एमालेले एक्लै बहुमत ल्याउँछ, प्रचण्ड र माधवसँग सहकार्य हुँदैन : ओली (अन्तर्वार्ता)

कार्तिक २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
एमालेले एक्लै बहुमत ल्याउँछ, प्रचण्ड र माधवसँग सहकार्य हुँदैन : ओली (अन्तर्वार्ता)

मंसिर ४ को आम निर्वाचनपछि देशको राजनीतिक शक्ति सन्तुलन कस्तो बन्ला भन्ने टुंगो छैन । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले आ–आफ्नो दलले एकल बहुमत ल्याउने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने माओवादी पार्टी ‘निर्णायक तेस्रो शक्ति’ बन्ने दाबी गरेका छन् । यसको अर्थ, माओवादीको समर्थनविना कांग्रेस वा एमाले कसैको पनि बहुमत नपुगोस् भन्ने प्रचण्डले संकेत गरेको बुझ्न सकिन्छ ।

कान्तिपुर टेलिभिजनले निर्वाचनको संघारमा प्रमुख राजनीतिक दलका नेताहरूसँग चुनावपछिको राजनीतिक परिदृश्यबारे बेग्लाबेग्लै अन्तरसंवाद गरेको छ । प्रमुख दलहरूको रणनीति र राजनीतिक पोजिसन थाहा पाउन कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम फायर साइडमा नेताहरूसँग गरिएको कुराकानीले सहयोग पुर्याउने ठानेर यहाँ ती सबै अन्तर्वार्ताहरूको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

सुरुमा हामीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थियौं । कान्तिपुर टेलिभिजनका लागि पवन आचार्यसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले चुनावपछि एमालेको एकल बहुमत आउने दाबी गरेका छन् । १५० सिट जित्ने दाबी गरेका ओलीले चुनावपछि पनि प्रचण्ड र माधव नेपालसँग कुनै सहकार्य नहुने बताएका छन् ।

तपाईंहरूको चुनावी तयारी कस्तो हुँदै छ ?

ठीकै छ । हामी प्रत्यक्ष रूपमा जनता माझ गइरहेका छौं । विभिन्न माध्यमबाट जनतामा गएका छौं । जनताबाट ‘रेस्पोन्स’ राम्रो आइरहेको छ । हाम्रो नीतिका कारण हामीप्रति जनताको असाधारण आकर्षण छ । हामीले नीतिलाई नीति मात्र बनाएका छैनौं, कार्यान्वयन पनि गरेका छौं । हामी विगतमा सरकारमा रहेकाले पनि जनतामा आकर्षण छ । देशको समस्या समाधान गर्ने, राष्ट्रियता र लोकतन्त्रको रक्षा, जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन, भौतिक पूर्वाधार निर्माण गर्नेलगायत कुरामा हामीले सबै तह र तप्काका जनतालाई समेटेका छौं । यसबाट जनता एकदमै प्रभावित छन् । यही कारण हाम्रो पक्षमा लहर सिर्जना भएको छ ।

२०७४ को निर्वाचनमा तपाईंको भाषणमा ओज आउँथ्यो, यसपालि आएन भन्ने कुरा तपाईंकै दलका नेताहरूले भन्दै आएका छन् नि ? तपाईंलाई के लाग्छ ?

मलाई त्यस्तो लाग्दैन । किनभने, त्यसबेला मैले एउटा सकारात्मक परिस्थिति निर्माण गर्ने प्रयास गरेको थिएँ । एक तहमा निर्माण पनि भयो । त्यहाँ घात–प्रतिघातको कुरा पनि थियो, अहिले त्यो अवस्था छैन । अहिले एजेन्डा खोज्नुपर्ने अवस्था छैन । जनता माझ के एजेन्डा लिएर जाने होला भनेर सोच्नुपर्ने अवस्था छैन । अरू दलका लागि भने समस्या छन् । जनतामाझ जाँदा के भन्ने होला भन्ने छ । उनीहरूलाई जनतालाई कसरी ढाँट्ने, कसरी अल्मल्याउने भन्ने चिन्ता छ । हामीलाई कसरी यी तत्त्वहरूसँग जनतालाई जोगाउने भन्ने चिन्ता छ । जनतालाई सचेत गराएर राष्ट्रियता, लोकतन्त्र, संविधान, अग्रगमन, शान्ति–सुव्यवस्था, स्थिरता, भ्रष्टाचारको विरोध र विकासको पक्षमा कसरी बढाउने भन्ने कुरामा हामीलाई चिन्ता छ । हामीलाई यो देश कसरी बनाउने भन्ने कुरामा चिन्ता छ । जनता नजागी र सक्रिय नभई देश बन्दैन । सुखद र सुन्दर भविष्य लिएर हामी जनतामाझ जान्छौं । त्यसकारण हामीलाई समस्या छैन । हामी पहिलाको भन्दा बढी उत्साहित छौं ।

