काठमाडौं । ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रान्सका नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाइ गर्दै आजै थुनामुक्त गर्न आदेश दिएको हो । उनले ७५ प्रतिशत सजाय काटिसकेको र ७८ वर्ष अर्थात् वृद्ध भइसकेको हुँदा थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।
न्यायाधीशद्वयको इजालासको फैसलामा भनिएको छ,‘निवेदकलाई उच्च अदालत, पाटनले २०७५/३/२० मा यसै अदालतबाट २०७५/११/१२ मा निवेदकको उमेर ७४ वर्ष भइसकेको र तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई तोकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुन वाञ्छनीय देखियो ।’
साथै इजलासले अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए चार्ल्स शोभराजलाई आजै कैदबाट छाडेर १५ दिनभित्र देश फर्काउन आदेश दिएको छ । ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएो १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनू ।’
यस्तो छ सर्वोच्चले दिएको आदेश :