काठमाडौं । जितकुन्डो मार्सल आर्ट संघले नेपालमा पहिलो पटक जितकुन्डो, मार्सल आर्ट्स प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलन गरेर पुस २७ र २८ गते प्रतियोगिता हुने जानकारी दिएको छ ।
बिहान ११ बजेदेखि ५ बजेसम्म खेल हुने तालिका गरेको संघले जानकारी दिएको छ । प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ दुई तौल समूहका खेल आयोजना हुने छन् । प्रतियोगितामा कुल ६० खेलाडी सहभागी हुने छन् । नेपालबाट हरेक तौल समूहमा ३/३ खेलाडी सहभागी हुने छन् ।
श्रीलंकाबाट नौ, बंगलादेशबाट तीन र भारतबाट २७ खेलाडी आएका छन् । अफगानिस्तानले भने खेलाडी नपठाएर सेमिनारमा सहभागी हुने पदाधिकारी मात्र पठाएको छ ।
मार्सल आर्ट्स खेलको विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको संघले जानकारी दिएको छ । प्रतियोगिताका लागि पोल्यान्ड, स्पेनबाट निर्णायकहरू नेपाल आइसकेका छन् । यो खेलको विकास र नियमबारे सेमिनार पनि हुने भएको छ ।
प्रतियोगिताको लागि मुख्य प्रायोजक टोखा नगरपालिकाले १० लाख दिएको छ भने आयोजनाका लागि २२ लाख अनुमानित खर्च लाग्ने संघले बताएको छ ।