स्थानीय तहको चुनावमा मुख्य राजनीतिक दलहरुबिच प्रतिस्पर्धा

वैशाख ३१, २०७९
स्थानीय तहको चुनावमा मुख्य राजनीतिक दलहरुबिच प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनमा मुख्य राजनीतिक दलहरुले ६ वटा महानगरसहित केही उपमहानगर र नगरपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । विशेष गरेर गठबन्धनमा रहेका तीन दल नेपाली कांग्रेस,  माओवादी केन्द्र र एकीकृत समाजवादी तथा नेकपा एमालेले चुनावको नतिजालाई प्रतिष्ठाको विषय बनाएका हुन् । तर मतगणनाको अहिलेसम्मको नतिजा हेर्दा कस्को पल्ला भारी हु्न्छ  भन्ने स्पष्ट भन्न सकिने अवस्था छैन ।

सत्ता गठबन्धन दल र  एमालेलाई मात्र होइन आमनागरिक माझ सबैभन्दा बढी चासो चितवनको भरतपुर महानगरपालिकामा छ । भरतपुरमा गठबन्धनकातर्फबाट उम्मेदवार बनेकी  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई जसरी पनि जिताउने गरि सत्ता गठबन्धन लागेको छ । भरतपुरलाई गठबन्धन दलले नै प्रतिष्ठा बनाएका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत कांग्रेससँगको गठबन्धनमा विजयी भएकी थिइन् । प्रतिपक्षी दल एमालेलाई पनि रेणु दाहाललाई हराएर पुष्पकमल दाहाललाई राजनीतिक धक्का दिने दाउ खोजिरहेको छ । तर माओवादीकै जोडबलमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई समेत चितवनमा दाहाललाई जिताउनै पर्ने दवाव छ । 

त्यसैगरी गठबन्धन  र एमालेबीचको प्रतिष्ठा र प्रतिस्पर्धा दुवै देखिएको दोस्रो महानगर हो– संघीय राजधानी रहेको काठमाडौं महानगर । गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसले सिर्जना सिंहलाई र  एमालेले केशव स्थापितलाई उठाएको छ । सिंह प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहकी बुहारी तथा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुन् । सिंहको जितलाई सिंगो गठबन्धनले प्रतिष्ठा बनाएको छ । एमालेका उम्मेदवार केशव स्थापित पनि यसअघि काठमाडौंको प्रमुख भइसकेका व्यक्ति हुन् । दुवैलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले चुनौती दिइरहेका छन् । गठबन्धन दलले अर्को प्रतिष्ठा बनाएको तेस्रो महानगर हो– पोखरा । जहाँ एमालेका लागि जित निकाल्नुपर्ने बाध्यता छ । यसअघि आफैंले जित हात पारेका महानगर गुमाउन एमालेले चाहेको छैन । तर यही महानगरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको धनराज आचार्यलाई जिताउनै पर्ने चुनौती गठबन्धन दललाई छ ।

त्यसैगरी प्रधानमन्त्री देउवालाई आफ्नै गाउँपालिका गन्यापधुरामा जित प्राप्त गर्नुपर्ने चुनौति छ । नेपाली कांग्रेसबाटै अलग भएर बनेको वीपी कांग्रेस पार्टीबाट उम्मेदवार बनेकालाई विपक्षी दल एमालेले समर्थन गरेपछि देउवालाई जित निकाल्नुपर्ने चुनौति थपिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत आफ्नै गृह जिल्ला झापाको दमक नगरपालिकामा जित निकाल्नुपर्ने महाभारत छ । २०७४ सालको स्थानीय तहमा दोस्रो मत ल्याएका  राप्रप्राका उम्मेदवारलाई सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेपछि ओलीलाई अप्ठारो परेको हो । यसअघि एमालेले प्रमुखमा जितेको दमक नगरपालिका अध्यक्ष ओलीको राजनीतिक प्रतिष्ठासँग जोडिएको नगर हो । यसअघि आफूले जित हासिल गरेको उपहानगर पालिकाहरु हेटौंडा र  बुटवल जोगाउने बल एमालेले प्रयोग गरिरहेको छ । गठबन्धन एकातिर र आफू एक्लैले प्रतिश्पर्धामा रहेकाले पनि विरासत जोगाउने कठीन चुनौती पार लगाउने ध्याउन्नमा एमाले देखिएको छ ।

 


Enter Kantipur TV HD
Advertisement