फायरसाइडमा भोजराज पोख्रेल : दलको प्रवृत्ति फेरिएन, नेता फेरिएनन्

वैशाख ११, २०८०
फायरसाइडमा भोजराज पोख्रेल : दलको प्रवृत्ति फेरिएन, नेता फेरिएनन्

काठमाडौं । आज बैशाख ११ गते लोकतन्त्र दिवसका दिन अर्को पनि सन्दर्भ परेको छ, चितवन र तनहुाको उपचुनावमा देखिएको पुराना दलप्रति विकर्षणले नेताहरुमा चिन्ता छाएको छ । राजनीतिक दलहरु कहाानेर चुके ? लोकतन्त्र स्थापनापछि के गरिनुपर्थ्यो, के हुन सकेन ? अब सच्चिनका लागि दलका नेताहरु के गर्नुपर्छ ?

यी र यस्तै प्रश्नले नेता-कार्यकर्ताको मथिंगल रिंग्याइरहेका बेला आज हामीले कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा नागरिक समाजका अगुवा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई निम्त्याएका छौं ।

प्रस्तुत छ, पोखरेलसाग कान्तिपुरकर्मी पवन आचार्यले गरेको विस्तृत कुराकानीको अंश-

दोस्रो जनआन्दोलनपछि, २०६२–६३ मुलुकमा लोकतन्त्र बहाली भएको डेढ दशक भन्दा बढी समय व्यतित भएको छ । तैपनि लोकतन्त्रले मुलुकलाई स्थायित्वमा लैजाने चाहनाले मूर्तरुप लिएको छैन । हामी कस्तो भविष्यतर्फ उन्मुख भएको देख्नुहुन्छ ?

यहाँले भनिएको छ भन्नुभयो । यहाँ त देखिएकै छ । तर दुइटै पाटो छ हामीसँग आशा र आत्तिनुपर्ने दुइटै पाटो छ हामीसँग । पहिला आशाको कुरा गरौं- हाम्रो समाजमा के देखिरहेको छु भने लोकतन्त्र भनौं या प्रजातन्त्र यो जनताको नसा-नसामा छ । भिजिएको छ । ग्रासरुस डेमोक्रेसी यति बलियो छ, हामीले केही कुरा नगरे पनि चिया पसलमा जानुस्, चौतारीमा जानुस् जहाँ पनि राजनीतिको कुरा हुन्छ । त्यसले कति सकारात्मकतिर लग्यो लगेन अर्को पाटो हो । अर्को, हामी नेपाली अरु कुरामा कमजोर भए पनि स्वतन्त्रताको हामी प्रेमी रहेछौं । यसलाई निर्वाचन प्रक्रियामै हेर्नुस् न । जस्तोसुकै भए पनि, जतिसुकै गाली गरे पनि सहभागिता कति राम्रो छ । लोकतन्त्रका आधारभूत स्तम्भहरु हामीले बनाएका छौं ।

लोकतन्त्रलाई हेर्दा आशाको ग्राफ राम्रो छ कि निराशाको ?

जुन किसिमको नैराश्यता अहिले व्याप्त छ । त्यसलाई हेर्दा निराशाको ग्राफले उछिन्न लाग्यो कि भनेर डराउनुपर्ने अवस्था छ । तर अघि मैले सुरु गरेका कुरा जुन लोकतन्त्रका आधारभूत स्तम्भहरु, संस्थाहरु हामीले बनायौं । ती स्तम्भ, ती आधारशीलाहरुलाई आमनागरिकको जुन प्रतिबद्धता छ त्यसलाई हेर्दा निराशाका पाटाहरुलाई केही व्यवहारजन्य कारणले गर्दा यो ग्राफ माथि गइरहेको छ । त्यो व्यवहारलाई परिवर्तन गर्नसक्ने अवस्था हामीले बनाउन सक्यौं भने त्यो ग्राफलाई अर्को ग्राफले पोजेटिभ ग्राफ माथि जान केही पनि समय लाग्दैन ।

२०६३ साल वैशाख ११ गते हामीले लोकतन्त्र अनुभूत गर्‍यौं । त्यतिखेर जुन चाहना प्रकट भएको थियो- त्यो चाहना अहिले पनि पूरा भएन । समस्या कहाँनेर हो ?

