‘म ज्युँदो बुबा, विधवा आमाको कान्छो सन्तान’

फाल्गुन ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘म ज्युँदो बुबा, विधवा आमाको कान्छो सन्तान’

काठमाडौं । सुरज पण्डित चर्चित गीत रेलको बाटोको गायक तथा संगीतकार हुन् । २०६८ सालदेखि गायन क्षेत्रमा सक्रिय जुम्ला चन्दननाथ नगरपालिका ४, मालाभिडका पण्डितको माया गर्ने जीवनसाथी, ए मेरी टुल्की नलाइ बाडुल्की, तम्रा मनमालगायत २ दर्जन बढी गीत चर्चित छन् । जुम्ला हुँदै काठमाडौंसम्मको यात्रामा भोगेका दुख र गरेको संघर्षको कथा पण्डितले कर्णाली उत्सवको चौथो संस्करणअन्तर्गत शुक्रबारको सुत्रमा सुनाए ।

गायक बन्छु भन्ने सपना मेरो जीवनका लागि सायदै कल्पनाको विषय थियो । जुन घरबाट म यहाँ आइपुगेको छु, त्यो कर्णालीको भोगाइ हो । दुई आमामध्ये जेठी आमाको म कान्छो छोरा हुँ । सानोमा बुबाले मेरी आमालाई म दुई वर्षको हुँदा छुट्याएर राख्नुभएको भनेर मलाई आमाले भन्नुहुन्थ्यो । हामी बस्ने घरको आँटीमा पानी चुहिन्थ्यो । आमाले चुहिनो छानो टालिरहनुभएको हुन्थ्यो । हामी बिहान उठ्दा आमाले गीत गाइरहेको हुनुहुन्थ्यो । कैयौँ रात मकैबारीमा भालुले मकै खान आउँदा आमा डरले तीनवटा बच्चालाई काखमा राखेर रोएको अझै याद छ ।

बुबालाई यो कुरा सुन्दा दु:ख त लाग्ला तर छोरालो वास्तविक कथा सुनाइरहेको छ, बुबा मलाई माफ गर्नुहोला । मेरो घरमा एक हप्तामा भात खाने पालो मेरो घरमा एकदिन मात्रै आउँथ्यो । खाद्य संस्थानले हप्तामा एकपटक बाँड्ने १० किलो चामल लिने हैसियत मेरो आमाको रहेनछ । हामीले मकै र जौंको भित्री भागलाई चामल सम्झेर, भात सम्झेर खान्थ्यौं । आमाले देखाएको बाटोमा आज म यहाँ छु भन्दा मलाई खुसी लाग्छ ।

मेरो बुबाले कर्णाली प्राविधिक शिक्षालयमा क्यान्टिन चलाउनुहुन्थ्यो । त्यतिखेर मैले अनामनगरको कर्णाली माविमा कक्षा ६ मा पढ्थे । मैले बुबासँग बुबा मेरो कापी र कलम सकिएको छ किनिदिनुस् भनें । बुबाले मेरो व्यापार भएको छैन अर्को हप्ता आ’ भनेर पठाउनुभयो । पछि फेरि त्यही स्कुलमा बुबाले महिनाको सय रुपैयाँ पनि फी तिरिदिन नमानेपछि मैलै स्कुल नै परिवर्तन गरेर अर्को श्री रत्न चण्डेश्वर उच्च माविमा भर्ना हुन गएँ ।

त्यसबेलै मैले ढुंगा फुटाएर ट्याक्टरलाई बेचेर वाकमेन र दुई जोर ब्याट्री किने । सँगसँगै स्वरसम्राट नारायणगोपालको गीतिश्रद्धाञ्जली भाग २ किने । मैले पहिलोपटक नारायणगोपालको गीत लौ सुन म भन्छु मेरो रामकहानी भन्ने गीत सुनेको थिएँ ।

त्यसपछि गीत-संगीतप्रति मेरो मोह बड्दै गयो । त्यतिखेर नेपाली ताराजस्ता कार्यक्रम टेलिभिजमा आउँथे । तर टीभी थिएन, म त्यही कार्यक्रम हेर्न छिमेकको घरमा जाँदा ढोका नै थुनिदिए । त्यसपछि मैले फेरि ढुंगा र गिटी फुटाएर १२ इन्चको ब्ल्याक एन्ड ह्वाइट टीभी किनें ।

एकदिन दिउँसो १ बजे स्कुलमा हाफ टाइमको समय चलिरहेको थियो । त्यतिखेर मैले कक्षाकोठाभित्र बसेर गीत गाइरहेको रहेछु । मेरा शिक्षक पूर्णप्रसाद धिताल सरले सुनेपछि फेरि गाऊ भन्नुभयो । मैले पछि स्कुलको वार्षिकोत्सवमा पनि गीत गाएँ । त्यो मेरो पहिलो स्टेज थियो र उहाँ नै मेरो पहिलो गुरु बन्नुभयो । स्टेजमा जाने मोह बड्दै गयो । मलाई ज्युँदो श्रीमान्‌को विधुवा आमाको छोरा हुनुपर्छ भन्ने लाग्न थाल्यो ।

