काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा कुडा कर्णालीको चौथो संस्करण सुरु भएको छ ।
कर्णाली प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गर्न आजदेखि कुडा कर्णाली महोत्सव सुरु भएको हो । यस उत्सवमा कर्णालीका सम्भावना र गौरवका योजनाहरूको पहिचान गरी वक्ता र दर्शकबीच बृहत् अन्तर्क्रिया गर्दै विकासको मार्ग पहिल्याउने अपेक्षा सहभागीहरूले गरेका छन् ।
उत्सवको पहिलो दिन कर्णाली खेल्दो छ, पैकेलो, यो सहर त्यो सहर, भोट भेट शिक्षा र समर्पण, कर्णाली कन्सर्टजस्ता विषयमा बहस गदै कर्णालीको सम्भावनामाथि बहस भएको छ ।
यसरी बनेको थियो वीरेन्द्रनगरको गुरुयोजना
२०२२ सालअघि जतिबेला सुर्खेत उपत्यका औंलो रोग संक्रमणको जोखिमपूर्ण स्थानका रुपमा चिनिन्थ्यो । महामारीकै रुपमा रहेको औंलोबाट पीडित यहाँका मानिस उपत्यका छोडेर माथिल्लो भेकमा बस्थे । उनीहरु हिउँदे बाली लगाउन मात्र उपत्यका झर्थे । अहिले वीरेन्द्रनगरमा आउनेहरुको जति तँछाडमछाड छ, त्यस्तै त्यतिबेला वीरेन्द्रनगर छोड्नेको थियो ।
वीरेन्द्रनगर उपत्यकामा ०२२ सालमा जब औंलो उन्मूलनको घोषणा भयो, त्यसपछि खेती लगाउन मात्र आउने मानिस स्थायी रुपमा बस्नेगरी आउने क्रम सुरु भयो । त्यसयता विस्तारै उपत्यका बस्तीका रुपमा विकास भयो । अहिले वीरेन्द्रनगर एक सहरका रुपमा विकास भएको छ ।
यो उपत्यकालाई २०३९ सालदेखि वीरेन्द्रनगर नगरपालिका भनेर चिन्न थालिएको हो । २०२४ सालतिर अमेरिकाबाट आएका स्वयमसेवकहरुले उपत्यकामा बाटोको रेखांकन गरेका थिए ।
राजा वीरेन्द्रले ०२९ सालमा अध्यादेशमार्फत नगर विकासको अवधारणा अघि बढाए र त्यसैबेला वीरेन्द्रनगरको पनि गुरुयोजना बनाइयो । वीरेन्द्रनगरको गुरुयोजना बनाउने व्यक्ति थिए माधवभक्त माथेमा । उनले बनाएको त्यही गुरुयोजनामै रहेर वीरेन्द्रनगरको अहिले पनि विकास भइरहेको छ ।
माथेमा सहरी विकास योजनाका विज्ञ हुन् । माथेको सुर्खेत आउने योजना एक्कासि बनेको थियो ।
‘भर्खर अमेरिकाबाट अर्बन प्लानिङमा मास्टर्स सकेर काठमाडौं आएको थिएँ, कोठामा नपस्दै प्रमुख इन्जिनियरले चिठी थमाएर सुर्खेत जानुपर्यो भन्नुभयो,’ ३५ वर्षपछि सुर्खेत आएका माथेमाले भने, ‘मैले पनि हुन्छ भनेर सुर्खेत आएँ, त्यतिबेला संयुक्त राष्ट्रसंघ विकास परियोजनाको जहाज १५ हजारमा चार्टर्ड गरेर मेरो समूह सुर्खेत आएको थियौं ।’ माथेमाका अनुसार काठमाडौं बसेर वीरेन्द्रनगर उपत्यका पत्ता लगाउन निकै कठिन भएको थियो । त्योबेला माथेमा समूह सुर्खेतमा केही समय बसेर वीरेन्द्रनगर उपत्यकाको विकास योजना बनाएको थियो ।