मुलुकको रुपान्तरणको प्रक्रियालाई हेर्दा हामीसँग केही बेन्चमार्क छ । २०४६ यताको एउटा बेन्चमार्क होला । अर्को ६२/६३ को अर्को आधार बन्छ होला । अर्को संविधान ल्याएपछिको आधार बस्छ होला । तसर्थ हाम्रा विभिन्न प्वाइन्टहरु छन् । जसबाट हामी क्रस कम्पेरिजनको कुरा गर्न सक्छौं । समष्टिगत रुपमा यदि हामीले ४६ सालको परिवर्तनपछिको अवस्थालाई हेर्ने हो भने केही कुरा हामीले प्राप्त गरेका छौं । मैले भन्न खोजेको आर्थिक सूचकांक हेर्नुभयो भने सकारात्मक दिशातर्फ नै छ । मुलुकको अत्यन्त द्वन्द्वको अवस्थामा समेत नेगेटिभमा हामी गएनौं त । बरु सकारात्मक छ । अरु सामाजिक सूचकांकहरु हेरौं, शिक्षाको हेरौं अथवा स्वास्थ्यको हेरौं यी सूचांकहरु सकारात्मकतर्फ नै गइरहेका छन् ।

यी सबै सूचकांकहरुलाई माथ दिँदै भ्रष्टाचारको सूचकांक पनि बढिरहेका छन् त ?

हो त्यही कुरामा म आउँदै छु । सबैभन्दा हामी कहाँ चुकेका छौं भने हरेक आन्दोलनको पछाडिको एउटा प्रमुख तत्त्व कहाँनेर देखिरहेको छु भन्दा- भइरहेको विद्यमान सत्ताले न्याय गर्न सकेन । मुलुकमा रुल अफ ल भएन । सुशासन भएन । सुशासन भन्नेबित्तिकै हामीले उत्तरदायित्वका कुरा, भ्रष्टाचारका कुराहरु आइहाल्छ । त्यो कुरा भएन ।

व्यवस्था फेरियो तर जनताको अवस्था फेरिएन भन्ने कुराले कहीँ कतै लोकतन्त्रमाथि प्रहार हुन्छ कि भनेर संशय प्रकट गर्नेहरु पनि त छन् नि ?

त्यो स्वभाविक नै हो । किनभने परिवर्तन कहाँ खोज्ने हो भन्दाखेरि हिजोको जुन प्रवृत्ति भयो । हिजोको जुन प्रवृत्ति थियो- शासकले आफूलाई मात्र देख्ने । आम नागरिकलाई नदेख्ने आफू र आफ्नालाई बलियो बनाउनुपर्ने, आमनागरिकको वास्ता नहुने । मुलुकमा जेजस्तो केक छ वितरण गर्नुपर्ने, त्यो केकको भाग आफूलाई अथवा दलका, अथवा नजिकका अथवा बलियाका लागि बढ्ता पार्नुपर्ने अरुलाई नपुगे पनि हुने प्रवृत्ति छ । यी कुराहरुसँग असहमति हो ।

अर्थात् हामी चुकेको कहाँ छौं भन्दा सुशासनमा हामी चुकिरहेका छौं । त्यो सुशासनमा चुक्दा के भयो भने- नेताहरुलाई सँगै भएका बेला पनि भन्छु । तपाईंमार्फत पनि म भन्छु । सुशासन भनेको यस्तो विषय हो जसले ठूलो लगानी खोज्दैन । हामीलाई कुनै अन्तर्राष्ट्रिय दाता चाहिँदैन । यो त मानसिकतामा प्रवृत्तिमा, हाम्रा काम-कारबाहीमा, हाम्रा व्यवहारमा, हाम्रो बोलीमा परिवर्तन हामीले गर्न सक्यौं भने यो आफैं बेस बनाएर जान्छ ।

भनेपछि... हामीले राजनीतिक उपलब्धिको, राजनीतिक परिवर्तनको गीत मात्र गाइरह्यौं तर सुशासनतर्फ हामीले ध्यान दिएनौं हैन ?

