इजरायल घटनाबारे परराष्ट्रमन्त्री साउदलाई प्रश्न : उद्धारभन्दा राहत घोषणामा हतार किन ? (टफटक)

आश्विन २४, २०८० |कान्तिपुर टीभी संवाददाता
 इजरायल घटनाबारे परराष्ट्रमन्त्री साउदलाई प्रश्न : उद्धारभन्दा राहत घोषणामा हतार किन ? (टफटक)

काठमाडौं । इजरायलमा हमासले गत शनिबार गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गयो । आक्रमणको त्रासले अब बाँकी २५५ विद्यार्थीसहित श्रमका लागि गएका केही नेपाली स्वदेश फर्कन आतुर छन् । उनीहरु सरकारसँग गुहार गर्छन्, ‘एक सेकेन्ड भने पनि हामी छिटो नेपाल फर्कन चाहान्छौं । तत्काल हाम्रो उद्धार होस् ।’

हमास आक्रमणलाई कडा मानिएको इजरायलको ‘इन्टेलिजेन्स फेलियर’ भएको टिप्प्णी भइरहेको छ । सोही कारण भारत, अमेरिका, बेलायत, कम्बोडिया र थाइल्यान्डलगायत राष्ट्रले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार गरिसके तर नेपाली अझै त्रासमा छन् ।

नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद भने इजरायलसँग सिधा हवाई सम्पर्क नभएका कारण उद्धारमा ढिला भएको बताउँछन् । आजै नेपालीलाई उद्धार गर्नका लागि नेपाल एयरलाइन्सको विमान पठाउन कूटनीतिक पहल भइरहेको उनको भनाइ छ ।

प्रस्तुछ छ- मन्त्री एनपी साउदसँग इजरायल घटना र उद्धारको प्रयास, उद्धारमा किन निरिह देखियो नेपाल, रोजगारी र द्वन्द्वग्रस्त मुलुकमा नेपालीको अवस्थालगायत विषयमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठकले गरेको टफटक :

इजरायलमा १० नेपालीको मृत्यु भएको घटनाले मुलुक शोकमा छ । त्यहीँबाट कुराकानी सुरु गरौं । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम कृषि विश्वविद्यालयबाट एक महिनाअघि गएका विद्यार्थीले ज्यान गुमाए । एकजनाको अवस्था अझै अज्ञात छ । त्यहाँ भएकाले देशलाई गुहार गरिरहेका छन् । त्यत्ति निरिह हो हाम्रो देश ?

इजरायल श्रमको दृष्टिकोण र अध्ययनको दृष्टिकोणले पनि एउटा आकर्षक गन्तव्य रही आएको छ । अलि समाज पनि खुला छ । काम गर्ने अथवा जीवन पनि खुला छ । यस कारण पनि नेपालीहरु युरोप अमेरिकामा जस्तै त्यहाँ जान सहज महसुस गर्छन् । केयर गिभरमा पनि धेरै जाने गरेका थिए । त्यसलाई व्यवस्थित गरेर सरकारले ‘जीटूजी’ मै मात्र लाने गरेको छ । गत वर्ष एक हजार एक सय कियर गिभर त्यहाँ गएको अवस्था छ । यसबाहेक विशेष गरेर त्रिभुवन विश्व विद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले हरेक वर्ष ‘इन्टर्नसिप’का लागि हरेक वर्ष ‘लर्न एन्ड अर्न’ कार्यक्रममा विद्यार्थीहरु पठाउने गरेका छन् । २६५ विद्यार्थी यो पटक पठाएको अवस्था छ । यसरी गएका विद्यार्थीहरु खुसी नै हुने गर्छन् । इजरायलको मेलिटरी र रक्षा पनि कडा छ । त्यहाँ सानो घटना त भइरहन्छ तर यस्तो ठूलो हुन्छ कसैले अनुमान गरेको अवस्था थिएन । हाम्रो दूतावासका अनुसार चार हजार पाँच सयजना श्रमिक र विद्यार्थी छन् ।

इजरायलको दक्षिण क्षेत्र जहाँ अलि बढी युद्धको खतरा छ, त्यही हाम्रो विद्यार्थी खटाएको जस्तो छ नि ?

त्यस्तो छ छैन । सबैतिर छन् । हाम्रा विद्यार्थी २६५ जना र फरक-फरक स्थानमा छन् । कसैले जानी बुझी पठाएको जस्तो छैन । उनीहरुले तारबार, पर्खालै लगाएर किल्लाबन्दी गरेको अवस्था थियो । अब के भयो भने- एकाएक तिनै ठाउँबाट स्थाल, हवाई र समुद्रबाट पनि आक्रमण हुने कुसैले पनि सोचेको अवस्था थिएन ।

इजरायलका महत्त्वपूर्ण मान्छेले पनि यो हाम्रो ‘इन्टेलिजेन्स फेलियर’ हो भनिरहेका छन् । इजारयलका नागरिक पनि पर्ने गरी त्यो आक्रमण भयो ।

युद्ध प्रभावित क्षेत्रका विद्यार्थी ‘ए सरकार गर्’ भनेर हार-गुहार गरिरहेका छन् । सरकारले उद्धारभन्दा पहिले राहतको निर्णय गर्छ भन्ने प्रश्न उठेको छ । मृतकका नाममा यति लाख दिन्छु भनेर सिंहरदरबारमा बसेर निर्णय गर्छ । उनीहरु हाम्रो संवेदन बुझेन भनेर रोइकराइ गर्छन् । तिनको उद्धारका लागि के भइरहेको छ ?