‘म ज्युँदो बुबा, विधवा आमाको कान्छो सन्तान’
माथेमाको समूहले त्यसबेला तीन चरणमा विकास गर्नेगरी योजना बनाएको थियो । जसमा पूर्वको इत्राम खोलादेखि पश्चिम खोर्के खोलाको बीचको भागलाई सरकारी लगानीमा सहरी विकास गर्ने, त्यसभन्दा उता भैरवस्थानदेखि ढोडेखालीसम्मको भागलाई स्थानीयको लगानीबाट विकास गर्ने र रत्न राजमार्ग भन्दा तल्लो भागलाई सरकारी स्वामित्वमा कृषि क्षेत्रका रुपमा विकास गर्ने योजना थियो ।
३५ वर्षपछि सुर्खेत आएका योजनाकार माथेमाले अहिले अघिकांश वीरेन्द्रनगरको विकास आफूले गरेको गुरुयोजना अनुसारै भएको पाएको जनाए । उनी कर्णाली उत्सवमा वक्ताका रुपमा सहभागी हुन बिहीबार सुर्खेत आएका थिए । ‘बनाईएको गुरुयोजनाअनुसार पछिल्लो विकास भएको छ, केही समस्या त हरेक सहरमा हुन्छन्,’ उत्सवको ‘यो सहर : त्यो रहर’ सत्रमा उनले भने, ‘यसको आगामी विकासको बारेमा भने अझैं सोचेर लाग्नुपर्छ ।’
माथेमाका अनुसार त्यो समयमा विस्थापित परिवारलाई घडेरी व्यवस्थापन गरिदिने कुरा पनि योजनामा थियो । सीमित घडेरी केही परिवारलाई वितरण गरिएको थियो । वीरेन्द्रनगर उपत्यकामा गुरुयोजना बनाउने सयमा सवारी साधन, इँटा, सिमेन्ट थिएन । त्यसले गर्दा पनि सुरुमा सरकारी लगानीमा सहरको विकास गर्ने योजना बनेको थियो ।
अहिले सुर्खेतमा भएको विमानस्थलको विकल्प हेरिएको छ । माथेमाका अनुसार गुरुयोजना बनाउने बेला नै वैकल्पिक गुरुयोजनाको परिकल्पना गरिएको थियो । ‘त्यतिबेला योजना बनाउँदा अहिलेको विमानस्थलबाहेक देउतीबज्यै क्षेत्रमा पूर्व-पश्चिम पर्नेगरि विमानस्थल विकल्पका रुपमा हेरेका थियौं, तर त्यहाँ विमानस्थल बनाउँदा मानिस विस्थापित हुने सम्भावना बढी भएपछि सफल भएन ।’
माथेमाको समूहले उपत्यका ठूलो भएकाले नेपालगन्जलाई यो क्षेत्रको हवाई हब बनाउनेबारेमा पनि सोचेको थियो । पहिलेको योजना सफल नहुँदा अबको समयमा संरचना विकास गरेर वीरेन्द्रनगर उपत्यकामा ठूला विमान चलाउने सम्भावना न्यून भएको उनी बताउँछन् ।
कुडा कर्णालीका : निर्वाचन र लोकतन्त्र
कुडा कर्णालीमा यो सहर : त्यो रहर र कर्णाली खेल्दोछ...