जुन हिसाबमा सुशासनलाई प्राथमिकतामा पारेर हामी जानुपर्ने थियो । त्यो हुन सकेन । हिजोकोले राम्रो गरेन शासन, अब राम्रो गर्नेलाई ल्याएर आउनु भन्छ । मान्छे दिक्क भइरहेको छ । परिवर्तनका लागि सबै तयार छ । किनभने त्यो शासन व्यवस्थाबाट असहमति उत्पन्न भएको छ । त्यो असहमतिमा नागरिक जुरुक्क उठ्छ । यो फालौं भन्छ, फाल्छ । किन फाल्छ भन्दा उसले त्यो गल्ती दोहोर्‍याउँदैन भनेर त्यसलाई परिवर्तन गर्न जनताले साथ दिन्छ । तर, आइसकेपछि त्यही कुराहरु दोहोर्‍याइरहेको छ । के भयो भने- हिजोकोले गरेको फोहोरहरु, गलत अभ्यासहरुलाई म सफा गर्छु भनेर आउने त्यो पात्र भइदियो भने, त्यो प्रवृत्ति भइदियो भने पो जनताले परिवर्तन देख्छ ।

अहिलेको परिस्थितिलाई समष्टिगत रुपमा हेर्ने हो भने यसले हाम्रो लोकतन्त्रलाई बलियो बनाउने दिशातिर गइरहेका छौं कि कमजोर बनाउनेतिर छ ?

हामीले जुन संवैधानिक कानुनी संरचनाहरु निर्माण गरेका छौं । त्यसका लागि चाहिने आधारशीलाहरु हामीले तयार गरेका छौं । हामीसँग छन् संस्थाहरु । तिनले काम किन गरेनन् अथवा गर्न दिइएन अथवा गर्न पाएनन् । जुन हामीले लोकतन्त्र ल्यायौं त्यसको मुटु भनेको त राजनीतिक दलहरु पनि हो त ।

राजनीतिक दलहरु सुध्रिन्छन् भन्ने हाम्रो चाहना थियो । राजनीतिक दलहरुको प्रवृत्ति त चेन्ज भएन । नेतृत्वको परिवर्तन चेन्ज भएन । प्रवृत्ति त त्यही नै छ । त्यहाँ हाम्रो असहमति छ । परिवर्तन गर्न चाहँदा सकिन्छ नि । हुनसक्छ । त्यसले एउटा सकारात्मक बाटो लिन सक्छ । तर चाहिएन, गर्न चाहिएन र जसले गर्न खोज्छ उसलाई गर्न दिइएन । त्यहाँभित्रको सकस त हामीले दिएका छौं नि ।

तपाईंले त विभिन्न लेखहरुमार्फत के भन्ने गर्नुभएको छ कि प्रजातान्त्रिक प्रणालीमा त समस्या होइन । समस्या त त्यो प्रणाली चलाउने व्यक्तिमा छ भन्नुभएको थियो । यो विचारमा तपाईं अहिले पनि अडिग हुनुहुन्छ ?

म स्थिर छु । मैले देखेकै समस्या प्रणालीमा होइन । पात्र र पात्रको प्रवृत्तिमा हो नि समस्या । जुन हामीले अहिलेको व्यवस्था लिएर आएका छौं । संसारको अभ्यासले के देखायो भने प्रजातन्त्रको विकल्प, प्रजातन्त्र नै हो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, सुधारिएको लोकतन्त्र हो । हाम्रा लागि अहिलेको अवस्थामा कहाँ सुधार चाहियो भने पात्रहरुको प्रवृत्तिमा, पात्रहरुको सोचाइमा रुपान्तरणको कुराहरु नहुँदा कति किसिमका नैराश्यताहरु भएका छन् ।

व्यवस्थालाई जसले खेलायो । व्यवस्थाका अगुवाहरु जो थिए, अथवा म पनि हुँला । कुनै बेला यो मुलुकको जिम्मेवार पोजिसनमा बसेको नाताले, सार्वजनिक पदमा बसेको नाताले मेरो हिस्सामा पनि केही जान्छ होला । आफ्नो हिस्सामा गएको गल्तीलाई सबैले मेरो गल्ती भो भनेर स्वीकार गर्नुपर्‍यो नि त । स्वीकार कोही नगर्ने, मैले जे गरेको छु त्यही ठीक भन्ने ।

२०६४ सालमा संविधानसभाको निर्वाचन गराउनेबेलामा तपाईं प्रमुख निर्वाचन आयुक्त हुनुहुन्थ्यो । कठिन समयमा पनि चुनाव सम्पन्न गराउनुभयो । हामीले रोजेको बाटो नै कहीँ गलत थियो कि ? कठिन हुँदाहुँदै पनि हामी लक्ष्यमा पुग्न सक्छौं कि भनेर हामीले जुनखालको आशा पालेका थियौं त्यो पो गलत थियो भन्ने लाग्दैन यहाँलाई ?

सकारात्मक आशा त राख्न पाइयो नि त । त्यो राख्ने भने त प्रगतिको बाटोमै नि पुगिँदैन । असहमतिले नै एक किसिमको वातावरण बनाउने हो नि । त्यतिखेरको एजेन्डा भनेको त मुलुक द्वन्द्वमा छ । द्वन्द्वमा गइरह्यो भने यो मुलुक झन् उक्सिनै नसक्ने अवस्थामा पुग्छ । त्यसैले द्वन्द्व व्यवस्थापन यो मुलुकको प्रथम प्राथमिकता हो ।

द्वन्द्व व्यवस्थापन गर्ने क्रममा त्यसको कारक तत्त्व के छ त भन्दाखेरि आर्थिक होला, सामाजिक होला, राजनीतिक होला र एउटा प्रमुख तत्त्व भनेको के थियो भने- राज्य सञ्चालनमा सबैको सहभागिता हुन सकेन । यो मुलुकको विविधता रिफ्लेक्स हुन सकेन । केही सानो समूह, वर्ग, लिंगले नै सधैं नै सञ्चालन गर्‍यो । हाम्रो पनि सबैको सहभागिता हुनुपर्‍यो जसले मुलुकलाई इन्टिग्रेसन गर्न मद्दत गर्छ । किनभने नेपाल राज्य कतिपय अवस्थामा इन्टिग्रेसन अझै पनि हुन सकिरहेको छैन ।

द्वन्द्व व्यवस्थापन त भयो तर संविधानसभाबाट संविधान जारी भइसकेपछि यो मुलुकमा कायापलट हुन्छ भनेर जसरी नेताहरुले, तपाईंले भनेजसरी ती पात्रहरुले प्रवृत्ति परिवर्तन नगरीकन सपना देखाउने काम गरे त्यो गलत थियो भन्ने लाग्छ/लाग्दैन ?

मैले आफूले पनि लेखेको छु किताबहरुमा । मेरो मान्यता के थियो भने- यो द्वन्द्वलाई व्यवस्थापन गर्न सकियो भने सबै मिलेर संविधानसभाबाट एउटा संविधान आउँछ । त्यो संविधानले कम से कम अस्थिर राजनीतिलाई एउटा स्थिरतामा लैजान्छ । त्यो स्थिरताको राजनीतिकले समृद्धिको वातावरण बनाउँछ । एउटा हाइवे बनाउँछ । त्यो हाइवेमा मुलुक हिँड्छ ।

जनताको विकास र समृद्धिको यात्रालाई यसले लैजान्छ भन्ने मान्यता राखे मैले । किनभने हिजोको पाठ सिकेर अबको नेतृत्वले हिजोको गल्तो दोहोर्‍याउँदैन है भन्ने मान्यता हो । तर मेरो मान्यता गलत भयो । अहिले पनि भन्छु किनभने हामीले सिस्टम परिवर्तन गर्‍यौं, व्यक्ति परिवर्तन गर्‍यौं । पात्र मात्र परिवर्तन गरेर पनि हुँदो रहेन छ । प्रवृत्ति परिवर्तन भएन । हिजोको गलत अभ्यासलाई म अब दोहोरिन दिन्न भन्ने किसिमको लिडससिप मुलुकले पाएन । उसले हिजोकाले गरेको गल्तीहरु उसका लागि स्ट्यान्डर्ड भयो । उसले गर्न हुने, हामीले गर्न किन नहुने भन्छ ।

लोकतन्त्रको जहाज जुन हाम्रा पाइलटहरुले उडाएका थिए नि, दिशा सही थियो भन्ने लाग्छ कि उनीहरुसँग उडाउने ल्याकत नै थिएन भन्ने लाग्छ ?

हाम्रो गन्तव्य कहाँ थियो भने उन्नत लोकतन्त्र, त्यो उन्नत लोकतन्त्रले समृद्धिको बाटो लैजाने मुलुकको स्थिरता शान्तिको बाटोबाट हुन्छ । असल शासन भएर सबै नेपालीले हामी नेपाली भनेर गौरव गर्न सक्छ भन्ने गन्तव्यमा हामी उड्यौं । तर त्यो जाँदाजाँदै जसले ड्राइभ गर्ने हो त्यो पाइलटले या त्यो गन्तव्य देख्दै देख्दैन । या त गलत गन्तव्यतिर लगिदियो जहाज । समस्या त यो भयो नि । गन्तव्य गलत थिएन ।