हामीलाई डेढ–दुई वर्षअगाडि सम्पूर्ण रूपमा सिध्याउन खोजियो । अनेक अनुचित हतकण्डा प्रयोग गरेर सिध्याउन खोजियो । त्यसलाई पार गरेर हामी आज अनुकूल अवस्थामा छौं । २०७४ भन्दा बढी अनुकूलता अहिले छ । २०७४ मा हामीसँग २०५१ सालमा मनमोहनको नेतृत्वले गरेको केही काम, संविधान निर्माणमा हाम्रो पार्टीले खेलेको भूमिका र म पहिलोपटक प्रधानमन्त्री बन्दा खेलेको नेतृत्वदायी भूमिका मात्र लिएर जनतामाझ जान सक्थ्यौं । अहिले त हामीसँग धेरै विषय छन् । हामीले गरेका कामहरू छन् । जानतामाझ जान कत्ति हो कत्ति विषयहरू छन् ।

पहिला तपाईंका सहयात्रीहरू धेरै थिए । अहिले एमालेमा ‘टावरिङ पर्सनालिटी’ तपाईं मात्र हुनुहुन्छ । सहयात्रीलाई सम्झनुहुँदैन ?

‘टावरिङ पर्सनालिटी’ र सहयात्री हुनु फरक कुरा हो । सहयात्रीहरू नीतिमा चल्नुभएको थिएन । उहाँहरू स्वार्थबाट चल्नुभएको थियो । यो कुरा पछि प्रमाणित भयो । अहिले छर्लंग छ । म कसैको बुँतामा राजनीति गर्ने मान्छे होइन । अरू पार्टीमा नेकपा एमालेमा जस्तो भर्भराउँदा नेताहरूको पंक्ति छैन । अरू पार्टीमा यस्ता नेताहरू देखिन थाले भने पार्टीभित्र रहँदैनन्, उनीहरूलाई किनार लगाइन्छ । अरू पार्टीहरूले अलिकति प्रतिभाशाली र भोलिको सम्भावना बोकेको नेतृत्व किनारा लगाएको छ ।

एक्लै प्लेन उडाउन सजिलो भइरहेको छ ?

अवश्य । सही कुरा गर्नुभयो ।

दार्चुलाबाट चुनावी अभियान सुरु गर्नुमा कुनै अरू महत्त्व पनि छ कि चुच्चे नक्सा जारी गरेको जस मात्र लिनु छ ?

अभियान सुरु कहीँबाट त गर्नु नै थियो । पूर्वबाट हामीले धेरैपटक अभियान सुरु गर्‍यौं । पहिलेका अभियान धेरै पूर्वबाट सुरु गरियो । धेरै अभियान पूर्वबाट सुरु भएका छन् । सधैं पूर्वबाट सुरु गर्नुपर्छ भन्ने त छैन नि भनेर यसपालि मैले पश्चिमबाट अभियान सुरु गरेँ । अभियान कि होचो, कि अग्लो भूभागबाट गर्नुपर्थ्यो । उकालोबाट ओरालो झर्न सहज हुने भएकाले दार्चुलाबाट सुरु भयो । गुमेको भूभाग समेटेर नक्सा प्रकाशन गरेर, भूभाग फिर्ता गर्न कूटनीतिक प्रयास र पत्राचार गर्‍यौं । प्रकाशित प्रशासनिक राजनीतिक नक्सालाई संविधानले चिन्ने बनायौं । संविधान संशोधन गरेर हामीले चुच्चे नक्सालाई संविधानको अंग भन्यौं । नेपालकै इतिहासमा सर्वसम्मत संविधान संशोधन भएको विषय नै यही हो । गुमेको भूभाग फिर्ता गरेर ऐतिहासिक काम गरेका छौं । तपाईंले जस्तो अरूले सम्झना गरे भने अन्यथा मान्नुपर्दैन ।

सूर्य पूर्वबाट उदाउँछ, तपाईं पश्चिम लाग्नुभयो नि ?

