राष्ट्रिय सम्मानकासाथ विपिन जोशीको अन्त्येष्टी

कार्तिक ४, २०८२ |हरिश्चन्द्र बाग
राष्ट्रिय सम्मानकासाथ विपिन जोशीको अन्त्येष्टी

कञ्चनपुर । हमास समूहको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । शवयात्रामा सहभागी नेपालका लागि इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए ।

इजरायलबाट सोमबार काठमाडौँ ल्याइएको विपिनको शव साँझ नै सेनाको विमानबाट धनगढी विमानस्थलसम्म ल्याइएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमार्फत भीमदत्त नगरपालिका-३ स्थित घरमा ल्याइएको थियो । आज बिहान घरबाट हजारौँको सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एनपी सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत सहभागी हजारौँको संख्यामा सहभागी भएका थिए ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा विपिनलाई बन्धक बनाइ लगिएको थियो । दुई वर्षसम्म विपिनको स्थिति अज्ञात रहेकोमा गत असोज २७ गते विपिनको मृत्यु भएको पुष्टि गरिएको थियो ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।