बानेश्वरको सडकमा आफ्नै शरीरमा आगो लगाउने युवा विवेकशील साझा पार्टीको पूर्वनेता रहेको खुलासा

माघ १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
बानेश्वरको सडकमा आफ्नै शरीरमा आगो लगाउने युवा विवेकशील साझा पार्टीको पूर्वनेता रहेको खुलासा

काठमाडौं । नयाँ बानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले विभिन्न व्यवसाय गर्दा धेरै ऋणमा डुबेका कारण आत्महत्याको प्रयास गरेको खुलेको छ ।

उनले घटनाअघि सामाजिक सन्जाल फेसबुकमा पाँच हजार शब्दको लामो स्टाटस लेख्दै धेरै ऋणमा डुबेका कारण आफूले आत्महत्याको निर्णय लिन पुगेको उल्लेख गरेका छन् ।

उद्यमी बन्न विभिन्न व्यवसाय तथा काम गर्दा पनि आफूले सफलता हासिल गर्न नसकेको र उल्टै लाखौँ ऋणमा डुबेर गरी खान नसक्ने स्थितिमा पुगेको उनले लेखेका छन् । ६० लाख ऋण रहेको र बाँच्न सबै उपाय लगाउँदा पनि केही नभएको उनको तर्क छ ।

संसद भवन अगाडि आत्मदाहको प्रयास

सुरुवाती चरणमा पर्यटन व्यवसायमा संलग्न भएका उनले वैदेशिक रोजगार हुँदै फेरि इलाममा कृषि फार्मलगायत व्यवसाय सञ्चालन गरेको उल्लेख गरेका छन् । देशको मुहार फेर्न सकिन्छ कि भन्ने आशमा उनी राजनीतिमा समेत सक्रिय भएका थिए । उनले ५-६ वर्षदेखि आफू इलाम जिल्लाको विवेकशील साझा पार्टीको जिल्ला संयोजक रहेर काम गरेको उल्लेख गरेका छन् । रवि लामिछानेको पार्टीमा लाग्न आफूलाई प्रस्ताव आएको तर, आर्थिक समस्याले गर्दा राजनीतिमा लाग्न नसकेको उनले लेखेका छन् ।

यसअघि गत वर्ष पनि उनले सुसाइड नोट लेखेर भारतको गुहाटीमा ब्रह्मपुत्र नदीमा हामफालेर आत्महत्याको प्रयास गरेका थिए । तर, प्रहरीले उनलाई उद्धार गरेको थियो । प्रहरीले उद्धार गरेर अस्पतालमा उपचारका लागि लगे पनि उनको अवस्था चिन्ताजनक रहेको प्रहरी स्रोतले बतायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.