
काठमाडौं । बंगलादेश राष्ट्रिय पार्टी-बीएनपीका अध्यक्ष तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको सपथ लिँदै हुनुहुन्छ ।
गत बिहीबार सकिएको संसदीय निर्वाचनमा उहाँको पार्टी बीएनपीले दुई तिहाइभन्दा धेरै सिट जितेको थियो । सपथ समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द सहभागी हुनुहुनेछ । सपथ समारोहमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, साउदी अरेबिया, टर्की, यूएई, कतार, मलेसिया र ब्रुनाईका प्रतिनिधिहरूलाई निम्ता गरिएको छ ।
बंगलादेशको राष्ट्रिय संसद्को साउथ प्लाजामा यो सपथ समारोह हुँदैछ । बिहान १० बजे सांसदको सपथ भइसकेको छ भने बीएनपीको बैठकले अध्यक्ष तारिक रहमानलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिसकेको छ । रहमानले अपराह्न ४ बजे प्रधानमन्त्रीको सपथ लिने बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।
विगतमा सपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेकोमा यसपटक ठूलो संख्यामा अतिथि निम्त्याइएका कारण जातीय संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको छ । बिहीबार २ सय ९९ स्थानमा सम्पन्न निर्वाचनमा २ सय ९७ सिटको मतगणना हुँदा बीएनपीले २ सय ९ सिट जितेको थियो ।
बाँकी दुई सिटमा अदालतले तत्काल मतगणना नगर्न आदेश दिएको थियो । कुल ३ सय प्रत्यक्ष सिटमध्ये एक सिटमा उम्मेदवारको निधनले निर्वाचन स्थगित भएको थियो । बंगलादेशको जातीय संसद्मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । यसमा पार्टीहरूले प्रत्यक्षतर्फ ल्याएको मतभारलाई आधारमा मानेर समानुपातिक रूपमा प्रतिनिधि चयन गरिन्छ ।