सत्ता र शक्ति संघर्षको दाउपेचले जसपाको आन्तरिक कलह उत्कर्षमा

असार ९, २०७९
सत्ता र शक्ति संघर्षको दाउपेचले जसपाको आन्तरिक कलह उत्कर्षमा

सत्तारुढ जनता समाजवादी पार्टीको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । मन्त्री हेरफेरको तानातान र पार्टी कब्जा गर्ने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको गुटगत दाउपेचले पार्टी विभाजन नै हुने जोखिम बढेको हो । 

जनता समाजवादी पार्टी फुटेको एक बर्ष पनि भएको छैन । तर फेरि फुटको संघारमा पुगेको देखिन्छ । आपसी टकराव चुलिएपछि जसपामा यतिखेर अध्यक्ष उपेन्द्र यादव र  संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षबीच कसले बहुमत पुर्याउने भन्ने होडवाजी  छ । भट्टराई पक्ष त सांसद र केन्द्रीय कार्यकारीणीमा ४० प्रतिशत संख्या पुर्याएर पार्टी विभाजन गर्नेसम्मको रणनीतिमा पुगेको देखिन्छ । 

विवादकै बीच चैतमा केन्द्रीय कार्यकारिणी बैठक बसे पनि जसपामा स्थानीय तहको टिकट वितरण र अबका चुनाव लक्षित योजनाले गुटगत विवाद झन बल्झेको छ । 

भट्टराईले कार्यकारीणी समिति र संसदीय दलको बैठक बोलाउन आग्रह गरेपनि यादवले बोलाएका छैनन् । सरकारमा मन्त्री पठाउँदादेखि जिम्मेवारीसम्मका काममा यादवले एकलौटी गरेको भट्टराईको आरोप छ। भट्टराई पक्षले ३३ सदस्यीय कार्यकारिणी र २३ जना सदस्य रहेको संसदीय दलमा बहुमत पुगेको दावी गरिरहेको छ। 

पार्टी विभाजन उन्मुख रहेको यादव पक्षले पनि स्वीकार गरेको छ । 

दुइ अध्यक्षात्मक जसपाभित्र यसअघि पनि महन्थ ठाकुर र  यादव एकठाँउमा हुँदा शक्ति टकराव थियो । त्यही कारणले ठाकुर पक्षले पार्टी विभाजन गरि लोसपा बनाएको छ । अहिले फेरि जसपा सत्ता र शक्तिको होडले विभाजनकै बाटोमा हिड्दैछ।