नेपाल-चीन संयुक्त वक्तव्य : 'बीआरआई फ्रेमवर्कमा छिटै हस्ताक्षर हुन्छ'

मंसिर १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-चीन संयुक्त वक्तव्य : 'बीआरआई फ्रेमवर्कमा छिटै हस्ताक्षर हुन्छ'

काठमाडौं । नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन र 'बेल्ट एन्ड रोड' परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन् । मंगलबार अबेर सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा आपसी विकास र रणनीतिको समन्वयलाई थप मजबुत र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति भएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले हिल्सा-सिमकोट सडक, किमाथांका-खाँदबारी सडक र पुल, जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं-हेटौंडा पोडवे, दुई सय २० केभी प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय लगायतका विषय अनुदानमा लिने गरी प्रस्ताव गरेको थियो । टोखा-छहरे सुरुङमार्ग बाहेकका अन्य कुनै पनि विषयमा सहमति गर्न चीन तयार नभएपछि नेपालले गरेको प्रस्तावमाथि छलफल हुन सकेन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नेपालका तर्फबाट बीआरआई अन्तर्गत अनुदानमा लिने गरि परियोजनाहरु प्रस्ताव गरिए पनि चिनियाँ पक्षले असहमति जनाएको हो ।

तर दुवै देशले ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ड एन्ड रोड फ्रेमवर्कमा सक्दो चाँडो समझदारीपत्रमा हस्ताक्षर गर्न तयार रहेको उल्लेख छ ।

मंगलबारै प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि नौ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहयोग र सहकार्यसम्बन्धी पत्रमा हस्ताक्षर गर्दै दुई देशबीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान-प्रदान, कनेक्टीभिटी, औद्योगिकक्षेत्र विकास, भौतिक विकासका संरचना, स्वास्थ्य सहयोग, कृषि व्यापार, पर्यटन लगानी र विज्ञान तथा प्रविधिका क्षेत्रलाई अगाडि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनु भयो । 

दुई देशबीच टोखा-छहरे सुरुङमार्ग निर्माण तथा नेपाल-चीन व्यापार अभिवृद्धिका विषयमा सहमति भएको छ भने वसन्तपुरको नौ तले दरबार पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र र नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान भएको छ । त्यसैगरी राँगाको तयारी मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । दुई देशबीच विकास योजना सम्बन्धी, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी भएको छ । 

त्यस्तै स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनु भएका ओलीले हिजो चिनियाँ राष्ट्रपति सी चीनफिङसँग बेइजिङको देताइ स्टेट गेस्ट हाउसमा भेटवार्ता गर्नु भएको थियो ।

सम्बन्धित समाचार...

नेपाल र चीनबीच के-के विषयमा भयो सहमति ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.