम्म महिला पुग्न सकेका छैनन् । तर पदाधिकारीमा भने महिलाहरु पुगेका छन् तर सवै तीर त्यो सहज वातावरण छैन । दुई दशक लामो समय देखि कानुन व्यवसायीको रुपमा सेवामा दिइरहेका महिला नै समाजमा, कार्यस्थलमा तथा परिवारमै पनि संघर्ष गर्नुपरेको सुनाउँछन् ।
मुद्दा लिएर जानेहरुले पनि महिला कमजोर हुने, दिईएको जिम्मेवारी दक्षताका साथ बहन गर्न नसक्ने खालका हुने विभेदपूर्ण सोच तथा व्यवहार अहिले पनि यो क्षेत्रमा व्याप्त छ ।
समग्र देशभरको स्थीति हेर्दा केहि महिला कानुन व्यावसायीले आफुलाई त्यो क्षेत्रमा अब्बल सावित गरिसकेका पनि छन । तर पनि कानुन व्यवसायी महिलालाई सहायककै रुपमा हेर्ने गरेको दृष्टिकोण परिवर्तन आउन सकेको छैन । जसमा परिवर्तन अनिवार्य रहेको उनीहरुको भनाइ छ ।
कानुन व्यवसायको क्षेत्रमा महिला कानुन व्यावसायीको क्षमता अभिवृद्धि गर्नेदेखि आवश्यक सहजीकरणमा नेपाल बार एशोसिएशन लगायतका संस्थाले पनि ध्यान दिन आवश्यक छ ।