फायरसाइडमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल : हार्दा ‘एक्सपोज’ गर्न खोज्छन्, जित्दा मान्छेले बिर्सन्छन्

चैत्र ६, २०७९
फायरसाइडमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल : हार्दा ‘एक्सपोज’ गर्न खोज्छन्, जित्दा मान्छेले बिर्सन्छन्
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खेलाडीहरुको हितका लागि क्यानसँग संघर्ष गरेका थिए । यही कारण उनलाई विद्रोही खेलाडीका रुपमा लिनेहरु पनि धेरै छन् । तर, ज्ञानेन्द्र मल्लका पालामा अग्रजहरुले गरेको संघर्षकै प्रतिफल अहिले क्रिकेटको नेपाली गौरबका रुपमा प्रकट भएको छ ।

विश्व क्रिकेट लिग २ मा नेपालले लगातार सफलता हात पार्यो । नेपाल अब विश्वकप छनोटमा परेको छ । तर, विश्वकपमा अहिलेको मिहेनतले नपुग्ने र अझै मिहेनत गर्नुपर्ने पूर्वकप्तान मल्ल बताउँछन् ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा प्रस्तोता पवन आचार्यले विगतमा क्रिकेट खेलाडी र संघवीच हुने गरेको विवाद, गुटबन्दी र खेलाडीमाथि उठ्ने प्रश्नहरुको प्रशंग कोट्याउँदा पूर्वकप्तान ज्ञानेन्द्रले रोचक जवाफ दिए । उनले भने, ‘गुट–उपगुटको कुरा चाहिँ हार्दा सबै कुरा ‘एक्सपोज’ गर्न खोज्छन् । जित्दा मान्छेले बिर्सन्छन् । 

प्रस्तुत छ, फयरसाइडमा पूर्वकप्तान मल्लसँग गरिएको कुराकानीको सम्पादित अंश–

 विश्व क्रिकेट लिग २ मा २४ खेलमा नेपालको ८ जित मात्र थियो । तर, एक महिनामा नेपालले १२ मध्ये ११ खेल जित्यो । यो चामत्कारिक नतिजाका लागि प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेल परिवर्तन हुनु संयोग मात्र हो या देखिने गरी नै केही परिवर्तन भएको छ ?

– सुरुमा सीडब्ल्यूसी साइकलमा नै धेरै उतारचढाव आयो । पछिल्ला १२ वटा म्याच हामीले जसरी खेल्यौं, त्यसको सानो सानो कुराको फ्याक्टरले गर्दा हो जस्तो लाग्छ । नराम्रो जति पहिल्यै भइसकेको जस्तो लाग्छ । त्यसपछि मोन्टी देशाई सर आउनु पनि हाम्रा लागि सकारात्मक पक्ष हो । त्यसपछि रोहित कप्तान हुनु सबै राम्रो हुँदै जानु, सानो सानो कुरा जुट्दै जानु र हाम्रो यत्रो वर्षदेखिको मिहेनत जुन थियो, त्यो हामीले पायौं जस्तो लाग्छ ।

 १२ वटा म्याच मोन्टी सरसँग बसेर सुरु गर्दा सबै जनामा के विश्वास थियो भने– हामी सक्छौं । १२ वटालाई १२ वटा नलिएर ‘वान एट अ टाइम’ को हिसाबले लिएर जाऔं, ‘वान फाइनल’ गर्दै १२ वटा फाइनल खेलौं भन्ने हिसाबले गर्दै गयौं । मलाई लाग्छ सबै जनाको लगनशीलता, स–सानो ‘इफोर्ट’ सबै कुराको निचोडचाहिँ अर्थात् फल पायौं जस्तो लाग्छ ।

 लिगमा पनि अन्तिम खेलचाहिँ निर्णायक थियो । विश्वकप ग्लोबल छनोटमा खेल्ने किन नखेल्ने भन्ने थियो । अन्तिम साथै निर्णायक खेल खेल्दाको दबाब कस्तो हुन्छ ?

