सन्दीपलाई कारागारबाट जिल्ला अदालत लगियो

पुस २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
सन्दीपलाई कारागारबाट जिल्ला अदालत लगियो

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको छ । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि कागजी प्रक्रिया पूरा गर्न लामिछानेलाई जिल्ला अदालत लगिएको हो । 

जिल्ला अदालतको प्रक्रिया पूरा गरेर उनलाई पुन: कारागार फर्काइएको छ । कारगारको कागजी प्रक्रिया सकिएपछि उनी जेल मुक्त हुनेछन् । 

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी थुनामुक्त गर्न आदेश दिएको थियो ।

धरौटीमा छाड्दै उच्च अदालतले उनलाई केही सर्त र बन्देज पनि लगाएको छ । सन्दीपलाई मुद्दाको फैसला नभएसम्म नेपालबाहिर जान रोक लगाइएको छ । त्यस्तै जाहेरीकर्ता र उनका परिवारसँग भेटघाट, सम्पर्क, त्रास, दबाब नदिन र उनीहरूलक्षित कुनै सामग्री सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सन्जालमा टिप्पणी नगर्न पनि भनिएको छ ।

कुनै काम विशेषले उपत्यका छाड्नुअघि छाड्ने र फर्कने मिति साथै बस्ने ठाउँ खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिनुपर्नेछ ।

लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । उनले गत भदौ ५ गते राति काठमाडौंको तिलगंगाम रहेको एक होटेलमा लगेर करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

उनी आफू निर्दोष भएको दाबी गर्दै उक्त मुद्दाविरुद्ध उच्च अदालत पाटन गएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.