यस्तो संवेदनशील बेलामा हामीले प्रचार-प्रसार, अन्तर्वार्ताजस्ता कुराले स्थिति बिगार्न सक्छ । त्यसकारण हामीले आफ्ना निकायहरुलाई पनि संवेदनशील भएर काम गर्न भनेका छौं । यसमा हाम्रो दुई-तीनवटा प्राथमिकता थियो । शनिबारको दिन एउटा क्याम्पमा आक्रमण भयो । त्यही हाम्रा मान्छेहरु मारियो । त्यसपछि अरु ठाउँमा सांघातिक आक्रमण भएको कुरा आएको छैन ।

उद्धारका लागि चाहिँ- विद्यार्थीहरुको लास त्यहाँको आर्मीले राखेको छ । फिर्ता ल्याउनका लागि पनि कोसिस गरिरहेका छौं । हिजो मात्रै मैले इजरायलका विदेशमन्त्रीसँग कुरा गरेँ । उहाँले शीघ्र लासहरु ल्याउँछौं भन्नुभएको छ । मृतकका हकमा ।

उत्तरी इजरायलमा हिजबुल्लाह आक्रमणको डर छ लेबलानबाट । त्यो ठाउँबाट विद्यार्थीलाई तुलनात्मक रुपमा सुरक्षित स्थानमा राख्नुपर्‍यो । दक्षिणबाट हमासले आक्रमण गरिसकेको छ । त्यसलाई नियन्त्रण गर्न इजरायल सेना अगाडि बढिसेकेको छ । इजरायल क्षेत्रमा चाहिँ अवस्था नियन्त्रण भइसकेको अवस्था छ । त्यहाँ रहेका विद्यार्थीलाई पनि सुरक्षित स्थान तेलअभिभमा ल्याउने कुरा हाम्रो उच्च प्राथमिकतामा थियो । दक्षिणी क्षेत्रमा रहेका ५५ जनालाई चाहिँ खतरा रहेको क्षेत्रबाट सुरक्षित स्थानमा सारियो । ७२ जनालाई चाहिँ उत्तरबाट पनि उद्धार गरिसकेको छ ।

अब उनीहरुलाई नेपाल ल्याउन म भर्खरै एउटा उच्चस्तिरीय मिटिङबाट आएको छु । प्रधानमन्त्रीको संयोजनमै भएको बैठकबाट म आएको छु । आजै नेपाल एयरलाइन्सको फ्लाइटबाट विद्यार्थीलाई उद्धार गर्ने गरी काम गरिरहेको छ ।

विद्यार्थीलाई उद्धार गर्न बुधबार नेपाली जहाज तेलअभिभका लागि उड्छ भन्दै हुनुहुन्छ । जहाज उडाउने अनुमति पाउनुभयो ?

यो प्रक्रियाका लागि हामी पूर्ण रुपमा लागिरहेका छौं । हामीले कूटनीतिक च्यानलका लागि पनि एयर किल्लररेन्सका लागि परिचालन गरेका छौं । हाम्रो कुनै पनि जहान इजरायल सिधै जाँदैन । त्यो जहाजलाई कुनै न कुनै स्थानमा ‘स्क्रिनिङ’ गर्नुपर्ने हुन्छ । त्यसकारण हामी इजरायलका लागि आज उड्छौं । ‘स्क्रिनिङ’ गरेर दुई-चार घण्टाको समय लगाए पनि हामी पूर्ण प्रयासरत छौं । हामी इजरायल सरकारसँग पनि समन्वयमा छौं । अरु देशहरुसँग पनि हाम्रो राम्रो सम्बन्ध छ । उनीहरुले पनि हामीलाई सहयोग गर्न सक्छन् ।

शनिबार आक्रमण भयो । हामीसँगैका कम्बोडिया र थाइल्यान्डका नागरिकलाई सोमबारै उद्धार गरेर लागिसके । अरु मुलुकले एयरलिफ्ट गरिसके हामी के गर्दै छौं ?

