कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलौरी भन्सार कार्यालयनजिक सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेलौरीले कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रण गर्न हेल्प डेस्क स्थापना गरेको छ ।
कोरोना भाइरसको नयाँ संक्रमणबारे सतर्कता अपनाउन र सीमा क्षेत्रबाट हुने आवागमनमा सहज वातावरण तयार गर्न मंगलबार दिउँसो बेलौरी भन्सार कार्यालयनजिक हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेलौरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गोकर्ण भट्टराईले जानकारी दिए । कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रण गर्न आवश्यकताअनुसार हेल्थ डेस्क स्थापना गर्ने र सीमामा कडाइ गरिने उनको भनाइ छ ।
हाललाई भने सीमा क्षेत्रमा आवागमन यथावत् नै छ । छिमेकी मुलुकहरूमा कोरोनाको नयाँ भेरियन्टको प्रभाव बढ्दै गएकाले नेपाल सरकारले पनि समयमै सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन गरेको छ । गत वर्ष पनि कोरोना महामारी बढेको समयमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हेल्प डेस्क सञ्चालन गरेको थियो । उक्त हेल्प डेस्कमा सशस्त्र प्रहरी र शान्ति पुन:स्थापना गृहको टोलीले सहयोग गर्ने जनाइएको छ ।