– सबै जना एमदमै ‘क्लाम’ थिए । हाम्रो नारा पनि ‘ह्याप्पी डे«सिङ रुम, क्लाम डग आउट’ भन्ने नै थियो । हामीले जे सक्छ, त्यो गर्ने हो । रिजल्टभन्दा पनि हामीले ग्राउन्डमा १०० प्रतिशत दिने हो भन्ने कुरा थियो । अलिअलि दबाब त हुन्छ । यो खेल जित्यो भने हामी छनोटमा जान्छौं, ओडीआई त अघिल्लो खेलमा पायौं । सबै जनामा हामी जित्छौं भन्ने विश्वासचाहिँ थियो ।

हामीले एक दिवसीय क्रिकेट खेल्ने सपना देखेको धेरै वर्ष भयो । अहिले चाहिँ वास्तविकताको नजिक छौं भन्दा सही हुन्छ ?

– ‘क्वालिफाई’मा पुग्यौं । त्यहाँबाट पनि अझ मिहेनत गर्नुपर्ने छ । यत्तिको मिहेनतले पनि पुग्छ जस्तो लाग्दैन । यो भन्दा अझ धेरै मिहेनत गर्न जरुरी छ । अझ हाम्रा साना साना कमी कमजोरीहरुलाई सच्चाउँदै जानुपर्ने हुन्छ ।

मैदानभित्रको कि बाहिरको कमिकमजोरी ?

– दुवै । भित्रका लागि बाहिरकाले पनि क्षतिपूर्ति गर्न जरुरी छ । बाहिरका तथ्यहरु, जस्तो भनौं न क्यालिफायर्सभन्दा पहिले बलियो टिमसँग सिरिज खेल्न पाउने हो र अझै अभ्यस्त हुने हो भने नतिजा अझ राम्रो आउँछ भन्ने हो । व्यवस्थापनतर्फबाट पनि सहयोग हुन्छ होला । कहिलेकाहीँ खेल जित्दा कमजोरीहरु देखिएको हुँदैन, हार्दा सबै कुरा देखिरहेको हुन्छ । तर हरेक खेलमा कसरी, कति प्रतिशतले खेल सुधार्दै जाने भन्ने हुन्छ ।

 पहिला नेपाली क्रिकेट लयमा थिएन, अहिले छ किनभने नतिजाले पनि त्यही देखाइरहेको छ । केसहरु पनि परेको थियो, टिमभित्र गुट–उपगुट छन् भन्ने कुरा पनि आइरहेको थियो । अहिले एकाएक कसरी परिवर्तन आयो ?

– सुरुमा त मान्छेले हेर्ने नजर नै परिवर्तन गरे जस्तो लाग्छ । सबैको लागि अब हामी जानु कतै छैन, जसरी पनि ओडीआई मान्यता जोगाउनु छ । सबैको दिमाखमा यही प¥यो । भनेपछि जे जस्तो कमिकमजोरी भए पनि अब गएर जित्नु छ भन्ने सोच परे जस्तो लाग्छ ।

गुट–उपगुटको कुरा चाहिँ हार्दा सबै कुरा ‘एक्सपोज’ गर्न खोज्छन् । जित्दा मान्छेले बिर्सन्छन् । त्यो केहीले पनि थिएन । मैले भन्दै आएको पनि हो । सबैले नै भन्दै आएको पनि हो । सबैको हेर्ने नजर फरक हुन्छ । त्यसबेला त्यो कुरा नराम्रो गरी उठाइएको जस्तो लाग्छ ।

 हाम्रो खेलको स्तर बढ्दै गएको हो ? घरभित्रको संरचना, उमेर समूह, महिला क्रिकेट वा पुरूष क्रिकेटमा हामीले प्रगति किन गर्न सकेनौं होला, तपाईँ कप्तान पनि रहिसक्नुभएको छ, तपाईको अनुभवले के भन्छ ?

