यसपटकको निर्वाचनमा बदर मत बढ्यो

जेष्ठ ७, २०७९
यसपटकको निर्वाचनमा बदर मत बढ्यो

यस पटकको स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाताले केही अप्ठ्यारो महसुस गरे । राजनीतिक दलहरुले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्दा मतदातालाई मत दिन कठिन भएको हो । मतदातालाई आफूले चाहेका उम्मेदवारलाई मत दिन फरक फरक निर्वाचन चिहृन खोज्नुपर्ने बाध्यताले बदर मत समेत बढेको देखिएको छ । तर केही ठाउँमा भने राजनीतिक दलहरुले प्रभावकारी रुपमा मतदाता शिक्षा पुर्‍याउँदा बदर मत घटेको छ ।

२०७४ को निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा प्रमुखका उम्मेदवार आनन्दराम पराजुली ७ हजारभन्दा बढी मत बदर हुँदा पराजित भए । पााच वर्ष अघि बदर मतकै कारण निर्वाचनमा पराजय भोगेको अनुभव संगालेको नेपाली कांग्रेसले यो पटक आफ्नो गल्ती दोहोर्‍याउन चाहेन । उसले गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने तरिका सिकाउन सबै सहयात्री दललाई समेत सचेत गरायो । जसका कारण ७४ हजार मत गन्दा यस पटक यो समाचार तयार पार्दासम्म ५ सय ८९ मत मात्रै पूर्ण बदर भयो ।

यो पटक हेटौंडा उपमहानगरपालिकाका मतदाता मतदान प्रक्रियामा सचेत देखिएको पाइएको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा ४३ हजार मत गणना गर्दा उपप्रमुखमा ८ हजार २ सय ५१ मत पूर्ण बदर भएको छ । यो संख्या प्रमुखले पाएको मत बराबरकै संख्या हो । १६ हजार ६ सय ८६ वटा मतपत्र खाली पाईएको थियो । गठबन्धन दलहरुले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसक्दा मत बदर भएको  छ ।

मत बदर बढ्दा चुनावी परिणाममा समेत असर पार्ने देखिन्छ । हेटौंडामा जस्तै अन्य स्थानीय तहमा पनि राजनीतिक दलहरुले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन सके बदर मत कम गरेर स्थानीयले चाहेका जनप्रतिनिधि चयन गर्न सहयोग पुग्ने देखिन्छ ।