इरानमा प्रदर्शनकारीमाथि भएको दमनको विरोधमा विश्वभर प्रदर्शन

मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, साढे १० हजार मानिस हिरासतमा रहेको अमेरिकी मानवअधिकारवादी संस्थाको दाबी
पुस २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इरानमा प्रदर्शनकारीमाथि भएको दमनको विरोधमा विश्वभर प्रदर्शन

काठमाडौं । इरानमा प्रदर्शनकारीमाथि भएको दमनको विरोधमा विश्वभर प्रदर्शन भएका छन् ।

दमनको विरोधमा पेरिस, बर्लिन, हेग, लन्डनलगायत विभिन्न युरोपेली सहरमा प्रदर्शन भएका छन् । न्युजिल्यान्डको अकल्यान्ड, अमेरिकाको ओर्लान्डो र जापानको टोकियोमा पनि ठूलो संख्यामा प्रदर्शनकारीहरुले आन्दोलनप्रति ऐक्येबद्धता जनाएका छन् ।

अकल्यान्डमा प्रदर्शनकारीहरुले इरानको झन्डा च्यातेका छन् । उनीहरुले राजतन्त्रकालमा प्रयोग हुने गरेको सिंह र सूर्य अंकित झन्डा हातमा बोकेका थिए । टोकियोमा पनि प्रदर्शनकारीले पूर्वयुवराज रेजा पहल्वीको पक्षमा नाराबाजी गरेका छन् ।

लन्डनमा शनिबार एक आन्दोलनकारीले दूतावासको बार्दलीमा चढेर इरानको झन्डा च्यात्दै राजतन्त्रकालमा प्रयोग हुने झन्डा फहराएका थिए । प्रदर्शनका क्रममा आइतबारसम्म कम्तिमा ५ सय ३८ जनाको मृत्यु भएको अमेरिकास्थित मानव अधिकार अभियन्ता समाचार एजेन्सी -एचआरएएनएले जनाएको छ । एचआरएनएका अनुसार कम्तिमा १० हजार ६ सय जना प्रहरी हिरासतमा छन् ।

गत बिहीबारदेखि इन्टरनेट र टेलिफोन सम्पर्क टुटेकाले यहाँ भएको मानवीय क्षतिको विस्तृत विवरण पत्ता लगाउन कठिन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा मानवअधिकारवादी संस्थाले जनाएका छन् । इरानमा २८ डिसेम्बरमा व्यापारीहरूले मुल्यवृद्धिको विरोधमा आन्दोलन थालेका थिए । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेकाले आन्दोलनमा अहिले समाजका सबै वर्ग सहभागी छन् ।

आर्थिक सुधारको मागसहित सुरू भएको आन्दोलनमा अहिले सत्ता परिवर्तन मुल मुद्दा बनेको छ । धार्मिक सत्ताले बनाएका विभिन्न नीति–नियम खारेज हुनुपर्ने प्रदर्शनकारीहरुको माग छ । आन्दोलनकारीले 'स्वतन्त्रता' र तानाशाहीको अन्त्य नारा दिइरहेका छन् ।

यसैबीच ईरानका विदेशमन्त्री अब्बास अराग्चीले आन्दोलन नियन्त्रणमा आइसकेको दाबी गर्नुभएको छ । अमेरिका र इजरायलको इशारामा प्रदर्शन चलेको आरोप उहाँले लगाउनुभएको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानी नेतृत्वले देशमा चलिरहेको प्रदर्शनलाई लिएर अमेरिकासँग वार्ता गर्न चाहेको बताउनुभएको छ । अमेरिकाले सैन्य हस्तक्षेपको चेतावनी दिएपछि ईरानको नेतृत्वले वार्ता गर्न खोजेको उहाँको भनाइ छ । ट्रम्पले आन्दोलनमा थप दमन भएमा अमेरिकाले सेना पठाउने चेतावनी पनि दिनुभएको थियो ।