ठूला खेलकुद प्रतियोगिताका लागि दर्शक थेग्ने भौतिक संरचना नहुँदा सुरक्षा व्यवस्थापनमा सधैं चुनौती

मंसिर १८, २०८१ |रमेश धमला
ठूला खेलकुद प्रतियोगिताका लागि दर्शक थेग्ने भौतिक संरचना नहुँदा सुरक्षा व्यवस्थापनमा सधैं चुनौती

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक बन्नु जति सुखद् हुन्छ, त्यसको सुरक्षा व्यवस्था मिलाउनु पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ । अहिले काठमाडौंमा नेपाल प्रिमियर लिग चलिरहेको छ । क्रिकेट प्रतिको आकर्षणका कारण र एनपीएलको चर्चाका कारण पनि लिगका खेलहरु हेर्न कीर्तिपुरको क्रिकेट रंगशालामा पुग्नेहरुको हरेक दिन भिड लागिरहेको छ । 

तर व्यवस्थापकीय कमजोरीले सुरक्षामा भने प्रश्न उठिरहेको छ । क्रिकेट मात्रै होइन, ठूला खेलकुद प्रतियोगितामा साँघुरा भौतिक संरचना र दर्शकको भिडकै कारण सुरक्षामा असहज परिस्थिति बन्ने गरेको छ ।

गत शनिबार नेपाली खेलकुद क्षेत्रकै उत्सवका लिइएको क्रिकेटको नेपाल प्रिमियर लिग सुरु भयो । नेपाल क्रिकेट संघ क्यानले खेलको केही दिन अघिदेखिनै टिकट बिक्री गरिसकेको थियो । तर उद्घाटनको दिन नै दर्शक व्यवस्थापनमा देखिएको कमजोरीले एनपीएलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्यो । करिब १२ हजारसम्मको क्षमता भएको कीर्तिपुर मैदानमा उद्घाटन खेल हेर्ने दिन नै झन्डै २० हजार दर्शक पुगेका थिए । पास वितरण र टिकट बिक्रीको यकिन तथ्यांकसमेत सुरक्षाकर्मीलाई उपलब्ध नगराएपछि भिड नियन्त्रणमा कठिन भयो ।

एनपीएलको सुरक्षाका लागि नेपाल प्रहरीको मात्रै दैनिक पाँच सय जनशक्ति परिचालन गरिएको छ भने सशस्त्र प्रहरी बल र निजी कम्पनीबाट पनि उत्तिकै जनशक्ति खटाइएको छ । उद्घाटनको दिनमै दर्शकको सुरक्षामा चुनौती भएपछि प्रहरीले बम डिस्पोजल टिमदेखि ड्रोन र सादा पोशाकमा समेत जनशक्ति परिचालन गरेको थियो । अहिले पनि प्रहरीलाई मैदानभित्रको भिड मात्र होइन, बाहिरको सुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे परिरहेको छ ।

त्यसो त एनपीएल मात्रै होइन, ठूला खेलकुद प्रतियोगिताका लागि सुरक्षा नै मुख्य चुनौती बनेको छ । ठूला मैदान नहुँदा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत दर्शकले रुखमा चढेर हेर्ने गरेका छन् । खेल मैदानमा दर्शकका लागि पर्याप्त प्यारापिट नहुने र भएकाहरु पनि जोखिमयुक्त छन् । दर्शकका लागि पर्याप्त प्यारापिट अपुग मात्रै छैन, भैपरी आउने घटना नियन्त्रण गर्न आयोजकले आफ्नो निजी सुरक्षाकर्मीसमेत पर्याप्त परिचालन गर्न सकेको छैन ।

गत कात्तिकमा भएको महिला साफ फुटबलमा दर्शकको उपस्थिति र उत्साह उस्तै थियो । दशरथ रंगशालामा १८ हजारको क्षमताभन्दा बढी टिकक बिक्री भयो । जसले बाहिर सुरक्षाकर्मीलाई भिड नियन्त्रणकै लागि कठिन थियो । रंगशाला प्रवेश गरिसकेका दर्शकका गतिविधि पनि जोखिम निम्तने खालका थिए । ठूला प्रतियोगितामा आयोजकले सुरक्षा संवेदनशीलतामा ध्यान नदिएको आरोप लाग्दै आएको छ ।

खेलकुद प्रतियोगितामा केही सुरक्षा जोखिम हुन सक्ने आँकलन गरिएको हुन्छ । पहिलो - दर्शकको भिड व्यवस्थापन, दोस्रो- प्रतिस्पर्धामा सहभागी टिमको पक्ष र विपक्षमा रहने समर्थकबीच हुन सक्ने झडप, तेस्रो- मैदानभित्रको भौतिक संरचनाले निम्त्याउन सक्ने दुर्घटना र चौथो -आपराधिक समूहले निम्त्याउन सक्ने घटना । आपराधिक तथा गैरकानुनी गतिविधि नियन्त्रण प्रहरीसहितका सुरक्षा निकायले गर्ने भए पनि टिकट र दर्शकको व्यवस्थापन आयोजकले निजी सुरक्षाकर्मीमार्फत गराउनु पर्ने प्रहरीको बुझाइ छ । जसरी नेपालको खेलकुदमा दर्शकको रुची र सहभागीता बढदै छ त्यहीअनुसार भौतिक संरचना र सुरक्षामा सोच्नुपर्ने बेला भइसकेको प्रहरीको विश्लेषण छ ।

खेल क्षेत्रका भौतिक संरचनामा सरकारले लगानी बढाउन नसकेपछि नेपाली समर्थकले सहज रुपमा खेलकुद हेर्न पाएका छैनन् । नेपाली खेलकुद र खेलाडीप्रति जसरी समर्थन बढदै छ त्यहीअनुसार प्रतियोगिता गर्न सक्ने क्षमता र सुरक्षा सतर्कतासमेत बढाउन ढिलाइ भइसकेको छ । 


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।