गुणस्तरहीन औषधिको बिक्रीवितरणले जनस्वास्थ्यमा गम्भीर खेलवाड

फाल्गुन ९, २०७८
गुणस्तरहीन औषधिको बिक्रीवितरणले जनस्वास्थ्यमा गम्भीर खेलवाड

औषधि, जीवन रक्षाबुटी । स्वस्थ शरीरका लागि होस् वा बिरामीको उपचारमा नभै नहुने त्यही औषधिले सही काम गरेन भने ज्यानै जानसक्छ । तर बजारमा छ्याप्पछ्याप्ती गुणस्तरहीन औषधि बिक्री वितरण भैरहेको छ । १० प्रतिशतसम्म औषधी गुणस्तरहीन हुने गरेको सरकारकै स्विकारोक्ति छ । तर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड हुँदा पनि न अनुगमन प्रभावकारी रुपमा भएको छ न त दोषीमाथि कडा कारबाही नै ।

यही फागुन २ गते औषधि व्यवस्था विभागले नमूना परीक्षण गर्दा ३ प्रकारका औषधि गुणस्तरहीन भेटिए। त्यसपछि विभागले तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दियो । तर कार्यान्वयन भएन । मिभिट सी नामको भिटामिन सी फिर्ता लैजान भनिएको मध्येको एउटा हो । जुन पसलहरुमा बिक्री वितरण भैरहेको छ ।औषधि विभागले गरेको अनुगमनबाट गएको ६ महिनामा मात्र १० थरीका औषधि गुणस्तरहीन पाएको छ । नेपालमा उत्पादन हुनेदेखि आयात गरिने औषधिसम्म यसमा पर्छन् । अनुगमनमा सप्लिमेन्ट औषधिदेखि प्रतिरोधात्मक क्षमता बढाउनेसम्मको औषधि गुणस्तरहीन पाइने गरेको छ । अझ पछिल्लो समय त भिटामिन, क्याल्सियम भन्द‌ै आफुखुसी सप्लिमेन्ट औषधि प्रयोग गर्ने गरेका छन् ।

औषधि व्यवस्था विभागले बेच्नै नहुने भनेका यस्ता सप्लिमेन्ट औषधिहरुको दर्ता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गरेर धमाधम बेचिँदैछ । उसले यो आर्थिक वर्षमा मात्र ८ सयभन्दा बढि यस्ता सप्लिमेन्ट औषधिलाई दर्ता गरेको छ । जबकि औषधि विभागले प्रतिवन्ध लगाएका यी औषधि स्वास्थ्यका लागि हानिकारक छन् र बिक्री वितरण नै गर्न पाइदैँन ।  

नेपालमा करिब २६ हजार औषधि पसल दर्ता छन् । काठमाडौं उपत्यकामा मात्रै ६ हजारभन्दा धेरै औषधि पसल छन् । तर औषधि व्यवस्था विभागले प्रभावकारी अनुगमन नगर्दा गुणस्तरहीन औषधि बीक्री वितरण हुने गरेको छ । बजारमा कस्ता औषधी छन र खान मिल्ने हुन या हैनन् भन्ने समेत उपभोक्तालाई यकिन हुन सक्दैन । विभागले भने काठमाडौंमा जम्मा ६ जना र बाँकी जिल्लाहरुमा २ जनाका दरले मात्रै जनशक्ति हुँदा नियमन र कारबाही प्रकृया प्रभावकारी हुन नसकेको बताउँछ । नेपालमा १३ सय उत्पादनका २५ हजार ब्रान्डका औषधि बजारमा पाइन्छन् । त्यसैले अनुगमनको क्षमता नबढाउने हो भने आम नागरिकले गुणस्तरहीन औषधि उपयोग गर्नुपर्ने बाध्यता कायमै रहने मात्रै हैन झन बढ्न सक्छ । 

6. Mahakali sichai


Enter Kantipur TV HD
Advertisement