उनका अनुसार सुर्खेतलाई अरु देशको सहरलाई हेरेर गुरुयोजना भने बनाइएको होइन । यसलाई यहीँको मौलिक सहरका रुपमा विकास गर्ने योजना बनेको थियो । ‘म सुर्खेत आउँदा यहाँ ठूलो भोकमारी थियो, त्योबेला मैंले गरिबीको महसुस गरेको थिएँ । त्यही भएर त्यतिबेला मैले नेपाल बाहिरका सहरको परिकल्पना गरेर योजना बनाइँन,’ उनले भने ।
सुर्खेतमा लगाइएका अहिलेका गुलमोहर फूलका बिरुवाहरु भारतको लखनउबाट १०० रुपैयाँमा किनेर ल्याइएको थियो । सत्रमा सहभागी वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल अहिलेसम्म वीरेन्द्रनगरको विकास योजनाबाहिर नगएको बताउँछिन् । यसलाई अझ व्यवस्थित गर्न नगरपालिका लागेको उनको भनाइ छ ।
‘हाम्रो पहिलो अभियान सरकारी जग्गाको संरक्षण हुनेछ, बजार क्षेत्रको पार्किङलाई व्यवस्थापन गर्न जोड दिएका छौं,’ उनले भनिन्, ‘हिजो जुन उद्देश्यले गुरुयोजना बनाइएको थियो, त्यसअनुसार गर्छौं भनेर हामीले प्रतिबद्धता गरेका थियौं, त्यसै गरिरहेका छौं ।’
नगरपालिकाले वीरेन्द्रनगरलाई कसरी विकास र व्यवस्थित गर्ने भन्ने विषयमा ६ महिना अध्ययन गरिएको बताइन् । उनका अनुसार पुरानो गुरुयोजनालाई कायम राख्नेगरी अहिले नगरपालिकाले भूउपयोग नीति बनाएको छ । जसमा अब नयाँ प्लटिङ गर्दा १० मिटरको बाटो बनाउनुपर्ने, खोला किनारमा कुनै पनि व्यक्तिगत संरचना बनाउन नमिल्ने व्यवस्था गरिएको छ ।
कर्णाली खेल्दोछ...!
अबको दुई वर्षभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना हुँदै छ । कर्णालीमा आयोजना गर्न खोजिएको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो । २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको छ ।
कर्णालीमा राष्ट्रिय प्रतियोगिता गर्ने राष्ट्रिय खेलकुद परिषद्को निर्णयसँगै पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट दशौंको झण्डा कर्णालीलाई हस्तान्तरण गरिएको छ । कर्णालीले प्रतियोगितालाई तोकिएकै समयमा सञ्चालन गर्नेगरी आफ्नो तर्फबाट तयारी गर्दै छ । सुर्खेतमा प्रदेशस्तरीय रंगशाला निर्माणको काम भइरहेको छ । रंगशालाबाहेक सुर्खेतका अरु ठाउँ र प्रदेशका अन्य जिल्लाहरुमा बनाउनुपर्ने संरचनाहरुको लागि राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव गरिएको छ ।
कर्णालीमा आयोजना हुने उक्त राष्ट्रिय प्रतियोगिता र कर्णालीको समग्र खेलकुदको विषयमा कर्णाली उत्सवमा विमर्श गरिएको छ । उत्सवको पहिलो दिनको दोस्रो सत्र ‘कर्णाली खेल्दोछ’ मा खेल क्षेत्रसँग सम्बन्धि व्यक्तिहरुबीच बहस गरिएको हो ।
बहसमा सहभागी कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले कर्णाली प्रदेशको खेलुदलाई विकास गर्न पाँच वटा आधारस्तम्भ बनाएर सरकार अघि बढेको जानकारी दिए । उनका अनुसार खेलकुदका पूर्वाधार, खेलाडीलाई प्रशिक्षण, प्रतियोगिता, पुरस्कार तथा प्रोत्साहन र प्रतिभा छनोट यहाँको खेलकुद विकासका आधारस्तम्भ हुन् । यी आधारस्तम्भलाई मनन् गरी खेलकुद परिषद र सरकार अघि बढे आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दुई अंक ल्याउने दाबी उनले गरे ।
