एसईईमा अँग्रेजी विषयको परीक्षा गाह्रो भएको गुनासो

वैशाख ९, २०७९
एसईईमा अँग्रेजी विषयको परीक्षा गाह्रो भएको गुनासो

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा-एसईई आजदेखि सुरु भएको छ । प्रदेश सरकारको व्यवस्थापनमा भएको परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण र मर्यादित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

 एसइई परीक्षा प्रदेशगत रुपमा फरक–फरक प्रस्नपत्रमार्फत् लिइएको हो । परीक्षामा देशभरबाट नियमिततर्फ ५ लाख ३ हजार ५ सय २३ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ परीक्षार्थी सहभागी भएका छन् । कोरोना महामारीका कारण ४ महिनामात्र विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पढार्इ हुनु र धेरै अभ्यास गर्न नपाउनुले अँग्रेजी विषयको परीक्षा गाह्रो भएको विद्यार्थी र शिक्षकको बुझाइ छ । 

यसपटक जापानमा रहेको विद्यालयबाट समेत १९ जना विद्यार्थीले परीक्षा दिएका छन् । प्रस्नपत्र ईमेलमार्फत पठाइ यहाँ जस्तै परीक्षा लिइएको हो । पहिलो दिनको परीक्षा देशभर व्यवस्थित र मर्यादित रुपमा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

देशभरका २ हजार ७ परीक्षा केन्द्रमार्फत् परीक्षा लिइएको हो । २० गतेसम्म सञ्चालन हुने परीक्षाबाट माथिल्लो कक्षामा जान विद्यार्थीले हरेक विषयको सैदान्तिक ३५ अंक अनिवार्य रुपमा ल्याउनुपर्ने छ । परीक्षाको नतिजा असार मसान्तसम्ममा प्रकाशित गर्ने तयारी बोर्डको छ ।