दार्चुलामा पनि सूर्य पूर्वबाटै उदाउँछ । जुन ठाउँमा पनि सूर्य पूर्वबाट उदाउँछ ।

स्थानीय चुनावमा तपाईंहरू हाम्रो संगठनिक संरचना बलियो छ, गठबन्धनले हल्लाएर हल्लिदैनौं भन्नुहुन्थ्यो तर परिणामले प्रतिकूलता देखायो नि ?

पहिला हाम्रो कुल भोट ३२ लाख ५६ हजार हाराहारी थियो । नेपाली कांग्रेसको भन्दा ५६ हजार जस्तो बढी थियो । यसपालि हामी ३८ लाख भोटमा पुगेका छौं । तसर्थ लोकप्रिय जनमत हाम्रो घटेको छैन । मलाई पनि पार्टीको साधारण सदस्यबाट निकालिएको थियो । केही स्थानमा पार्टी कब्जा नै गर्ने खोजिएको थियो । मध्य भदौमा पार्टी विभाजन भयो । भदौ अन्तिममा पार्टी विभाजन गर्न पाइन्छ भनेर उर्दी जारी गरियो । यो गर्नुपर्ने आवश्यकता के थियो ? फुट्नेहरूलाई प्रोत्साहित गर्नुपर्ने के थियो ? हाम्रो पार्टी फुटाउन पार्टी वा संसद्मा २० प्रतिशत भए हुने भनेर ल्याइएको अध्यादेश असंवैधानिक नहुने ? १२ बजे राति संसद् अन्त्य गरेर भोलि बिहान अध्यादेश ल्याउँदा संसद् छलेको नहुने ? हामीले साउन २५ गते निष्कासन गरेका मान्छे भदौ १० गतेसम्म सभामुखले सूचना जारी गरेनन् भन्दा पनि निर्वाचन आयोग मान्यता दिने ? 

१५ दिन पाउँछु भनेर सभामुखले रोके । ४५ दिन पाउँदा एक सातामा काम गर्ने निर्वाचन आयोग । यो सबै तालमेल त हामीले देखेका छौं । यत्रो सेटिङबाट एमाले ध्वस्त पार्न खोज्दा पनि भोट ३३ बाट बढेर ३८ लाख पुग्यो । पार्टी राम्रोसँग थिग्रिसकेको थिएन । केही सिट घट्यो होला । स्थानीय तहको बेलाको जस्तो अवस्था अहिले छैन ।

मंसिर ४ पछि एमालेको सरकार बन्छ र नेतृत्व म आफैँ गर्छु भन्न खोज्नुभएको ?

तपाईंले कञ्जुस्याइँ गर्नु भएको हो कि ? ‘साँच्चै नबुझ्ने हो कि नबुझे जस्तो गर्छौ’ भन्ने गीत छ नि । त्यस्तै हो ? एमालेको नेतृत्वमा सरकार बन्छ, हामीले भनिरहेका छौं ।

एकल सरकार बनाउने हो ?

अवश्य । एमालेले बहुमत ल्याउँछ । एमालेले बहुमतको सरकार बनाउँछ । यो पार्टीको साइनबोर्ड हेर्ने समय होइन, पार्टीको व्यवहार हेर्नुपर्छ । बर्को जे लेखेको पनि लगाउँदा हुन्छ । राम–राम, राधे–रोधे, राधेकृष्ण, हरेराम जे लेखेको बर्को पनि तपाईं ओढ्न सक्नुहुन्छ । त्यो बर्को ओढ्दैमा तपाईं बर्कोमा लेखिएको शब्दमा दृढ हुनुहुन्छ भन्ने हुँदैन । टीबी लागिसक्यो, हाडछाला मात्र बाँकी छ अनि पुरानो नामले भएन, अब नाम बलबहादुर राख्छु भनेर हुन्छ ? अहिलेको गठबन्धन प्रतिगामी शक्ति हो । यो प्रतिगामी चिन्तन, आचरण, व्यवहारको, अत्यन्तै भ्रष्ट छ । गठबन्धन राजनीतिक, आर्थिक अनेक हिसाबले भ्रष्ट छ । यी एकैखालका चरा एउटै बथानमा उडेका हुन् । मैले हाम्रै बथानमा सँगै उडाउन ल्याएको थिएँ तर बगाल छाडेर गइहाले ।

तपाईंको लक्ष्य ठीक होला, तर यात्रा कठिन छ । किनभने, तपाईंले नमाने पनि गठबन्धन छ । तपाईंकै पार्टीभित्र असन्तुष्टिका आवाज छन् ?