केही देशहरुले त्यहाँ सिधै उडान भर्न सक्छन् । उनीहरुलाई आफ्ना नागरिक उद्धार गर्न सजिलो छ र गरिरहेका छन् । हामीले उद्धार लागि विकल्प खुला राखेर काम गरेका छौं । एउटा त हामीले आज बिहान निर्णय गरेर बिजनेस फ्लाइबाट भए पनि उद्धारको आवश्यक भएका नेपालीलाई तपाईंहरु पठाउनुहोस् भनेर इजरायल दूतावासलाई भनेका छौं । हामी लाग्ने खर्च ‘रिभर्स’ गर्छौं भनेका छौंं ।

दोस्रो हामीले नेपाल एयरलाइन्सलाई नै भनेका छौं कि- तपाईंहरु जसरी भए पनि आज साँझभित्र कागजी प्रक्रिया पनि चल्दै गर्छ, तपाईंहरुको फ्लाइट पनि सुरु गर्नू भनेर ।

उद्धारका लागि किन ढिलाइ भयो भन्ने छ नि ?

ढिलाइ हुनुका विभिन्न कारण छन् । त्यो अत्यन्तै संवेदनशील क्षेत्र छ । त्यहाँका बिजनेस फ्लाइटहरु घटिरहेका छन् ।

अहिले इजरायलमा ४५ सयभन्दा बढी नेपाली छन् । कति नेपाली नेपाल आउन चाहेका छन् ? सरकारले दिएको फाराममा कति जनाले नाम प्रविष्ट गरे ?

तीन सयले नेपाल फर्कने भनेर अनलाइनमा नाम दर्ता गराउनुभएको छ । विद्यार्थी २६५ थिए त्यसमा हामीले १० जना गुमाइसकेका छौं । उनीहरुमा देश फर्कने चाप बढी छ । चार हजार पाँच सय रोजगारीमा गएका मानिसहरु त्यहाँको वातावरणमा घुलेर होला अथवा रोजगारीका कारणले होला उनीहरुमा त्यो चाप कम छ । तर हामीले के भनेका छौं भने- विद्यार्थी वा नागरिक जो सुकै भए पनि हामी उद्धार गर्छौं ।

तपाईं विद्यार्थी राजनीतिबाट आएको व्यक्ति । २०४८ सालमा तपाईं नेपाल विद्यार्थी संघको नेतृत्वमा हुनुहन्थ्यो । तपाईं एकपटक राज्यमन्त्री दुईपटक मन्त्री बन्नुभयो । तपाईंसँगै प्रतिस्पर्धा गरेर आएका अन्य दलका विद्यार्थी नेता पनि कैयौंपटक सांसद्-मन्त्री भइसके । दुःख लाग्दैन अहिले मुलुकको यो हालत देख्दा ? श्रम गर्न युवा विदेश जानुपर्ने ? हामीले देशलाई के दिन सक्यौं भन्ने लाग्दैन ?

एउटा कुरा म के भन्न चाहन्छु भने यो श्रमलाई चाहिँ दुनियाँको बदलिँदो बजारको सन्दर्भमा पनि हेर्नुपर्छ । श्रमको विश्वव्यापी बजार छ । त्यहाँचाहिँ सीपयुक्त श्रमिकहरु जान्छन् र अधिकतम् मूल्य आर्जन गरेर आफ्नो श्रम बेच्नसक्नु उनीहरुको अधिकार र क्षमता दुवैको कुरा हो । रोजगारीको समस्या समाधान हुने कुरा मैले तीनवटा एङ्गलबाट देखेको छु । पहिलो कुरा- बजेट बनाउँदा वा योजना तर्जुमा गर्दा त्यसको आर्थिक पक्षको मूल्यांकन नगरी राजनीतिक ‘चोइस’का आधारमा कहिलेकाहीँ योजना छनोट भएका छन् । अर्बौं बजेट अनुत्पादन क्षेत्रमा खर्च भइरहेको छ । त्यस्ता रकम कृषि क्षेत्रमा लगानी गर्नुपर्छ । पर्यटनका क्षेत्रमा लगानी गर्नुपर्छ ।

तपाईं परराष्ट्रमन्त्री हुनुहुन्छ । अहिले कति नेपाली रोजगारीका लागि विदेशमा छन् भन्न सक्नुहुन्छ ?

धेरै ठूलो संख्यामा छन् । नेपालको जनसंख्याको १५ प्रतिशत विदेशमा छन् । ‘अनस्किल’ जनशक्तिचाहिँ ‘लेबर’का रुपमा धेरै संख्यामा बाहिर छन् ।

विदेशबाट दैनिक कति मानिसको लास विमानस्थलमा आउँछ नि ?

एक त दैनिक आउँछ । १५ प्रतिशत युवा बाहिर छन् उनीहरुको शव आउनु हाम्रा लागि चिन्ताको विषय हो ।

इजरायलको घटनाले सरकारको केही चेत खुलेको छ ? कानुनी अथवा गैरकानुनी रुपले कति नेपाली यस्ता युद्धको खतरा रहेको क्षेत्रमा पुगेका छन् ?

सरकार यसबारे संवेदशील छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement