उच्चशिक्षाका लागि विदेशिनेको संख्या गत वर्षभन्दा ४ गुणा बढि

श्रावण १, २०७९
उच्चशिक्षाका लागि विदेशिनेको संख्या गत वर्षभन्दा ४ गुणा बढि

उच्चशिक्षा अध्ययनका लागि विदेशिनेको संख्या यो वर्ष ह्वात्तै बढेको छ । राजनीतिक अस्थिरता र रोजगारीको अभावले हरेक वर्ष विदेशिने विद्यार्थीको संख्या बढ्ने गरेको छ । यो वर्ष मात्रै १ लाख १३ हजार ६ सय विद्यार्थीले विभिन्न देशमा उच्चशिक्षा अध्ययनका लागि 'नो अव्जेक्सन लेटर' लिएका छन् ।  यो अघिल्लो वर्षको भन्दा चार गुणा बढि हो । 

भक्तपुरका साजन देउजा बेलायतमा स्नातकोत्तर तहको व्यवस्थापन संकायको उच्चशिक्षा अध्ययन गर्न चाहन्छन् । त्यसका लागि शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमति शाखामा 'नो अव्जेक्सन लेटर' लिन धाइरहेका छन् । उच्चशिक्षासँगै काम पनि पाउने भएकाले उनी बेलायत जान लागेकी हुन् । 

भक्तपुरका देउजाजस्ता पाँच सय विद्यार्थी हरेक दिन विदेश अध्ययनका लागि  स्वीकृति पत्र लिन केशरमहल आउँछन् । विदेशी विश्वविद्यालयमा भर्नाको समयमा मन्त्रालयले दैनिक १२ सय विद्यार्थीलाइ स्वीकृति पत्र दिने गरेकोमा अहिले ४ सयको हाराहारीमा उपलव्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७८/ ७९ मा एक लाख १३ हजार ६ सय विद्यार्थीले विभिन्न देशमा उच्चशिक्षा अध्ययनका लागि स्वीकृति पत्र लिएका छन् । त्यसमा पनि सबैभन्दा वढी अष्ट्रेलियामा ७० प्रतिशत छन् भने अन्यमा जापान, कोरिया, अमेरिका, बेलायत, क्यानाडा लगायत  रहेका छन् । गतवर्ष २९ हजार ४ सयले स्विकृति पत्र लिएका थिए । कोभिडका कारण जान नपाएका र विदेशी विश्वविद्यालयले विद्यार्थीका लागि खुला गर्नु लगायतका कारण गतवर्षको तुलनामा यो वर्ष चारगुणाले विद्यार्थी वढेका हुन् । 

राजनीतिक अस्थिरताका कारण विद्यार्थी भविष्यप्रति संशकित छन् ।  शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा विद्यार्थीमा विदेशी मोह बढेको छ । धेरै विद्यार्थी अध्ययनका लागि विदेशिने गरेका कारण विदेशी मुद्रा सञ्चितिमा समेत असर परेको छ। उर्जावान युवा शक्ति अध्ययनका सिलसिलामा विदेश जानु र नफर्किनु मुलुकको लागि चिन्ताको विषय हो । 

सरकारले स्वदेशमै स्तरीय शिक्षा र रोजगारीका अवसर सिजना गर्न विशेष पहल गर्न निकै ढिला भइसकेको छ ।