असन्तुष्टि त अलिअलि भइहाल्छ नि । प्रतिनिधिसभाका लागि १६५ वटा निर्वाचन क्षेत्र छन् । तर उम्मिद राख्ने त धेरै उम्मेदवार छन् नि । मैले टिकट पाएको भए हुन्थ्यो भन्ने त सबैलाई लाग्छ । ‘डेमोक्रेसी’मा त्यो पनि हुन नपाउने भन्ने छ र ?

आफूले पाएको भन्दा पनि नपाएकामा प्रश्न उठेको छ नि ? मकवानपुरमा कमल थापालाई टिकट दिएको विषयमा पार्टी कार्यालयमा ताला लाग्यो । भीम रावल, घनश्याम भुसाल, प्रभु शाह, रामवीर मानन्धरको कुरालाई कसरी लिने ?

तीन करोड जनताको चिन्ता लिनुहोस् न । भीम रावल कहिलेदेखि सांसद, मन्त्री बनाइनुभयो ? कि यो देशमा उहाँमात्र हुनुहुन्छ ? कि उहाँ जन्मिएको मन्त्री मात्र हुनका लागि हो ? भीम रावलमा के विशिष्ट क्षमता देखियो ? पार्टी फोर्ने समयमा बुद्धि नपुर्‍याउने, पछि ढोका हेर्ने कारणले टिकट दिनुपर्ने हो ? पहिला उहाँ आफैँ उठ्दिनँ भन्दै हिँड्नुभएको थियो । उहाँको नउठ्ने इच्छा नै हो । किन उहाँ कुरा बदल्दै हुनुहुन्छ मलाई थाहा छैन । घनश्याम भुसाल गठबन्धनका उम्मेदवार होइनन् ? गठबन्धनका उम्मेदवारलाई एमालेले टिकट दिनुपर्ने ? यदि उहाँ एमाले हो भने टिकट नपाउनेबित्तिकै कसरी गठबन्धनको उम्मेदवार बन्नुभयो ? यी खटाइएका मान्छे काम सकिएपछि काजफिर्ता भएर गए । त्यसकारण तीन करोड जनताको विचार गरौं ।

हाम्रो राजनीतिमा चुनाव लड्नैपर्ने, जित्नै पर्ने, यो कस्तो प्रचलन हो ?

यो बेठीक छ । यो जरुरी छैन । अरू देशमा पनि यस्तो हुँदैन । अस्ति एकजनाले ‘६७ वर्षको उठ्नु नहुने ७० वर्षका ओली उम्मेदवार हुन हुने ?’ भनेको सुनेँ । उमेरको हिसाबले उम्मेदवार हुने भन्ने कुरा हुन्छ र ? उम्मेदवारका लागि उमेरको संवैधानिक व्यवस्था के छ ? कानुनी व्यवस्था के छ र देशको आवश्यकता के हो ?

स्थिरताका लागि तपाईंलाई मत दिँदा त्यस्तो बलियो सरकार त टिकेन । कम्युनिस्ट आन्दोलनका लागि दिउँ भने नेकपा तीन चिरा भयो । केका लागि तपाईंलाई भोट दिने ?

केही–केही मान्छे लागिपरेका छन् । ललितपुरतिरका विष्टजी मेरोबारेमा सञ्चारमाध्यममा बाकवास बोल्नुहुन्छ । ‘यसपालि को हुने केपी ओली’ भनेर लेख पनि लेख्नुभएको छ । यस्ता काम गर्ने केही मन्त्री, सांसद र पूर्वपञ्चहरू छन् । त्यो गलत विचार बोकेको पीडा हो । गलत विचार बोकेपछि गलत विचारले पछार्दाको पीडा हो । किन हामीसँग त्यो पीडा पोख्छन् थाहा छैन । बहुदलीय व्यवस्थामा स्वच्छ प्रतिस्पर्धा र आलोचना हुनु स्वाभाविक हो । महामारीका बेला औषधि खरिद गर्ने काम सहसचिवको हो । ऐनले नै त्यो कुरा भनेको छ । ओम्नी ओम्नी भनेर हल्ला गरे । के हो त्यो ओम्नी मलाई थाहा छैन । कथा हो कि के हो ? यति होल्डिङ्स भने । उसले विदेशीसँग लिज किन्यो । त्यो सुशील कोइरालाले सदर गर्नुभएको हो । मैले गरेको पनि होइन । हामीमाथि अत्यन्तै दूषित मनासायका साथ आरोप लगाइएको छ । हामीमाथि राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर झुटा आरोप लगाइएका छन् । नीति, विचार र काममा प्रतिस्पर्धा गर्न नसकेर आरोप लगाइएको छ ।

गठबन्धनसँग हामी डराएका छैनौं भन्नहुन्छ अनि ठीकविपरीत विचार र सिद्धान्त भएकासँग आफैं गठबन्धन गर्नुहुन्छ, किन ?

रवीन्द्रनाथ टैगोरले ‘एकला चलो रे’ भन्ने कविता लेखेका थिए । यदि तिमीले बोलाएको कसैले सुन्दैन, तिमीले उज्यालो भयो उठ भनेको कसैले सुन्दैन भने तिमीचाहिँ उठ भनेर यस्तो परिस्थितिका लागि त्यो कविता लेखेका थिए । जस्तो बेला पनि एक्लै हिँड भनेको होइन । एमाले एक्लै हिँड्यो भनेर सबैले कराए । लौ न त भनेर साथीहरूलाई एक–दुई सिट दिएर तालमेल गरिएको छ, यो गठबन्धन होइन । राष्ट्रियताको पक्षमा उभिन्छु भन्नेलाई केही स्थान दिएका हौं । यसलाई तपाईंहरूले दया–माया पनि भन्न सक्नुहुन्छ, आवश्यकता पनि भन्न सक्नुहुन्छ । सबैले एमाले एक्लियो भनेको होइन ?

जनता समाजवादी पार्टी सत्ता गठबन्धनमा थियो । मधेस प्रदेशमा त उहीसँग मिल्नुपर्ने अवस्था आयो नि ?

जसपा सत्ता गठबन्धनमा हुँदाहुँदै मिलेको हो र हामी ? त्यता छोडेपछि अर्थात् गठबन्धन गलत रहेछ भन्ने थाहा पाएपछि हामीले उहाँहरूसँग स्थानीय स्तरमा सहकार्य गर्‍यौं । गठबन्धन गरेको होइन । अहिले एमाले एक्लै पर्‍यो भन्न पाएनौं भनेर कतिलाई अनुचित लागेको छ । हामी निकम्मा नेतृत्वका पछि कुदेका छैनौं । हामी सही गन्तव्यतर्फ छौं ।

तपाईंको पार्टीलाई संविधानविरोधी शक्ति भनेर जसपाले पार्टी दस्ताबेजमा लेखेको छ । आत्मालोचना पनि गरेको छैन । आफ्ना पार्टीका नेतालाई सँगै लिएर हिँड्न नसक्ने, जसपालाई च्याप्ने यो त विरोधाभास भएन ?

गठबन्धन छाडेर जो आउँछ त्यसलाई हामी सँगै लिएर हिँड्छौं । यो स्पष्ट छ । गठबन्धनमा रहने, राजनीतिक अनैतिकता, असंवैधानिक, गैरकानुनी, बलमिचाइँ, पाखुरे राजनीतिजस्ता क्रियाकलाप गर्नेसँग कसरी तालमेल हुन्छ । कोही गठबन्धन छोडेर आउँछ भने हामी सहकार्य गर्न तयार छौं । माओवादी, एस, कांग्रेस र जनामोर्चाका कार्यकर्ता थुप्रै एमालेमा लगातार प्रवेश गरिरहेका छन् । हामी उनीहरूलाई स्वागत गरिरहेका छौं । बिग्रिनेलाई कसरी स्वागत गर्नु ? सप्रिनेलाई त स्वागत गर्ने हो नि ।

मंसिर ४ पछि अर्कै राजनीतिक परिस्थिति निर्माण हुन्छ भन्ने प्रक्षेपण तपाईंको हो ?

गठबन्धन सत्ता प्राप्तिका लागि हो । सत्ता टिकाउनका लागि हो । यो गठबन्धन न सत्तामा पुग्छ, न गठबन्धन कायम रहन्छ । त्यसकारण यी आफ्ना कुम्ला कुटुरा बोकेर आ–आफ्ना गन्तव्यतिर लाग्छन् । यिनको नियति यही हो । ‘हामी तेस्रो पार्टी भए पनि महत्त्वपूर्ण भूमिकामा रहन्छौं’ भनेर तपाईंहरूकै अखबारमा एक नेताले भनेको पढेको थिएँ । अर्थात् उहाँले आफू जता मन लाग्यो, त्यतै सरकार बन्छ भन्नुभएको हो । नेकपा एमाले त्यस्तो होइन । चुनावमा त हामीले लिएनौं भने चुनावपछि लिन्छौं त ? त्यो कुनै आवश्यक छैन । नेकपा एमालेले एकल र सानदार बहुमत ल्याउँछ । हाम्रो गन्तव्य प्रत्यक्ष र समानुपातिक गरेर १५० सिट हो ।

माओवादीसँग मिलेर यसअघि चुनाव लड्दा १२१ सिट आएको थियो । अहिलेको अवस्थामा १५० सिटको हिसाब कसरी व्यवहारिक हुन्छ अध्यक्षज्यू ?

हामीसँग नमिलेको भए त्यसबेला माओवादीको पाँच–सात सिट आउँथ्यो । कांग्रेससँग मिलेकाले अहिले १०–१५ सिटमा सीमित हुन्छ । प्रचण्ड त्यत्तिकै गोर्खा भाग्नुपरेको होइन । चितवनबाट उकालो लागेर गोर्खातिर भाग्नु सजिलो कुरा होइन नि । एकपटक एक ठाउँबाट उठेपछि अर्कोपटक जनताले नाम सुन्न नचाहने, हेर्न मन नगर्ने भएपछि हरेकपटक नयाँ ठाउँ खोज्नुपरेन ?

प्रचण्डलाई गतिशील नेता मान्ने जमात पनि त छ नि ?

बेइमानी सधैं गतिशील हुन्छ । इमान मात्र टिकाउ हुन्छ ।

भविष्यमा कुनै नेतासँग सहकार्य गर्न सकिन्न त ?

माधव नेपाल र प्रचण्डसँग अबका दिनमा सहकार्य गर्न सकिँदैन । उहाँहरूमा विश्वसनीयता छैन । एकता, एकीकरण गर्ने भनेर मलाई पार्टीबाट निकालेर पार्टी नै कब्जा गर्ने उनीहरूको नियत रहेछ । मचाहिँ विश्वास गरेर, मित्र भनेर अध्यक्ष बनाएर सँगै राख्ने र मित्रताका वार्ता गर्ने । उनले त लुकाएर धारिलो छुरी बोकेका रहेछन् ।

कम्युनिस्टहरूसँग आत्मालोचना गर्ने एउटा मन्त्र हुन्छ रे, जुन फलाकेपछि सबै कुरा माफी हुन्छ । अब प्रचण्डसँग त्यो अवस्था पनि छैन ?

प्रचण्डले आत्मालोचना गर्न त गर्छन् तर साँचो होइन । उनी अन्तर्राष्ट्रिय रूपमै गज्जबले झुट बोल्ने मान्छे हुन् । पहिला एमसीसीलाई पत्र लेखेकै छैन भने । पछि पत्र लेखेको छ भने । भित्र–भित्र एमसीसी पास गर्छु भने । त्यसका लागि सही गरेर पत्र पनि पठाए । अर्कातिर पास गर्दिनँ भनेर झुट बोलिरहेका थिए । यसरी अन्तर्राष्ट्रिय शक्तिहरूलाई सोझै झुट बोले । यस्ता मान्छेले गरेको आत्माआलोचना, नाटक, उनका गोहीका आँसुका पछाडि लाग्यो भने कहाँ पुगिन्छ ?

प्रचण्डको समर्थनले दुईपटक प्रधानमन्त्री बन्नुभयो । उहाँसँग सहकार्य नगरेर एक्लै हिँडेको भए उचित हुने रहेछ भन्ने महसुस भएको हो ?

होइन । कतिबेलाको कदम के हो, त्यहीबेलाको परिस्थितिले निर्माण गर्छ । माओवादीलाई सच्याउन प्रयास नगरी हुँदै हुँदैन भन्नुहुँदैनथ्यो । सच्याउन सकिन्छ कि भनेर प्रयास गर्न जरुरी थियो । अर्को, वामपन्थी एकता जरुरी थियो । त्यो मेरो गल्ती होइन, त्यसबेलाको आवश्यकता थियो ।

नेपाली कांग्रेसले घोषणपत्रमार्फत तपाईंको सरकारलाई कम्युनिस्ट सर्वसत्तावाद लाद्नमै खर्च भयो भनेको छ । कोरोना महामारीको सन्दर्भमा तपाईंको सरकार जनताको स्वास्थ्यमा अनुत्तरदायी र असंवेदनशील सरकार भनेको छ नि ?

कोरोना कतिपल्ट आयो नेपालमा ? उहाँहरूको सरकार कोरोनासँग कतिपल्ट लड्यो ? अहिले जाबो डेङ्गी हुँदा बजारमा सिटामोलको अभाव छ । कोरोना महामारीका बेला उत्पादन हुनेबित्तिकै ल्याएर जनतालाई भ्याक्सिन वितरण गर्‍यौं । अर्को, विकसित मुलुकमा भन्दा कम क्षति नेपालमा भएको छ । कांग्रेसले सत्तोसराप गरेर नेपालमा मानवीय क्षति कम भएको हो र ? नेपालको अर्थतन्त्रमा अरू देशको जस्तो गिरावट आएन । अनि कांग्रेसले कुन देशलाई आदर्श मान्छ ? म कांग्रेसलाई सोध्न चाहन्छु ।

तपाईंले ‘नो नट अगेन’ अभियानलाई कसरी लिनुभएको छ ?

म कुनै फेसनका लागि राजनीति गरिरहेको छैन । राजनीति समाज सेवा गर्ने कष्टपूर्ण बाटो हो । साथै यो त्याग र बलिदानको बाटो हो । मैले आफ्नो मान्यता परिवर्तन गरेको छैन । राजनीति राणा शासनबाट यहाँसम्म आइपुग्दा कतिले ज्यान दिए । तर, मान्छेहरूले सहिदलाई मूर्ख भन्न सक्छन् । नबुझ्नेले खुरुक्क ज्यान जोगाएर नहिँडेर सत्तासँग टकराव लिएर आफ्नो जीवन बर्बाद गर्ने मूर्ख थिए भन्न सक्छ । बुझ्नेका लागि मात्र सहिद महान् र आदर्श हुन् । हामीले समाज परिवर्तनका लागि एक समयमा कठोर संघर्ष गर्‍यौं । ५२ वर्षपहिले मैले एक आन्दोलको सुरुवात गरेको थिएँ । यसलाई यहाँ ल्याउँदासम्म भूमिगत बस्नुपर्‍यो । भोकभोकै पैदल हिँडेर काम गर्नुपर्‍यो । जाडो, झरी भन्न पाइएन । राजनीति भनेको के हो भन्ने नबुझी, थाहै नपाई मै प्रधानमन्त्री हुन्छु, म नै देश चलाउँछु भनेर गफ हाँक्नलाई के छ र ?

२०७४ को निर्वाचनमा तपाईंले भनेको समृद्धिको हुटहुटी अझै बाँकी छ कि अल्पविराम लागिसक्यो ?

यसले अझै तीव्रता पाएको छ । यो देशको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई रक्षा गर्न र माथि उठाउन सक्छौं । सीके राउत र विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सकिने रहेछ । यस्ता अन्य शक्तिलाई सम्बोधन गर्न सकिने कुरा हामीले व्यवहारबाट देखायौं । शान्ति राम्रोसँग स्थापना भएको थिएन । हिंसाको बाटो अँगालेर हिँड्ने शक्तिहरू छँदै थिए । हिंसाको बाटो परित्याग गराएर विप्लवहरूलाई मूलधारको राजनीतिमा ल्याइयो । यो यथार्थ हो । अर्थात्, शान्ति स्थापना गर्न सकिन्छ, अब हामी यस निर्वाचनबाट बहुमत ल्याएर सरकार चलाउन सकिन्छ भनेर देखाउँछौं ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.