
अबुधावी । युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरू चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप बुधबार अबुधाबीमा भेला हुने तयारीमा छन् ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्व दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक युद्धका रूपमा लिइँदै आएको छ, तर यसलाई अन्त्य गर्ने उद्देश्यले भएका धेरै चरणका कूटनीतिक प्रयासहरू अहिलेसम्म सफल हुन सकेका छैनन् ।
वार्ताको तयारी भइरहेका बेला रुसले युक्रेनको ऊर्जा संरचनामाथि ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको घटनाले अबुधाबीमा हुने छलफलको वातावरणलाई गम्भीर बनाएको छ । ती आक्रमणका कारण शून्य डिग्रीभन्दा तलको तापक्रममा युक्रेनका धेरै क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ, जसले वार्ताबाट ठोस प्रगति हुने सम्भावनालाई छायाँमा पार्ने खतरा उत्पन्न गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसका यस्ता आक्रमणले मस्कोको सोच परिवर्तन नभएको पुष्टि हुने बताउनुभएको छ । उहाँले रुसले अझै पनि युद्ध र युक्रेनको विनाशमै जोड दिइरहेको र कूटनीतिलाई गम्भीर रूपमा नलिइरहेको टिप्पणी गर्नुभएको छ । साथै, वार्ता टोलीको काम सोहीअनुसार समायोजन गरिने सङ्केत पनि उहाँले दिनुभएको छ ।
युक्रेनी टोलीको नेतृत्व सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभले गर्नुहुनेछ । रुसतर्फबाट सैन्य गुप्तचर प्रमुख इगोर कोस्त्युकोभ शीर्ष वार्ताकारका रूपमा सहभागी हुनुहुनेछ, जसलाई युक्रेन आक्रमणमा भूमिकाका कारण पश्चिमी मुलुकहरूले प्रतिबन्ध लगाएका छन् । गत महिना अबुधाबीमै भएको अघिल्लो चरणको वार्तामा अमेरिकी टोलीको नेतृत्व राष्ट्रपति डनल्ड ट्रम्पका दूत स्टिभ विटकफले गर्नुभएको थियो ।
रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ र वार्ता असफल भएमा दोनेत्स्क क्षेत्रको बाँकी भाग पनि कब्जा गर्ने चेतावनी दिएको छ । युक्रेनले भने मस्कोलाई प्रोत्साहित गर्ने र भविष्यमा पुनः आक्रमण रोक्न असफल हुने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ । किएभले अझै पनि दोनेत्स्क क्षेत्रको करिब पाँचौँ भागमा नियन्त्रण कायम राखिरहेको छ ।