चितवन । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेसँग चितवनको सरकारी वकिल कार्यलयमा आज ५ घण्टा बयान लिइएको छ । काठमाडौंबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेले सरकारी वकिलको कार्यालयमा दिउँसो १२ बजेदेखि ५ घण्टा बयान दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
बयान पश्चात् लामिछानेलाई आज हिरासत कक्षमा राखिएको छ । भोलि कार्यालय समय सुरु भएपछि पुनः लिखित बयान लिइने सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्ता शान्तिराज लुइटेलले जानकारी दिनुभयो । आज पहिलो दिन प्रारम्भिक प्रश्नमा मात्र गरिएको र भोलि गहिराइमा गएर बयान लिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार लामिछानेसँग लिखित बयान लिइएको छ । सरकारी वकिल र अनुसन्धान अधिकृतले सयुंक्त बयान लिएका हुन् । भोलि बयान सक्ने तयारी भएको भएको न्यायधिवक्ता लुइटेलले बताउनुभयो ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट आज (मंगलबार) बिहान चितवन ल्याइएको थियो । प्रहरीले लामिछानेलाई विमानस्थलबाट प्रहरी कार्यालय लगेर बयानका लागि सरकारी वकीलको कार्यालय लगिएको थियो ।
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्वडीआइजी छविलाल जोशी र नेचर हव इन्टरनेसनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो ।