काठमाडौं । तपाईंले सरकारी कार्यालयहरुमा राखिएका 'गुनासो तथा सुझाव पेटिका' देख्नुभएकै होला । के तपाईंले त्यस्तो पेटिकामा कहिल्यै गुनासो वा सुझाव लेखेर राखिदिनुभएको छ ? सेवाग्राही कार्यालयको कामप्रति कति सन्तुष्ट छन् भनेर बुझ्न र समस्या पहिचान गरेर समाधान गर्न कै लागि यस्ता सुझाव पेटिका राख्ने गरिएको हो । तर यस्ता पेटिकामा सुझाव नै पर्न छाडेका छन् । सेवाग्राहीले प्रयोग नै गर्न छाडेपछि सरकारी कार्यालयमा झुन्ड्याइएका उजुरी पेटिका परम्परा मात्रै बनेका छन् ।
बाहिरपट्टी देखिने ठाउँमा सुझाव तथा गुनासो पेटिका नाम दिएर भित्तामा एउटा बाकस झुन्ड्याइएको हुन्छ । त्यो बाकसमा तपाईले कार्यालयमा परेका समस्या र गुनासो लेखेर राख्न सक्नुहुन्छ । तर पछिल्ला वर्षहरुमा ती बाकसमा सुझाव नै पर्न छाडेका छन् । कतिपय कार्यालयका राखिएका यस्ता बाकस त वर्षौंदेखि खोलिएकै छैनन् ।
हरेक कार्यालयले सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारी भनेर एक जना कर्मचारी छुट्याएका छन् । जिम्मेवारी पाएका कर्मचारीले बाकस खोल्ने र मुचुल्का उठाएर आएका गुनासा सके आफैं सम्बोधन गर्ने र नभए सम्बन्धित शाखामा पुर्याइदिनुपर्ने हो । तर बाकसमा आक्कलझुक्कल परेका गुनासाका चिर्कटा पनि बेवारिसे जस्तै बन्छन् । सम्बन्धित कार्यालयप्रति सेवाग्राहीका कुनै सुझाव र गुनासा भए वा कुनै उजुरी दिनु परे सहज होस् भनेर सुझाव पेटिका राखिएको हो । गुनासा तथा सुझाव पेटिकामा परेका उजुरीको सुनुवाइ चाहिँ कसरी हुन्छ त ?
सरकारी अधिकारीहरु भने प्रविधिको विकाससँगै फोन, इमेल तथा प्रत्यक्ष भेटेरै सूचना अधिकारीमार्फत गुनासा राखिने गरेकाले कार्यालयमा राखिएका पेटीकामा कम मात्र गुनासो पर्ने गरेको बताउँछन् । अझ हेलो सरकारमार्फत बढीभन्दा बढी गुनासो आउने र ती तत्काल समाधानको प्रयास गरिने दाबी उनीहरुको छ ।
सँगसँगै अर्को यथार्थ के हो भने नागरिकलाई यस्ता पेटिकामा सुझाव वा गुनासो राख्दा सम्बोधन हुन्छ भन्ने विश्वास पनि छैन । सरकारी कार्यालयले भने सुझाव पेटीकामा कुनै गुनासो नै नआउँदा पनि परम्परागत शैलीलाई हटाउन सकेका छैनन्, न त सेवाग्राहीका गुनासो सुन्ने संयन्त्रबारे आमनागरिकलाई जानकारी नै दिन सकेका छन् । प्रत्येक कार्यालयले सेवाग्राहीका गुनासो सुन्ने र तत्काल समाधान गर्ने नयाँ संयन्त्र विकास गरी त्यसको जानकारी दिन सके मात्र सेवालाई प्रभावकारी बनाउन सकिन्छ ।