इन्जिनियरिङका आंगिक क्याम्पस विस्तार हुने

माघ १७, २०७८
 इन्जिनियरिङका आंगिक क्याम्पस विस्तार हुने

प्राविधिक शिक्षाप्रति विद्यार्थीको चाप बढ्दो छ । तर सहज रुपमा पठनपाठन गर्न शैक्षिक संस्था पर्याप्त छैनन् । अब भने मुलुकका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयले विभिन्न ठाउँमा इन्जिनियरिङका आंगिक क्याम्पस विस्तार गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ विषय अध्ययन गराउने आंगिक क्याम्पसमा भर्ना हुन विद्धार्थीबीच तीव्र प्रतिस्पर्धा हुन्छ । अहिलेसम्म पुल्चोक, थापाथली, धरान, पोखरा र चितवनमा मात्र इन्जिनियरिङ विषय अध्ययन गराउने आंगिक क्याम्पस छन् । विद्धार्थीको चाप बढेपछि विश्वविद्यालयले दाङको घोराही, डोटीको खप्तड र महोत्तरीको बर्दिवासमा क्याम्पस स्थापना गर्न लागेको छ । आगामी वर्षबाटै दाङमा स्नातक तहको अध्ययन अध्यापन शुरु गर्ने तयारी छ । हरेक प्रदेशमा कम्तिमा एउटा इन्जिनियरिङको आंगिक क्याम्पस स्थापना गर्ने उद्देश्य विश्वविद्धालयको छ ।

एउटा इन्जिनियरिङ क्याम्पस स्थापना गर्न एक अर्ब रुपैयाँभन्दा बढी लाग्छ । न्यूनतम ३१ जना शिक्षक कर्मचारी आवश्यक पर्छ । त्यसो त इन्जिनियरिङ कलेजहरु काठमाडौं उपत्यकामा मात्र केन्द्रित हुँदा विद्यार्थी चाहेर पनि पढ्न नसकेको अवस्था छ । 

२ हजार सिटका लागि चार गुणाभन्दा बढी विद्यार्थीको आवेदन पर्नुले पनि इन्जिनियरिङको आंगिक क्याम्पसमा विद्यार्थीको आकर्षण छ भने प्रष्ट हुन्छ । आंगिक क्याम्पसको विस्तार र विकास सँगै गुणस्तरमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।