म नेपालगन्जमा भएको मध्यपश्चिमाञ्चलस्तरीय छैटौं राष्ट्रिय खेलकुदमा सहभागी भएर स्वर्णपदक जितें । तर धनगढीमा भएको राष्ट्रियस्तरको खेलकुदमा भने सहभागी भए पनि स्वास्थ्यका कारण पुरस्कार जित्न सकिनँ । सायद मेरी आमाले खुवाएको जौंको भातले काम गरेन । खेलाडी बन्ने मेरो सपना पूरा हुन सकेन मैले दौडिने सपना त्यही रोकें ।

२०६८ मा पदम रोकाय एकल साँझ जुम्लामा भइरहेको थियो । मैले त्यहाँ एकपटक गीत गाउने अवसर दिनुस् भनेर मागें । त्यसबेला राजधानीबाट आएका कलाकारभन्दा मेरो प्रस्तुतिले त्यहाँ आएका मान्छेको मन छोएछ । त्यसबेलै रोकायले मलाई एउटा गीत रेकर्ड गर्न दिन्छु काठमाडौं आउनुस् भन्नुभयो । मैले ३५ हजार लगानीमा माया गर्ने जीवनसाथी भन्ने गीत रेकर्ड गरें । त्यतिखेर अडियो मात्रै चल्यो, त्यसको मुनाफाले मेरो जिन्दगी चलिरहेको छ, भलै आर्थिक मुनाफा हुन सकेन । नामको पछि दौडिएर जीवन बर्बाद नगर भन्नुहुन्थ्यो आमाले, तर एकदिन पक्कै खुसी फर्किन्छ होला भन्ने लागेरै मैले संगीत छोड्न सकिनँ ।

पहिलो गीत चलेपछि संगीतप्रतिको मेरो झुकाव झन् बढ्यो । तर काठमाडौंमा बसिरहने अवस्था थिएन । म जुम्ला फर्किने तयारी गरिरहेका बेला एक दिन साथी खड्कजित रोकायसँग भेट भयो, उनले कलाको सम्मान गर्नका लागि जुम्ला नपठाउनुस् भनेर एकजना रमेश भण्डारी दाइसँग आग्रह गरे । उहाँले म जागिर खोजौंला भन्नुभयो, म जुम्ला फर्किएँ ।

तर निकै समय खबर आएन । एक दिन म धार्मिकस्थल ठाकुरज्यू र विष्टज्यूमा गएर मलाई काठमाडौं जाने अवसर जुटाइदिनुस् भनेर फर्किंदै थिएँ, आधा बाटो नपुग्दै रमेश दाइको फोन आयो । उहाँले काम मिल्यो काठमाडौं आऊ भन्नुभयो । मैले सडक डिभिजन कार्यालयमा काम सुरु गरेँ । तर असोजसमा भर्ना भएको मान्छे पुससम्म पनि तलब आएन, काम के हो भन्ने मेसो पनि पाउन सकिनँ । पुसदेखि मात्रै मैले काम गर्न पाएँ । चार महिनाको तलब एकैचोटि आउँथ्यो, कोठाभाडा तिर्ने कसरी, संगीत क्लास जाने कसरी भन्ने चिन्ताले नै पिरोल्थयो ।

२०७६ फागुन २८ गते बिहानको कुरा हो । मैले संगीत साधना गरिरहेको बेला धुन निस्कियो । त्यसबेला सहरमा रेलको खुब चर्चा थियो । काठमाडौंमा रेलको कुरा हुँदै गर्दा कर्णालीमा मोटरबाटोको सम्म परिकल्पना गरिएको थिएन, त्यो कुराले मलाई पिरोल्थ्यो । मेरो भोगाइ झलझल्ती आँखामा आउँथ्यो । त्यही संगीतलाई साथ दिने शब्द खोज्दा मैले रेलको बाटो बन्दै छ रे रेल चढौंला नेपालैमा हुम्ला मोटरबाटो छैन के चढौंला हिमालैमा भन्ने शब्द कोरें । त्यसपछि यी शब्द मैले साथी लेखराज गिरीलाई पठाएँ । त्यसमा कर्णालीको सबै अवस्थाको खाका पठाएको थिएँ । उहाँले चैत १ गते गीत पूरा गरेर पठाउनुभयो । गीत, रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा, हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा भयो ।

अहिले मलाई लाग्छ संसारमा सबैभन्दा ठूलो इच्छाशक्ति हो, इच्छाशक्ति ठूलो भयो भने एक दिन पक्कै सफल हुन सकिन्छ । न भूगोलले छेक्छ, न गरिबीले रोक्छ ।

कर्णाली उत्सवको चौथो संस्करण सुरु, १६ वटा सत्र चल्ने
कुडा कर्णालीका : निर्वाचन र लोकतन्त्र
कुडा कर्णालीमा यो सहर : त्यो रहर र कर्णाली खेल्दोछ...


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.