– हामी चन्द्रमामा पुग्ने सोचिरहेका छौंं भने पहिला रकेट त बनाउनु प¥यो नि । रकेट नबनाउने तर चन्द्रमामा मात्र जान्छौं भनेर त भएन नि त । यो भन्दै गर्दा हामी टेस्ट स्टाटसमा जाने, वान डेलाई निरन्तरता दिने भनिरहेको अवस्थामा त्यो किसिमको गृहकार्य भएको छ कि छैन ? जस्तो – टेस्ट स्टाटसका लागि घरेलु संरचनामा ‘फस्ट क्लास क्रिकेट’को कुरा छ, ‘डे क्रिकेट’को कुरा छ, जुन हामीले सुरुवात नै गरिरहेका छैनौं । त्यो सुरुवात हुन जरुरी छ जस्तो लाग्छ । तल्लो तहदेखि नै आउनुपर्छ । स्कुल क्रिकेट त्यति नभएको अवस्था छ । सबै उमेर समूहको सिजन लिग हुनुपर्छ, जसले खेलाडी आबद्ध हुने वातावरण हुन्छ । अबको पाँच–दश वर्षमा हामी जे सोचेका छौं, त्यसको लागि जग बन्छ ।

 ग्लोबल क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज, जस्ता टिम आउँछन् । उनीहरुसँग खेल्न हामी कत्तिको तयार छौं ? कि टेस्ट नेसन भन्ने वित्तिकै हामी आफूलाई ‘अन्डरगड’ महसुस गर्छाैं ?

– सबै केटाहरु खेल्दा हामी छनोट भयौं भने यो खेलाडीसँग खेल्न पाइन्छ, यसको बलिङ सामान गर्नुपर्छ, यसको बलिङ गर्नुपर्छ भनेर हामी कुरा गरिरहेकै हुन्छौं । सबै केटाहरु मानसिकरुपमा तयार नै छन् । तर, पनि यो हाम्रो लागि अवसर हो । अहिले जसरी हाम्रो टिम बनिरहेको छ, कोचको सोच छ, जुन किसिमले खेलाडी आइरहेका छन् हामीचाहिँ सक्छौं जस्तो लाग्छ ।

 खेलाडीको हक हितका लागि बोल्दा क्यानसँग तपाईंको टकराव नै भयो । तपाईंले कप्तान पदबाट पनि हात धुनुपर्ने अवस्था आयो । अहिलेको अवस्था के हो ? क्यान र खेलाडीबीच अब कुनै खाले समस्या छैन ?

– एउटै परिवारमा त भइहाल्छ । परिवारमा यस्तो भइरहन्छ । कहिले कसलाई के चित्त बुझ्दैन । सबै कुराको समाधान कुराबाट नै आउने हो । बसेर कुरा गरेर नै आउने हो । कहिले काहीँ कुरा नहुँदा ‘मिसअन्डरस्टान्डिङ’ बढ्ने हो । एकअर्काप्रति शंका पनि भएको हुन सक्छ । अहिले यो अवस्था छैन जस्तो लाग्छ । सबै जना यो सबै कुरा बिर्सिएर नै अगाडि बढ्दा राम्रो हुने रहेछ भनेर अगाडि बढे जस्तो लाग्छ ।

 तपाईंलाई धेरैले विद्रोही खेलाडीको रुपमा चिन्छन् वा तपाईँको त्यस्तो इमेज बनाइएको छ । खेलाडीहरुको हक र हितका लागि तपाईं जहिले पनि फ्रन्ट फुटमै आउनुहुन्छ । ईपीएल खेल्नु भएन, डीपीएल बीचमै छाड्नुभयो । क्यानविरुद्ध वक्तव्यबाजी गर्नुभयो । यी सब विद्रोह खास केका लागि ?

– जहिले पनि क्रिकेटको राम्रोका लागि बोल्दा कसैले विद्रोहको ‘ट्याग’ लगाउँछ भने मलाई त्यसमा भन्नु केही पनि छैन । कति कुरामा जोड्दै गर्दा जस्तो खेलाडीको कुरामा यो पुग्नुपर्छ, हुनुपर्छ भन्ने कुरा सरोकरावालासँग कुरा गरेर अगाडि बढाउनुपर्छ जस्तो लागेर कुरा अगाडि राखेको हो । मलाई के लाग्थ्यो भने मलाई घर जानुपर्छ भने मलाई बाटो चाहिन्छ । म बाटो बनाउँदै छु अब त्यहाँ कसैले आएर साइकल रोक्छ, कसैले फोहोर गर्छ भने मेरो कन्ट्रोलको कुरा होइन ।