‘यसअघि हामीले पूर्वाधार नभएकाले नवौं प्रतियोगिता गर्न पाएनौं, त्यतिबेला पूर्वाधार नभएकै कारण हामीलाई प्रतियोगिता गर्न नसक्ने कमजोर प्रदेशका रुपमा हेरिएको थियो,’ सदस्य सचिव सञ्ज्यालले भने, ‘अब प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा रंगशाला निर्माण गरेपछि कर्णालीलाई दशौं प्रतियोगिता गर्न दिनैपर्छ भन्ने मनस्थिति केन्द्रमा बनेको हो ।’
खेलाडीको सुनिश्चितताका लागि कर्णाली प्रदेश सरकारले कानुन निर्माण गर्न लागेको उनले बताए । उनका अनुसार मुख्य कानुनका लागि आवश्यक मस्यौदा बन्नेक्रममा रहेका छन् ।
प्रदेश सरकारले नवौं प्रतियोगितामा मेडल जितेका कर्णालीका खेलाडीलाई पुरस्कारको घोषणा गरेको थियो । उनीहरुले त्यो पुरस्कार पाइसकेका भने छैनन् । सदस्यसचिव सञ्ज्यालले अब खेलाडीहरुले पाउने पुरस्कार तथा प्रोत्साहनको सुनिश्चितता कानुनमार्फत् नै प्रदेश सरकारले गर्न खोजेको छ ।
अब कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीले नतिजा प्राप्त गर्ने परीक्षाको रुपमा पनि बुझ्न सकिने उनको भनाइ छ । कर्णालीमा समयमै प्रतियोगिता सञ्चालन गर्न पूर्वाधार आवश्यक भएकाले यसमा सरकारले लगानी गरिरहेको सञ्ज्यालले बताए ।
उनले कर्णालीमा बन्ने सबै खेल पूर्वाधार अपांगमैत्री बन्ने बताए । कर्णालीमा खेलकुदको सम्भावना धेरै भएकोले आगामी राष्ट्रिय प्रतियोगिताबाट त्यसलाई प्रमाणित गर्ने उनले दाबी गरे ।
कर्णाली उत्सवको चौथो संस्करण सुरु, १६ वटा सत्र चल्ने
बहसमा सहभागी राष्ट्रिय भलिबल प्रशिक्षक जगदीश भट्टराईले कर्णाली प्रदेश खेलकुदमा अग्रसर भएर अघि बढे खेल छोडेर विदेशिनुपर्ने खेलाडीको बाध्यता अन्त्य हुने बताए । खेलाडीको भविष्य नेपालमै स्थापित गर्न कर्णालीले खेलमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
कर्णाली प्रदेशमा खेलकुदका सम्भावना धेरै भएकाले यसलाई अघि बढाउन राज्यको लगानी अपरिहार्य भएको प्रशिक्षक भट्टराईले जनाए । ‘कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधारमा लगानी हुँदै छ, तर खेलाडीले जित्नुपर्छ भनेर लगानी गरिएको छैन,’ उनले भने, ‘हामीले यहाँका खेलाडीलाई सहज हुनेगरी खेलमा फोकस गर्नुपर्छ ।’
उनले कर्णालीको खेलकुदलाई विकास गर्न आफ्नो सहयोग जारी हुने प्रतिबद्धता जनाए । बहसमा सहभागी राष्ट्रिय खेलकुद परिषदका सदस्य नन्दा बस्यालले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सञ्चालन गर्नुपर्ने धारणा राखिन् । ‘कर्णालीमा राष्ट्रिय खेलकुद गराउन धेरै चुनौती छन्, चुनौतीका बाबजुद पनि हामीले तोकिएकै समयमा प्रतियोगिता गर्नुपर्छ,’ उनले भनिन्, ‘अब आउने प्रतियोगितामा सहभागी हुने यहाँका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएर पनि निखार्नुपर्छ, लगानी पनि त्यहीअनुसार गर्नुपर्छ ।
कर्णाली प्रदेश सरकारले खेलकुदका लागि भौतिक संरचनामा जस्तै लगानी खेलाडीमा गर्नुपर्ने उनको भनाइ छ । ‘यहाँ कुन प्रतियोगिता गर्दा मेडल जित्छौं, त्यो खालको खेल खेलाउनुपर्छ । यहाँ प्रशिक्षक ल्याउने कुरामा पनि पनि सक्दो लगानी गर्नुपर्छ ।’